ad ad

राजनीति


एकीकृत समाजवादीको एक वर्ष : कति आर्जन भयो शक्ति?

एकीकृत समाजवादीको एक वर्ष : कति आर्जन भयो शक्ति?

रुपक चौलागाईं
भदौ ९, २०७९ बिहिबार ११:०, काठमाडौँ

नेकपा एमालेमा विद्रोह गरेर माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गराएको आज (९ भदौ) एक वर्ष पूरा भएको छ। पार्टी एक वर्ष पूरा भएको अवसरमा पार्टीले आज पुनर्गठन दिवस मनाउँदैछ। 

एमालेबाट विभाजित भएर दल दर्ता गराएको एक वर्ष पुग्दैगर्दा माओवादी केन्द्रसँग एकता गर्ने निर्णयसम्म सो दल पुगेको छ।

एक वर्षअघि आजकै दिन चन्द्रागिरि हिल्समा दुई दिनसम्म चलेको केन्द्रीय कमिटी बैठक सकेर नेताहरू बस चढेर निर्वाचन आयोग पुगेका थिए।

दल दर्ता सम्बन्धी अध्यादेश जारी गराएर २० प्रतिशत नेपाल समूहलाई अलग दल गठन गर्न बाटो सहज गराइएको थियो। 

राजनीतिक दलसम्बन्धी ऐनले मागेको ४० प्रतिशत केन्द्रीय सदस्य र सांसदहरू जुटाउन नसकिरहेको बेला सरकारले जारी गरेको अध्यादेशका कारण नेपाललाई दल दर्ता गराउन सहज भएको थियो। 

पार्टी पुनर्गठन भएको एक वर्षको अवधिमा निर्वाचन चिन्ह र सदस्यता व्यापक बनाइएको एकीकृत समाजवादीका नेताहरु दाबी गर्छन्। 

एक वर्षमै माओवादीसँग एकता प्रयास
एकीकृत समाजवादी अहिले पाँच दलीय गठबन्धनमा संलग्न छ। गठबन्धनकै साहारामा संघदेखि प्रदेशसम्मका सरकारमा उपस्थिति जनाएको यो दल आगामी आम निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग एउटै घोषणापत्र बनाएर अघि बढ्ने तयारीमा छ। 

सँगसँगै चुनावलगत्तै माओवादी केन्द्रसँग एकता गरेर अघि बढ्ने अभिव्यक्ति नेताहरुले दिन थालेका छन्। 

देशभरका वामहरुमध्ये माओवादी केन्द्र र एकीकृत समाजवादीसहित अन्य साना दलहरुसमेतलाई एकताको प्रयासमा ल्याउने प्रयास भइरहेको प्रवक्ता जगन्नाथ खतिवडा बताउँछन्। 

एमाले सत्तामा आउन नपाएपछि ‘पागलपूर्ण’ अभिव्यक्ति दिँदै बसेको भन्दै अब अन्य वामहरु एकठाउँमा हुने खतिवडा दाबी गर्छन्। ‘समाजवादी कित्ताको नेतृत्व गर्ने जिम्मेवारी हाम्रो काँधमा छ,’ उनले भने, ‘वामपन्थीहरुको संगठित आवाज संसदमा प्रतिनिधित्व गराउने आजको मुख्य जिम्मेवारी बनेको छ।’

माओवादी केन्द्र र एकीकृत समाजवादी विचमा एकीकरणको प्रयास भएको उनले प्रष्ट पारे। ‘चुनावमा संगै जाने प्रयास गरौं र वामपन्थीहरुको सशक्त बनाउने कोसिस गरौं भनेर पहल गरेका छौं।’ खतिवडा भन्छन्।

पार्टी उपमहासहासचिव गंगालाल तुलाधार पनि आफूहरु पार्टी एकताको अभियानमा रहेको बताउँछन्। ‘पार्टी पुनर्गठन गरेको दिनदेखिनै वाम एकताको कुरा गर्दै आएका हौं। सचिवालयको ३२ औं बैठकले वाम एकताका लागि पहल गर्ने ठोस निर्णय पनि गरेको छ।’ तुलाधारले भने। यसअघि निराश भएर बसेका कम्युनिस्ट पार्टीलाई एक बनाउने अभियानमा रहेको बताए। 

‘माओवादी र हाम्रो एकताले एमालेभित्र रहेका क्रान्तिकारी सोच भएकाहरुलाई आउन सहयोग हुनेछ।’ उनले भने।

‘देशभर कमिटी, चुनाव चिन्हको प्रचार’
पार्टी जन्मिएको एक वर्ष नपुग्दै एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनको सामना गर्नुपर्यो। निर्वाचन आयोगको डाटा अनुसार ९ लाख २७ हजार मत सो पार्टीले निर्वाचनबाट ल्याएको छ। 

तर, गठबन्धनका दलहरुले असहयोग गरेका कारण प्राप्त गर्नेभन्दा कम मत आएको भन्दै नेताहरुले असन्तुष्टि व्यक्त गरिरहेका छन। 

सातवटै प्रदेशका कमिटी निर्माण, जिल्ला कमिटीदेखि वडातहसम्म कमिटी विस्तार, केन्द्रीय परिषद् बैठक, जनप्रतिनिधिलाई प्रशिक्षण लगायतका कामहरु यसबीचमा पार्टीले संचालन गरेको छ।

पार्टी उपमहासहासचिव गंगालाल तुलाधार भन्छन्, ‘६ हजार ७ सय ४३ वटै वडाका कमिटी बनाउने कुरा हाम्रा लागि चुनौति नै थियो। अहिले सबै पूरा गर्न सकेका छैनौं तर जति गरेका छौं सन्तोष गर्ने ठाउँमा छ।’

एमालेकोजस्तै आफूहरुको पनि संगठन देशभर विस्तार भएको उनी बताउँछन्। ‘पार्टी सदस्यता वितरण पनि अरु नयाँ दल बनाएर वितरण गरेको जस्तो होइन,’ उनले भने, ‘नविकरण भएको यकिन संख्या नआएपनि अत्यन्तै राम्रो संख्यामा हामीले पार्टी सदस्यता विस्तार गरेका छौं।’

संघमा ९ मन्त्री, २३ सांसद
एमाले नेतृत्वको सरकारलाई अपदस्त गर्न महत्वपूर्ण भूमिका एकीकृत समाजवादीले खेल्यो। २८ असारमा भएको सर्वोच्चको फैसलाअनुसार संविधानका धारा ७६ (५) अनुसार बनेको सरकार बनेपछि एकीकृत समाजवादीले पनि संघीय सरकारमा उपस्थिति जनायो। 

संघीय संसदमा २३ जना सांसद एकीकृत समाजवादीका छन्।

देउवा नेतृत्वको क्याबिनेटमा एकीकृत समाजवादीका तर्फबाट रामकुमारी झांक्री, विरोध खतिवडा, किसान श्रेष्ठ, प्रेम आले र भवानी खापुङ पहिलो चरणमा मन्त्री बने। 

खापुङलाई स्वास्थ्य राज्यमन्त्री दिइएको थियो भने अन्य ४ जना संघीय सरकारका फूलमन्त्री बने। पार्टीले ६ महिनाका लागि भने पठाएकामध्ये ४ मन्त्रीलाई गत २२ जेठमा पार्टी निर्णयबाटै हटाइयो।

स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा रहेका केसीलाई भने फुलमन्त्रीमा बढुवा गराइयो। 

पार्टीले नै फिर्ता बोलाएका ती मन्त्रीहरु सहजै पदबाट फिर्ता हुन मानेनन्। सहरी विकास मन्त्रालय सम्हालेकी झांक्रीले त बिदाइ समारोहमा पटक पटक आँशु नै झारिन। 

सकसका माझ माधव नेपालले गरेको निर्णय २३ दिनपछि कार्यान्वयन भयो।

एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा नियुक्त भए। भवानी खापुङ राज्यमन्त्रीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा बढुवा भए भने हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन्। 

सात प्रदेशः २ मुख्यमन्त्री, १ मन्त्री, ५४ सांसद
एकीकृत समाजवादीले अहिले २ वटा प्रदेशको नेतृत्व गरिरहेको छ। प्रदेश १ मा राजेन्द्र राई र बागमती प्रदेशमा राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकारको नेतृत्व गरिरहेका छन्। 

लुम्बिनी प्रदेशको कानुनमन्त्री पनि एकीकृत समाजवादीले नै पाएको छ। यहाँ रमा घर्तीलाई पार्टीले मन्त्री बनाएको छ। 

एकीकृत समाजवादीका ७ वटा प्रदेशमा ५४ सांसद छन्। गण्डकी प्रदेशमा भने एकीकृत समाजवादीका सांसदको उपस्थिति छैन्। प्रदेश १ मा १०, मधेश प्रदेशमा १३, बागमती प्रदेशमा १३, लुम्बिनी प्रदेशमा १, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा १४ जना सांसद एकीकृत समाजवादीका छन्।

स्थानीय तहमा महानगरसहित ९८६ जनप्रतिनिधि
गत स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादी पाँच दलीय गठबन्धनमा सामेल गराउँदै निर्वाचनमा होमिएको थियो। देशभरबाट ९ लाख २७ हजार लोकप्रिय मत आफूहरुले पाएको अध्यक्ष नेपालको दाबी छ। 

देशका ६ महानगरपालिकामध्ये एकीकृत समाजवादीले एउटा महानगर जित निकाल्यो। पोखरा महानगरपालिका प्रमुखमा एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित भएका छन्।

त्यस्तै, हेटौंडा उप–महानगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीकै मीना कुमारी लामा विजयी भएकी छिन्।

१० नगर प्रमुख, ११ नगर उपप्रमुख, ८ गाउँपालिका प्रमुख, १२ गाउँपालिका उपप्रमुख, १९० वडाध्यक्ष, १८४ महिला सदस्य, ८० दलित महिला सदस्य र ३८९ खुला सदस्य गरी ९८६ स्थानीय तहका जनप्रतिनिधि रहेको पार्टी प्रचार विभागले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .