राजनीति


कांग्रेसबाट प्रधानमन्त्री को? शेरबहादुर, रामचन्द्र वा गगन?

कांग्रेसबाट प्रधानमन्त्री को? शेरबहादुर, रामचन्द्र वा गगन?

फाइल तस्बिर


नेपालखबर
भदौ १९, २०७९ आइतबार १३:३२, काठमाडौँ

समाचार टिप्पणी

गतसाता राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बोलाएको दिन कांग्रेस नेता रामचन्द्र पौडेल बत्तीसपुतलीमा सम्पादकहरुसँगको छलफलमा थिए। 

त्यहाँ उनले विकास र सुशासनका लागि अब देशको नेतृत्व नैतिकवान् व्यक्तिले गर्नुपर्ने बताए। पौडेलको भनाइको अर्थ चुनावपछिको प्रधानमन्त्री सादगी र नैतिकवान् हुनुपर्ने भन्ने थियो।

लाक्षणिक रुपमा अभिव्यक्ति दिएका पौडेललाई सम्पादकहरुले तपाईले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्न किन नसक्नुभएको भनेर केरकार गरे। तर, पौडेलले आफैँले यस्तो भन्नु उपयुक्त नहुने भन्दै प्रधानमन्त्रीको दाबी गरेनन्।

नेपाली कांग्रेसले भावी प्रधानमन्त्री कसलाई बनाउने भनेर औपचारिक निर्णय गरेको छैन। तर, पार्टी सभापति शेरबहादुर देउवा नै भावी प्रधानमन्त्री बन्ने नेताहरु बताउँछन्। तर, चुनावमा देउवाको अनुहार नबिक्ने तर्क पनि कतिपय नेताहरुको छ।

केही समयअघि युवा नेता गगन थापाको नाम पनि भावी प्रधानमन्त्रीका रुपमा चर्चामा आएको थियो। तर, थापाले मिडियाबाट उठाइएको प्रश्न भन्दै यसबारे आफूले खासै चर्चा गर्न नचाहेको अभिव्यक्ति दिए।

आखिर कांग्रेस नेता पौडेल, थापा या अरु कसैले पनि किन भाववी प्रधानमन्त्रीको दाबी पेश गर्न सकिरहेका छैनन् ? यसका पछाडि केही रहस्य लुकेको कांग्रेस नेताहरु बताउँछन्।

कांग्रेसका एक नेताले नेपालखबरसँग भने,‘अहिले जसले आफूलाई भावी प्रधानमन्त्री भन्छ, त्यसलाई देउवाले नै चुनाव हराइदिने खतरा छ। रामचन्द्र पौडेलले म भावी प्रधानमन्त्री बन्छु भनेको खण्डमा चुनाव जित्न त के, टिकटै नपाउने खतरा छ। यही कारणले गर्दा रामचन्द्रजी आफूलाई भावी प्रधानमन्त्री भन्न सकिरहनुभएको छैन।’

कांग्रेसका ती नेताका अनुसार मंसिर ४ पछि नेपाली कांग्रेसले एकल बहुमत पाएन र मिलिजुली सरकार बन्ने अवस्था आयो भने देउवाको साटो अरु पनि प्रधानमन्त्री बन्ने सम्भावना रहन्छ। अन्यथा, देउवा नै भावी प्रधानमन्त्रीको सूचीमा निर्विवाद रुपमा पर्नेछन्।

एमालेमा ओलीसँगै नेम्वाङको नाम
नेकपा एमालेको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा लिएर जनतामा जाने औपचारिक निर्णय गरिसकेको छ।

तथापि एमाले नेता घनश्याम भुसालले नयाँ नेतृत्वका साथ चुनावमा जानुपर्ने भन्दै सुववास नेम्वाङलाई प्रधानमन्त्री बनाएर वाम एकता कायम गर्न सकिने प्रस्ताव राखेका छन्।

माओवादीबाट भोलि सरकारको नेतृत्व गर्नुपर्ने अवस्था आयो भने प्रधानमन्त्रीका लागि प्रचण्डबाहेक अर्को विकल्प नरहेको नेताहरु बताउँछन्।

त्यस्तै, मिलिजुली सरकार बन्ने स्थिति आयो भने माधव नेपाल र उपेन्द्र यादव वाव बाबुराम भट्टराई मध्येबाट पनि प्रधानमन्त्री बन्न सक्ने सम्भावनालाई अस्वीकार गगर्न नसकिने राजनीतिक विश्लेषकको भनाइ छ।

यसपालिको चुनावी मैदानमा रवि लामिछाने, राजेन्द्र लिङदेन वा रविन्द्र मिश्रहरु पनि देखा परेका छन्। तर, उनीहरुले आफूलाई ‘भावी प्रधानमन्त्री’ का रुपमा प्रोजेक्ट गरिहालेको अवस्था भने छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .