ad ad

राजनीति


पोखराबाट प्रचण्ड : नागरिकता विधेयकमा राष्ट्रपतिको मुडदेखि गठबन्धनको ‘रोइलो’सम्म!

‘चितवनबाटै चुनाव लड्छु, झण्डै झण्डै जित्ने पक्का छ’
पोखराबाट प्रचण्ड : नागरिकता विधेयकमा राष्ट्रपतिको मुडदेखि गठबन्धनको ‘रोइलो’सम्म!

तस्बिर : वाशुदेव मिश्र/नेपालखबर


वाशुदेव मिश्र
भदौ २४, २०७९ शुक्रबार ११:२४, पाेखरा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले कास्कीको पोखरामा छन्। शुक्रबार (२४ भदौ) दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सत्ता गठबन्धनको बैठकमा उपस्थित हुनुपूर्व प्रचण्ड पोखरा पुगेका हुन्। 

पोखरामा आयोजित केही कार्यक्रममा सहभागी भएर उनी काठमाडौं फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। 

पोखरा विमानस्थलमा संचारकर्मीसँगको अन्तरक्रियामा भाग लिँदै प्रचण्डले देशको समसामयिक विषयको चर्चा गरेका छन्। प्रचण्डका अनुसार पेचिलो बन्दै गएको सत्ता गठबन्धनको सिट बाँडफाँटका विषयमा आजै टुंगो लाग्नेछ। 

उनले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा, नागरिकता विधेयक, आफ्नो चुनाव क्षेत्र र सत्तारुढ गठबन्धनका विभिन्न आयमबारे पोखराबाट प्रष्ट पार्न खोजेका छन्। 

‘गठबन्धनमा रोइलो छैन’
सिट बाँडफाँटको विषय पेचिलो बन्दै गर्दा प्रचण्डले भने कुनै ‘रोइलो’ नभएको प्रष्ट पारेका छन्। 

‘गठबन्धनमा केही रोइलो छैन्। वामपन्थी एकता हुनुपर्छ भनेर मैले नै वाम गठबन्धनको प्रस्ताव राखेको हो,’ संचारकर्मीको प्रश्नको जवाफ दिँदै उनले भने, ‘तर कम्युनिस्ट आन्दोलनको जे सपना मैले देखेको हो, दुर्भाग्य हामीले जसलाई प्रधानमन्त्रीको रुपमा अघि सार्यौँ उहाँ विचलित हुनुभयो, उल्टो बाटो हिँड्नुभयो र यो परिस्थिति सिर्जना भयो। गठबन्धन भित्रपनि एकता र ध्रुविकरणको लागि छलफल चलिरहेको छ।’

प्रचण्डले आफ्नो ध्यान राष्ट्रिय मुद्धा टुंग्याउनमा रहेको पनि बताए। 

‘चितवनबाटै चुनाव लड्छु, जित्नेमा विश्वस्त छु’
मंसिर ४ गते हुने आम निर्वाचनका लागि देशभरबाट धमाधम उम्मेदवार सिफारिस भइरहेका छन्। प्रचण्ड पनि विभिन्न जिल्लाबाट सिफारिसमा परेका छन्। 

यसअघि रोल्पा, सिराहा लगायतका जिल्लाबाट चुनाव लडेका प्रचण्डले यो पटक भने चितवनबाटै लड्ने घोषणा पटक पटक गरेका छन्। शुक्रबार पोखराबाट पनि उनले सोही कुरा दोहोर्याउँदै झण्डै झण्डै जित्ने पक्का भएको दाबी गरे। 

‘विभिन्न जिल्लाबाट मलाई आइदिन पर्यो भन्नुभएको छ। अघि भर्खरै प्लेनमा आउँदा पनि नेपाली कांग्रेसको नेताले पनि गोरखा आइदिन पर्यो भन्नुभएको थियो,’ उनले भने, ‘तर म अहिले चितवनबाटै लड्छु, दायाँ बायाँ अरु केही छैन्। मलाई चितवनको जनताप्रति मलाई विश्वास छ।’

चितवन छाड्दा राम्रो सन्देश नजाने प्रचण्डको बुझाई छ। 

‘मैले अहिले चितवन छाड्दा त्यसले दिने सन्देश राम्रो हुँदैन्। त्यसले राष्ट्रिय एकता र सद्भावको भावना दिँदैन। चितवनबाट जित्ने कुरामा म झण्डै झण्डै विश्वस्त छु,’ प्रचण्डले भने, ‘हुन त म कहिले रोल्पा कहिले सिराहाबाट चुनाव लडेँ। त्यसो गर्नुको मतलब प्रचण्ड एकै ठाउँको मात्र होइन है भन्ने नै हो। देशभरीकै जनताको हो भन्नु सिद्ध गर्नु थियो। त्यो भएकै छ।’

आफूले चितवन छाड्दा डराएर हिँडेको जस्तो हुने भन्दै त्यसो गर्न आफू नचाहने उनले बताए।

‘राष्ट्रपतिको मुड ठिक छैन, राजीनामा दिनुपर्छ’
प्रचण्डले नागरिकता विधेयकलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीको मुड ठिक नभएको बताएका छन्। 

‘राष्ट्रपतिजीलाई दोस्रोपटक संविधानले कुनै ठाउँ नै दिएको छैन्, त्यसकारण उहाँले प्रमाणीकरण गर्नुहुन्छ जस्तो नै लाग्छ मलाई,’ प्रचण्डले भने, ‘हुन त मैले केहीदिन अघि मैले राष्ट्रपतिजीसँग भेटेर कुरा गर्दा उहाँ चाहीँ यो विषयलाई पोलिटिकल विषय बनाउने मुडमा भएकै देखेको थिएँ मैले।’

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने संभावना पनि भएको उनले बताए। ‘त्यसकारण नगर्ने संभावना पनि छ। त्यसो भयो भने अदालतमा जान्छ। अदालतको फैसलापछि जान्छ। दोस्रो उहाँले राजीनामा दिनुपर्छ।’ प्रचण्डले भने। 

उनले राष्ट्रपतिसँगको भेटमा पनि सो कुरा भनेको बताए। ‘दोस्रोपटक पनि प्रमाणीकरण भएन भने या त राजीनामा दिनुपर्छ या त अदालतमा जान्छ भनेको थिएँ। यो अनुमानको कुरा हो मलाई लाग्छ राष्ट्रपतिज्यूले प्रमाणिकरण गर्नुहुन्छ।’ प्रचण्डको भनाई छ। 

‘दिल्लीमा आरजुसँगको भेटबारे झुटो प्रचार भयो’
अध्यक्ष प्रचण्डले आफू दिल्ली भ्रमणमा रहेको बेलामा प्रधानमन्त्री पत्नी आरजु देउवासँग भएको भेटबारे झुटो प्रचार गरिएको बताए। 

‘सामान्य औपचारिकता र स्वास्थ्यलाभको कामना बाहेक दिल्लीमा केही भएको थिएन। अनौठो के भयो भने, खासगरी एउटा दलका मानिसहरुले भारतीयलाई राखिएर सहमति भयो भन्ने प्रचार गरियो,’ प्रचण्डले भने, ‘जुन विल्कुल झुटो र निराधार प्रचार थियो। मलाई र हाम्रो पार्टीलाई प्रहार गर्न गरिएको प्रचार हो यो।’

जसबारे चीनले पनि चासो राखेपछि आफू अचम्ममा परेको उनको भनाई थियो। ‘तपाईं र आरजु भारत भ्रमणमा समझदारी भएको भन्नेमा चीनले पनि चासो राखेको भन्ने सुन्दा मलाई अचम्म लाग्यो।’ 

‘गठबन्धन टिक्छ’
प्रचण्डले सत्ता गठबन्धनमा कुनै समस्या नभएको पनि बताए। 

बिहीबार दिनभर शीर्ष तहका नेताहरुबीच समझदारीको प्रयास भएपनि संभव भएको थिएन। 

कार्यदलले प्रतिनिधि सभा १ सय ६५ र प्रदेश सभा तर्फका ३ सय ३० निर्वाचन क्षेत्रमा मोटामोटी सहमति जुटाएर प्रतिवेदन बुझाएको थियो। 

यद्यपी सिट बाँडफाँट भने भएको छैन्। 

तर, प्रचण्डले सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषय आजै टुंगो लाग्ने बताएका छन्। 

शुक्रबार (२४ भदौ) दिउँसो २ बजेदेखि बैठक बस्ने र ३ बजेपछि टुंगोमा पुग्नेगरी समझदारी बनेको उनले बताए। 

‘गठबन्धनको सकारात्मक ढंगले समझदारीको टिकटमा छौं। हिजो अरु नेताको अन्यत्र कार्यक्रम नपरेको भए हिजै टुंगो लाग्थ्यो,’ प्रचण्डले भने, ‘२ बजेबाट हामी र ३ बजेदेखि आजै टुंग्याउने गरी अघि बढेका छौं। जटिल केही भएको छैन्। समझदारी बनाएर जान्छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .