ad ad

राजनीति


सुनसरी ३ : भगवतीसँग तेस्रो पटक भिड्ने तयारीमा गच्छदार

सुनसरी ३ : भगवतीसँग तेस्रो पटक भिड्ने तयारीमा गच्छदार

सुमन पुरी
भदौ २७, २०७९ सोमबार १५:३३, विराटनगर

कांग्रेस नेता विजयकुमार गच्छदार र एमालेका भगवती चौधरी सुनसरी क्षेत्र नम्बर ३ बाट दुई पटक चुनावमा आमने सामने भइसकेका छन्। 

२०७० को संविधान सभा निर्वाचन र २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा उनीहरु प्रतिस्पर्धी थिए। 

गच्छदार २०७० को निर्वाचनमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट उम्मेदवार हुँदा भगवती एमालेबाट उम्मेदवार बनेकी थिइन्। २०७४ मा भने गच्छदारले कांग्रेसमै फर्किएर टिकट लिए। 

यी दुवै निर्वाचनमा गच्छदारले बाजी मारे। तर, यो जीतको कथा भने सहज र विवादरहित हुन नसकेको एमाले नेताहरु दाबी गर्छन्। ०७० को निर्वाचनमा सत्ता र शक्तिको आडमा निर्वाचन जितेको आरोप गच्छदारलाई लाग्यो।

२०७४ मा पनि उनले निर्वाचनमा धाँधली गरेको भन्दै अदालतमा मुद्दा नै परेको छ। तर ५ वर्ष बित्न लाग्दा पनि संवैधानिक अदालतले चौधरीद्वारा दायर मुद्दाको फैसला गरेको छैन । 

गच्छदारको शक्ति
२०७० सालको दोस्रो संविधान सभा निर्वाचनको मतगणना तत्कालीन जिल्ला शिक्षा कार्यालय सुनसरीको तालिम केन्द्रमा भइरहेको थियो । 

३५ सय हाराहारी मत गन्न बाँकी हुँदा एमाले नेता चौधरी ३६५ मतले अगाडि थिइन् । 

पर्यवेक्षक, पत्रकारहरू मतगणनास्थल भन्दा अगाडिको सानो कोठामा परिणामका लागि कुरिरहेका थिए।​ मतगणनास्थल बाहिर ठूलो संख्यामा दुवै पक्षका कार्यकर्ता नाराबाजी गर्दै थिए । 

अपरान्ह ४ बज्न लागेको थियो । एक्कासी सशस्त्र र जनपद प्रहरी बढाइयो ।  मतगणनास्थल नजिकै कोठाका पत्रकार र पर्यवेक्षकलाई बाहिर निकालियो । 

बहिर निस्कन नमान्ने पत्रकारमाथि लाठीचार्जसमेत भयो । जिल्ला प्रहरी कार्यालय सुनसरीका तत्कालीन प्रहरी नायव उपरीक्षक लक्ष्मण गिरीले माथिको आदेश भन्दै बल प्रयोग गरेर पत्रकारहरुलाई कोठाबाट निकाले। 

केही समय मतगणना स्थगित गरियो। पुनः सुचारु भयो । यसपछि भएको मतगणनामा ३ सय ६२ मतले गच्छदार विजयी भएको घोषणा गरियो ।

गच्छदारले  १७ हजार ५ सय २४ मत ल्याए। भगवतीले १७ हजार १६२ मत ल्याएर पराजित भइन्। 

तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले चुनाव जित्दा कांग्रेसकी गोमा अन्सारी पराजुलीले १० हजार ८ सय ६ मत पाएकी थिइन्। 

३५ सय मतगणना हुँदा सूर्य चिन्हमा खसेको ३ सय  मत बदर भएको निर्वाचन आयोगले जानकारी दिएको थियो । यसपछि जिल्लामा फोरम लोकतान्त्रिक र एमालेबीच विवाद भएको थियो ।

पछि केन्द्रीय निर्देशन अनुसार नै  भगवतीले हार स्वीकारेको एमाले नेता कार्यकर्ताबीच चर्चा थियो । 

एमाले नेताहरुले संविधान जारी गराउन र मधेसीहरुको मुद्दा कमजोर बनाउन गच्छदारलाई जिताइएको तर्क गर्ने गरेका थिए । 

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनको कथा पनि यो भन्दा फरक रहेन। निर्वाचनका क्रममा सुनसरी क्षेत्र नम्बर ३ मा ८५ हजार ३४ मत खस्यो। 

खसेकोमध्ये ७२ हजार मतगणना भइसक्दा गच्छदार ६३ मतले पछाडि थिए। 

२९ हजार ९८८ मतगणना हुँदा २२ सय मतले गच्छदार पछाडि परे। ३५ हजार मतगणना हुँदा गच्छदार २८ सयले पछाडि परे। आधा मतगणना हुँदा २८ सयले पछाडि परेको अवस्थालाई उल्टाएर उनी पुनः विजयी भए। यसबेला पनि भगवती ३ सय २१ मतले पछि परिन्। 

२०७४ को प्रतिनिधिसभाको निर्वाचनमा चौधरीले ३८ हजार ६५१ मत पाइन् भने गच्छदारले ३८ हजार ९७२ मत ल्याए।

पराजित भएपछि भगवती अदालत गइन् । २०७४ साल पुस ११ गते सर्वोच्च गएकी चौधरीले लत्पतिएको र बदरसमेत रुख चिह्नमा गणना गर्न लगाएको आरोप लगाइन्। 

‘मतगणनाको १९ औँ लटमा नौवटा अर्धकट्टीसहितको मतपत्र पाइएको थियो। निर्वाचन अधिकृतले सिरियल नम्बर हेर्न दिएनन्’, उनले भनिन्।

मुद्दा परेको तेस्रो दिन अर्थात् १४ पुसमा संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गर्यो । तर साढे चार बर्ष बित्दा पनि त्यो मुद्दाको फैसला आएन ।  फैसला नआँउदै मंसिर ४ मा प्रतिनिधिसभा निर्वाचन मिति घोषणा भइसकेको छ । सुनसरी क्षेत्र नम्बर ३ बाट उनै पुराना प्रतिद्वन्द्वी आमनेसामने हुने तयारीमा छन् ।

०७४ को नतिजा– 

२ छिमेकीको दुष्मनी 
विजय र भगवती एकै  समुदायका हुन्। उनीहरुको गाउँ पनि एउटै हो । दुवै सुनसरीको तत्कालीन भलुवा गाविसमा जन्मिएका हुन्।

दुहवी नगरपालिकाभित्र पर्ने भलुवामा उनीहरु छिमेकी हुन्। दुवैजना मोरङका थारु हुन्। उमेर र राजनीतिक यात्राका हिसावले विजय भगवतीभन्दा सिनियर हुन् । 

आफूभन्दा अग्रजलाई असाध्यै मान र श्रद्धा गर्ने थारु समुदायका यी दुई अगुवा नेताबीच राजनीतिक आस्था र चुनावी प्रतिस्पर्धाले ‘कट्टर दुष्मन’ बनाएको छ । यसको खास कारण हो मतगणना सुरु हुँदा गच्छदार पछाडि पर्ने र अन्तिम परिणाम आउँदा उल्टाएर जित्ने। 

दुवै निर्वाचनको प्रतिस्पर्धामा त्यही प्रक्रिया हुँदा भगवतीको दावी र आरोप छ, ‘सत्ता र शक्तिको आडमा चुनाव हराइयो।’

भगवतीले आरोप लगाए पनि गच्छदारको विजय यात्रामा पूर्णविराम भने लाग्न सकेको छैन। उनले २०४८ सालयता जित्दै आएका छन्।

गच्छदारले सुनसरीबाट  ०४८, ०५१, ०५६, ०६४ र ०७४ मा जिते । उनी १८ पटक मन्त्री बन्दा ५ पटक त उपप्रधानमन्त्री बने। 

यस पटक सहज छैन
सत्ता र शक्तिमा रहने विजयकुमार गच्छदार यस पटक भने समस्यामा छन्। कारण हो, उनीमाथि लागेको भ्रष्टाचार मुद्दा। 

गच्छदारविरुद्ध लागेको काठमाडौंको बालुवाटारस्थित ललिता निवासको जग्गा अपचलनसँग सम्बन्धी भ्रष्टाचार मुद्दा अहिले विशेष अदालतमा विचाराधीन छ । 

०७६ माघ २२ मा गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो। 

मुद्दा दायर भएपछि गच्छदारको सांसद पद निलम्बनमा छ। मुद्दा चलेपछि उनी फरार सूचीमा रहे तर प्रहरीले पक्राउ गरेन । 

शेरबहादुर देउवा नेतृत्वको सरकार बनेको भोलिपल्ट अर्थात् २०७८ असार २८ गते विशेष अदालतमा हाजिर भए । त्यहीदिन विशेषले १० लाख धरौटीमा छाड्ने आदेश दियो। 

तर,  उक्त मुद्दाको अन्तिम फैसला नभएकाले उनी दोषमुक्त भइसकेका छैनन्।  अन्तिम फैसला नआए पनि उनले उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । 

उनको घोषणासँगै सुनसरी क्षेत्र नम्बर ३ बाट कांग्रेसले उमेद्वारको रुपमा एकल नाम पठाएको छ । गृहनगर दुहबी आएका बेला गच्छदारले जनादेशबाट अदालतको आदेश खारेज गर्न आफू चुनावमा उठ्ने बताएका थिए । 

राजनीतिक यात्रा
भ्रष्टाचार मुद्दाका कारण मात्रै होइन, उनी अहिले पार्टीमा पनि कमजोर छन् । कुनै बेला गच्छदारलाई गिरिजाप्रसाद कोइरालाका खास मानिसका रुपमा चिनिथ्यो। कोइराला परिवारसँगको यही सम्बन्धका कारण उनी शक्तिशाली थिए । 

२०२७ सालमा महेन्द्र मोरङ क्याम्पसमा नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका उनी २०५२, २०५३ र २०५६ मा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।

शेरबहादुर देउवाले कांग्रेस विभाजन गरी प्रजातान्त्रिक कांग्रेस बनाएपछि गच्छदार महामन्त्री समेत भए । २०६० देखि २०६४ सालसम्म महामन्त्री  भएका गच्छदार १४ औँ महाधिवेशनमा धनराज गुरुङसँग २ मतले पराजित भए । 

उनी कोइराला समुह छाडेर संस्थापन पक्ष अर्थात देउवा लाइनबाट उपसभापतिको उम्मेदवार बनेका थिए । उपसभापतिमा पराजित भएसँगै उनी पार्टीभित्र खास भूमिका छैनन् । 

संस्थापन पक्षबाट उम्मेदवार बनेका गच्छदारले १ हजार ९०६ मत पाए । उपसभापतिमा चुनिएका धनराज गुरुङले १ हजार ९०८ मत ल्याएका थिए। 

क्षेत्रमा कमजोर 
२०७८ मंसिरमा भएको कांग्रेसको क्षेत्रीय अधिवेशनमा गच्छदारले आफ्नो क्षेत्रबाट सहमतिमा नेतृत्व छनोटका लागि दबाव दिए ।

आफूनिकटलाई नेतृत्वमा ल्याउन खोजेपछि इतरका विरोधमा उत्रिए। त्यसपछि निर्वाचन कार्यतालिका स्थगित भयो । गच्छदारले टिकेप्रथा चलाएको आरोपमा मुर्दावाद भन्दै नाराबाजीसमेत भयो। 

मंसिर ७ गते हुने भनिएको अधिवेशन सहमतिका लागि भन्दै ८ गते सारिएको थियो। ८ गते कुनै सहमति नभएपछि ९ गतेदेखि निर्वाचन हुने तालिका निर्वाचन समितिले सार्वजनिक गरेको थियो। 

अन्य सबै क्षेत्रको नेतृत्व चयन भइसकेर अन्तिममा क्षेत्र नम्बर ३ मा नेतृत्व चयन भएको थियो । उक्त क्रममा उनी इतर अर्थात कोइराला खेमाका मेहदी हुसेन क्षेत्रीय सभापति बनेका छन् । 

गाउँ नगर अधिवेशनमा पनि उनी इतरका उम्मेदवार विजयी भएका छन्। गृहनगर दुहबीमा उनीनिकट तथा साइनोले सम्धी पर्ने टेकचन्द्र ​विश्वास पराजित भए। 

उनको क्षेत्र पनि जोडिने इटहरी उपमहानगर सभापतिमा उनी इतरकै हेमकर्ण पौडेल विजयी भए । 

महाधिवेशनका बेला उनकै समूहबाट उम्मेदवार बनेका टेकचन्द्र विश्वास एमाले प्रवेश गरिसकेका छन्। उनी जुन पार्टीमा गयो, त्यतै जाने प्रभावशाली नेता कोविदजंग कार्कीसमेत उनको साथ छाड्दै कोइराला पक्षमा लागेका छन् । उनी इटहरी कांग्रेसका कार्यवाहक सभापति हुन् । 

स्थानीयमा वडाको अंक गणित 
सुनसरी क्षेत्र नं. ३ मा इटहरी उपमहानगरपालिका ६, ७, ८, ९, १०, ११, १२, १३, १४ र १५ नम्बर  वडा गरेर १० वटा वडा पर्छन्। सुनसरी क्षेत्र नम्बर ३ मा गढी गाउँपालिका सबै वडा, दुहबी नगरपालिकाका सबै वडा, बर्जु गाउँपालिकाको सबै वडा र इनरुवा नगरपालिकाको वडा नं.७ पर्छ ।

इटहरीका १०  मध्ये एमालेले ६ वटा वडामा विजय हासिल गरेको छ । १४ नम्बर वडामा स्वतन्त्र उम्मेदवार रमेश चौधरी विजयी भए। तर उनी बागी उठेका उनी एमालेमा फर्किसकेका छन् । 

इटहरीमा सुनसरी ३ मा पर्ने वडामध्ये ३ वडामा कांग्रेस विजयी भएको छ । गठबन्धन भएको इटहरी उपमहानगरका १० वटा वडामा एमालेका वडा अध्यक्षलाई ११ हजार ५६६ मत खसेको थियो । गठबन्धनका वडाअध्क्षलाई भने १० हजार ३१० मत आएको छ । 

दुहबी नगरपालिकाका ९ वटा वडामध्ये ७ वटा वडामा कांग्रेसले विजय हासिल गरेको छ । वडाअध्यक्षमा कांग्रेसले दुहबी नगरपालिकामा ८ हजार ३२३ मत पाएको छ । 

एमाले वडाअध्यक्षमा ६ हजार ६ सय ४८ मत पाएको छ। वडाअध्यक्षमा यति धेरै मतान्तरले मत खस्दा पनि मेयरमा भने झिनो मतले मात्रै कांग्रेस उमेद्वार विजयी भएका छन् । 

कांग्रेसका वेद गच्छदारले ११ हजार ९२६ मत ल्याउँदा एमालेका विनय पोख्रेलले ११ हजार ४६१ मत पाएका छन् । 

६ वटा वडा रहेको गढी गाँउपालिकमा भने एमालले ५ वटा वडाअध्यक्षमा विजय प्राप्त गरेको छ । कांग्रेसले एउटा मात्रै वडा जितेको छ । त्यो पालिकामा एमालेले अध्यक्ष–उपाध्यक्ष नै जितेको छ । 

वर्जुमा पनि एमालले अध्यक्ष–उपाध्यक्षमा विजय हासिल गर्दा कांग्रेसले २ वटा वडा जितेको छ । 

गढी गाँउपाकिलामा एमालले वडाअध्यक्षमा ६ हजार ३२२ र कांग्रेसलाई ४ हजार ४४१ मत आएको छ । बर्जुमा कांग्रेसलाई वडा अध्यक्षमा ७ हजार ८०९ र एमालेलाई वडा अध्यक्षमा ७ हजार ५८१ मत आएको छ । 

इनरुवा नगरपालिकाको ७ नम्बर वडामा कांग्रेस विजयी भएको छ । उक्त वडामा कांग्रेसले १२ सय १४ र एमालेले १०३४ मत पाएको छ । 

तेस्रो भेटको सम्भावना
ठूलै फेरबदल नभए यो पटक पनि एमालेले सुनसरी क्षेत्र नम्बर ३ बाट भगवती चौधरीलाई नै प्रतिनिधिसभामा उठाउने छ । 

केही दिनअघि केपी शर्मा ओलीले क्षेत्र नम्बर ३ मा भएको कार्यक्रममा यसको संकेत गरिसकेका छन् । 

‘यस पटक धाँधली गरेर चुनाव जित्ने र हराउने काम हुने छैन’, भगवतीको कार्यालय परिसरमा भएको कार्यक्रममा ओलीले भने, ‘यसका  लागि पार्टी चनाखो छ। कार्यकर्ताहरु पनि चनाखो बन्नुहोला।’

उनले भगवतीहरुलाई पार्टीले अन्याय हुन नदिने पनि बताइसकेका छन्। त्यही कार्यक्रममा स्वागत मन्तव्य दिएकी चौधरीले यस पटक सुनसरी क्षेत्र नम्बर ३ मा एमालेले जितको झण्डा फहराउने दाबी गरिन्। 

तर ०७४ मा नेकपा माओवादी केन्द्रसँग तालमेल भएको अवस्थामा पराजित भएकी भगवतीका लागि माओवादी अलग भएको र एमालेसमेत फुटेको अवस्थामा जित निकाल्न त्यति सहज भने देखिँदैन ।  

आखिर परिणाम जस्तोसुकै आए पनि मंसिर ४ को चुनावमा पुनः विजय गच्छदार र भगवती चौधरीबीच प्रतिस्पर्धा भयो भने सुनसरी ३ को चुनाव रोचक हुने देखिन्छ ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .