राजनीति


पानीबारे टिप्पणीले गुणादीबासी भड्किएपछि रामचन्द्रले मागे माफी

पानीबारे टिप्पणीले गुणादीबासी भड्किएपछि रामचन्द्रले मागे माफी

फाइल फोटो


नेपालखबर
भदौ २८, २०७९ मंगलबार १५:१, काठमाडौँ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको म्याग्दे-१ गुणादीका बासिन्दासँग माफी मागेका छन्। 

आफ्नो अभिव्यक्तिलाई लिएर विरोधमा उत्रिएका गुणादीबासीले दमौली लगिएको खानेपानी आपूर्ति नै बन्द गरिदिएपछि पौडेलले मंगलबार सामाजिक सञ्जालमा माफी मागेका हुन्। 

उनले खानेपानीलाई लिएर व्यक्त गरिएका आफ्ना भनाइलाई विभिन्न सञ्चारमाध्यमले फरक फरक आशयसहित व्याख्या गरेर प्रेषित गरिदिँदा गुणादीवासीको भावनामा ठेस पुगेको भन्दै क्षमायाचना गरेका हुन्। 

यही शुक्रबार दमौलीमा आयोजित कार्यक्रममा पौडेलले गुणादीको पानीलाई चुना परेको र प्रदूषित भनिदिएपछि स्थानीयबासी आक्रोशमा आएर मुहान नै बन्द गरिदिएका थिए।

गुणादीबासीले पानी रोकिदिँदा दमौलीमा समस्या भएपछि पौडेलले सार्वजनिक रुपमै माफी माग्नु परेको हो। उनले पानीको समस्यालाई एकआपसमा सल्लाह गरेर समाधान गर्न पनि सुझाव दिएका छन्। 

पौडेलले जनताको स्वास्थ्य र जनताको हितविपरीत कुनै काम गर्नु राम्रो नभएको बताउँदै त्यसतर्फ विचार गर्न पनि सबैलाई आग्रह गरेका छन्। 

'गत साताको कार्यक्रममा मैले दमौलीमा मादी नदीको पानी प्रशोधन गरेर वितरण गर्ने आयोजना संचालन हुँदा समस्या समाधान भएको कुरा गरेको थिएँ', उनले भनेका छन्, 'त्यसअघि गुणादी लगायत अन्य श्रोतबाट ल्याइएको पानी अपुग थियो। दमौली आसपास पानीको मूलबाट चुन ढुङ्गा मिश्रित पानी वितरणमा जोडिने गरेको हो। प्रशोधन संयन्त्र र क्षमता नहुँदा चुन्या पानी वितरण हुने गरेकोमा अब प्रशोधन क्षमतामा वृद्धि भएको अवस्थामा त्यो पनि समस्या रहेको छैन। दमौलीवासीले शुद्ध पानी पाइरहेका छन्।'

उने आफ्नो भनाइलाई विभिन्न माध्यमबाट विभिन्न तर्कसहितका व्याख्या गरेर प्रेषित हुँदा गुणादीवासीको भावनामा ठेस पुगेकोमा क्षमा मागेका हुन्। 

उनले गुणादी र दमौलीबासी एकअर्काका परिपूरक भन्दै विवाद साम्य पार्न खोजेका छन्। 

'गुणादी र दमौलीका दाजुभाइ एकआपसका परिपूरक हुन्। एक अर्काले धेरै पहिलेदेखि सहयोग आदान प्रदान गर्दै आएका छन्', उनले भनेका छन्, 'मेरो अभिव्यक्तिलाई लिएर पानीको बन्द गरिनु न्यायपूर्ण हुन सक्दैन। एक आपसमा सरसल्लाह गरेर समस्याको समाधान खोज्न सम्बन्धित सबैमा आग्रह गर्दछु।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .