ad ad

राजनीति


प्रतिगामी र दक्षिणपन्थी शक्ति संविधान विरुद्ध लागिरहेको छ : माधव नेपाल

प्रतिगामी र दक्षिणपन्थी शक्ति संविधान विरुद्ध लागिरहेको छ : माधव नेपाल

फाइल तस्बिर


नेपालखबर
असोज ३, २०७९ सोमबार ८:२४, काठमाडौँ

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रतिगामी र दक्षिणपन्थी शक्तिहरु संविधान विरुद्ध लागिरहेको अनुभूति आफूले गरेको बताएका छन्। 

आठौं संविधान दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानपूर्ण संघर्षको फलस्वरुप जननिर्वाचित संविधानसभाले २०७२ असोज ३ गते नेपालको संविधान जारी गरेको स्मरण उनले गरेका छन्।

‘यस अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु साथै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि भएका विभिन्न आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने सम्पुर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ नेपालले जारी गरेको सन्देशमा भनिएको छ, ‘प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासनप्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्नु संविधानको उपलब्धि हो’

उनलृ संविधान जारीपछि मुलुकको राज्य संरचना र शासन सत्तामा ठूलो परिवर्तन भएको बताएका छन्। ‘तर अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्तिहरु संविधान विरुद्ध लागिरहेको हामी सवैले अनुभुति गरिरहेका छौं । दुई दुई पटक असंबैधानिक रूपमा गरिएको संसद विघटन, स्वेच्छाचारिता, अहंकार, दम्भ एवम् अनेक खाले विकृतीका विरूद्ध अघिल्लो बर्ष पाँच दलीय गठबन्धनको नेतृत्वमा भएको सडक आन्दोलनले मुलुकलाई प्रतिगमनबाट जोगाउन र संविधानको रक्षा गर्न सफलता प्राप्त गरेको विषयलाई पनि संविधान दिवसका अवसरमा स्मरण गर्नु वान्छनीय हुनेछ।’ नेपालले भनेका छन्। 

संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज तथा समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको नेपालले उल्लेख गरेका छन्। 

‘जनताको व्यापक सहभागितामा संविधान सभाले बनाएको संविधान कार्यान्वयन मार्फत नै  संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न सकिन्छ । संविधानद्वारा प्रत्याभूत गरिएका नागरिक आकांक्षा पुरा गर्न हाम्रो पार्टी प्रतिवद्ध छ,’ नेपालको सन्देशमा भनिएको छ, ‘गत वैशाखमा स्थानीय निर्वाचन सफलतापुर्वक सम्पन्न भएको छ र निकट भविष्यमा हुने प्रादेशिक र संघीय निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। यही बेला संविधान मास्ने र विधिलाई समाप्त पार्ने शक्तिहरू नक्कली कुरा गरी जनतालाई दिग्भ्रमित पार्ने र झुक्याउने प्रपन्च गरिरहेका छन्। हामीलाई पूर्ण विश्वास छ, जनआकांक्षा अनुरुप आर्थिक तथा सामाजिक समृद्धि हासिल गर्ने हाम्रो अभियानमा यहाँहरुबाट सहयोग, सद्‍भाव र सुझबुझपूर्ण निर्णय हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .