ad ad

कारोबार


नयाँ स्टक एक्सचेन्ज : शंकर ग्रुप र आईएमई ग्रुपको संयुक्त आवेदन!

नयाँ स्टक एक्सचेन्ज : शंकर ग्रुप र आईएमई ग्रुपको संयुक्त आवेदन!

दीपक भट्ट
असोज ३, २०७९ सोमबार ११:११, काठमाडौँ

सरकारले सेयरबजारमा दोस्रो व्यवस्थापक राख्न चाहेको छ। 

अहिलेसम्म सेयरबजार नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले गर्दै आएकोमा सरकारले नयाँ कम्पनीको लागि आवेदन माग गरेको हो। 

अहिलेसम्म सरकारी कम्पनी नेप्सेले मात्रै व्यवस्थापन गर्दै आएको थियो। तर सेयरबजारको नियामक सरकारी निकाय धितोपत्र बोर्डले नयाँ व्यवस्थापक निजी क्षेत्रबाट गराउने गरी आइतबार आवेदन खुलाएको छ। 

सोसँगै नयाँ स्टकको लागि बजारका धेरै निजी लगानीकर्ताहरु आकर्षित हुने देखिएको छ। त्यसमा सरकारले योग्य कम्पनीलाई अर्थात् आवेदकमध्येको उत्कृष्टलाई लाइसेन्स दिने जनाएको छ। 

योग्य कम्पनी ठहरिन ठूला घरानाहरुबीच प्रतिस्पर्धा हुने देखिएको हो। धितोपत्र बोर्डले तोकेको दायरा तथा संशोधित नियमावली र आवेदनको लागि गरेको सूचनाको अधीनमा नै रहेर व्यावसायिक घरनाहरु लागिपरेका छन्। 

कुन कुन घराना इच्छुक? 
तर प्रतिस्पर्धामा लाइसेन्स दिनुअगावै केही घरानाको नाम जोडिएको छ। शंकर ग्रुप, विशाल ग्रुपलगायतले यसअघि नै नयाँ स्टकको लाइसेन्स पाउन पहल गर्दै आएका थिए। 

पछिल्लो समय शंकर ग्रुपले नयाँ स्टकमा लगानी गर्न धेरै चाहना देखाउँदै आएको छ। 

शंकर ग्रुप उद्योग तथा व्यापारको हिसाबले नेपालको ठूलो व्यावसायिक घरानामा पर्छ। उत्पादनमूलक, सेवामूलक उद्योग र ट्रेडिङ गरेर यो ग्रुपले २३ वटा व्यावसायिक कम्पनी सञ्चालन गर्दै आएको छ। 

उत्पादनमूलक उद्योगहरुमा जगदम्बा स्टिल, जगदम्बा वायर, जगदम्बा सिमेन्ट (जसमा विष्णुप्रसाद न्यौपानेको पनि लगानी छ), रिद्धिसिद्धि सिमेन्ट, जगदम्बा स्पिनिङ मिल, जगदम्बा सेन्थेटिक, शंकर सेन्थेटिक, जगदम्बा फुड प्रोसेसिङ, जगदम्बा लल्को वेभ, रिद्धिसिद्धि मिनरल्स रहेका छन्। 

सेवा क्षेत्रमा जगदम्बा हस्पिटालिटी, युनियन लाइफ इन्सरेन्स, जगदम्बा इन्भेष्टमेन्ट, एक्जोटिक एडभेन्चर टुर एण्ड ट्राभल छन्। रियल स्टेटमा जगदम्बा होल्डिङ छ।

त्यस्तै ट्रेडिङ कम्पनीहरुमा नकासु मोटर्स, जगदम्बा मोटर्स (जसले टीभीएस मोटरसाइकल बिक्री गर्छ), फोर्स कन्स्ट्रक्सन एण्ड एसोसिएसन, जगदम्बा ओभरसिज, सौरभ फोटो इन्टरनेशनल, जगदम्बा मोबाइल छन्।

यसका साथै गत आर्थिक वर्षदेखि यसले सुरु गरेको नयाँ व्यवसाय भनेको पुनर्बीमा कम्पनी हिमालयन रि–इन्सुरेन्स हो। 

नेपाल पुनर्बीमा कम्पनीसँग प्रतिस्पर्धीको रुपमा आएको यस कम्पनीमा लगानीकर्ताहरु धेरै छन्। तर मुख्य लगानीकर्ताको रुपमा शंकर ग्रुप छ।

अहिले नयाँ स्टकको लाइसेन्सको लागि पनि शंकर ग्रुपले चाहना व्यक्त गरेको छ। 

त्यसमा शंकर ग्रुपसँगै गाँसिएर लगानी आईएमई ग्रुप पनि हो। यस ग्रुपसँग संयुक्त लगानी गर्नको लागि शंकर ग्रुपले नै आग्रह गरिरहेको बुझिएको छ। 

हिमालयन रि इन्सुरेन्समा समेत आईएमई ग्रुपपछि जोडिएको थियो। 

अहिले सुरुमा आवदेन दिँदा नै यी दुई घरानाको मुख्य लगानी हुने गरी आवेदन हुने भएको छ। सरकारले आवेदनको लागि ४५ दिनको समय दिएको छ। 

तर आईएमई ग्रुपका एक अधिकारीले भने आइएमई ग्रुप नयाँ स्टकको लाइसेन्स प्रक्रियामा जाने नजाने यो क्षेत्रमा लगानी गर्ने नगर्नेबारे सोच नबनाएको बताए। 

उनले भने, ‘यस विषयमा आईएमई ग्रुपलाई कसैले जोडेर हेरेका पनि हुनसक्छन् तर आईएमई ग्रुपले लगानीको आधिकारिक निर्णय गरेको छैन।’ 

आवेदकले पूरा गर्नुपर्ने ५ शर्त
धितोपत्र बोर्डले आज खुलाएको नयाँ आवेदनमा शर्तहरु तोकिएको छ। त्यसमा पहिलो शर्त धितोपत्रसम्बन्धी ऐन, २०६३ र सो अन्तर्गत बनेका नियम, निर्देशिका तथा अन्य प्रचलित कानुनको अधीनमा रही धितोपत्र बजार सञ्चालन गर्न इच्छुक धितोपत्रसम्बन्धी ऐन तथा नियमावलीबमोजिम योग्यता पुगेका संस्थाले यो सूचना प्रकाशित भएको मितिले ४५ दिनभित्र (अन्तिम दिनको कार्यालय समयभित्र) निवेदन बुझाउन सकिनेछ। 

त्यस्तै धितोपत्र बजार सञ्चालन गर्ने सङ्गठित संस्था दर्ता गर्न सम्बन्धित कार्यालयमा बोर्डको सिफारिसका लागि धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ तथा धितोपत्र बजार सञ्चालनका लागि सङ्गठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्नेसम्बन्धी निर्देशिका, २०७९ मा तोकिएबमोजिम निवेदन, निवेदन दस्तुर, विवरण तथा कागजात संलग्न गरी बोर्डसमक्ष निवेदन पेस गर्नुपर्नेछ। निवेदन पेस गर्ने दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्ट कार्यालय समयभित्र निवेदन बुझाउन सकिनेछ।

दोस्रो शर्तमा निवेदन पेस गर्दा निवेदकको नाम, ठेगाना स्पष्ट खुल्ने गरी नेपाल धितोपत्र बोर्डलाई सम्बोधन गरी धितोपत्रसम्बन्धी ऐन, २०६३, धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ तथा धितोपत्र बजार सञ्चालनका लागि सङ्गठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्नेसम्बन्धी निर्देशिका, २०७९ मा उल्लेखित कागजात तथा विवरणहरू एवं सिलबन्दी गरिएको विस्तृत व्यावसायिक कार्ययोजना समावेश गरी खामबन्दी गरी निवेदन पेस गर्नुपर्ने बताइएको छ। 

तेस्रो शर्तमा रीतपूर्वक नभएका वा म्याद नाघी आएका वा कुनै शर्त समावेश गरी पेस भएका निवेदनउपर कुनै कारबाही नहुने भनिएको छ। 
चौथो शर्तको रुपमा सूचनाबमोजिम पेस हुन आएका कुनै वा सबै निवेदन स्वीकृत गर्ने वा नगर्ने अधिकार बोर्डमा सुरक्षित रहने भनिएको छ।

धितोपत्र बजार सञ्चालनको लागि सङ्गठित संस्था स्थापना गर्न सिफारिससम्बन्धी अन्य शर्तहरू धितोपत्रसम्बन्धी ऐन, २०६३, धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ एवं धितोपत्र बजार सञ्चालनका लागि सङ्गठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्नेसम्बन्धी निर्देशिका, २०७९ मा उल्लेख भएबमोजिम हुने बताइएको छ। 

नयाँ लाइसेन्सको लागि संशोधन भएको थियो नियमावली
सरकारले नियमावली संशोधन गरी नयाँ लाइसेन्सको सूचना जारी गरेको हो।  नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिले धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ संशोधन गरेको छ। त्यसले नयाँ एक्सचेन्जलाई लाइसेन्स दिने विषय उठाएको छ। 

३ अर्ब चुक्ता पुँजी रहने गरी नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने गरी नियमावली संशोधन भएको छ। 

हाल १० करोडमा स्टक एक्सचेन्ज खोल्न पाइने व्यवस्था छ। नयाँ स्टक एक्सचेञ्जमा निजी कम्पनी तथा व्यक्तिहरुले समेत लगानी गर्न पाउनेछन्। त्यस्तो कम्पनी वा व्यक्तिको हकमा अधिकतम लगानीको सीमा १५ प्रतिशतसम्म हुनसक्ने व्यवस्था छ। त्यस्तै ३० प्रतिशत सर्वसाधारणबाट लगानी जुटाउनुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .