राजनीति


जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई छैन : गृहमन्त्री

जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई छैन : गृहमन्त्री

नेपालखबर
मंसिर २७, २०७६ शुक्रबार १०:४३,

गृहमन्त्री रामबहादुर थापाले जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई नभएको बताएका छन्।

काठमाडौँमा शुक्रबार भएको प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा गृहमन्त्री थापाले प्रहरीलाई कर्तव्यपथबाट विचलिन नहुन आग्रह गरे।

उनले भने, ‘प्रहरीको सानो लापरबाही सिङ्गो सङगठन, सरकार र राष्ट्रका लागि प्रत्युत्पादक हुनसक्छ, राज्यले दिएको जिम्मेवारीबाट विमुख हुने अधिकार तपाइँहरुलाई छैन।’ उनले संगठनमाथिको विश्वासलाई थप सुदृढ बनाउन प्रहरीले व्यक्तिगत अफ्ठेरालाई थाँती राखेर कर्तव्यपालन गर्नुको अर्को विकल्प नरहेको बताए।

गृहमन्त्री थापाले नेपाल प्रहरीको पहिलो प्राथमिकता लोकतान्त्रिक पद्धतिमा आएका सामाजिक असन्तुष्टि, प्रशासनिक अड्चन र राजनीतिक तथा व्यक्तिगत अधिकारका द्वन्द्वका बीचमा आफुलाई संयमित बनाई निष्पक्ष कार्यशैलीका साथ व्यावसायिक धर्म निर्वाह गर्नु हो, भने।

उनले प्रहरीबाट सम्पादन भएको कामको प्रशंसा गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न नेपाल प्रहरीको अहम भूमिका रहने बताए। उनले प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरी कार्यक्षेत्रमा खटिन लागेका प्रहरी निरीक्षकलाई निर्भीकरूपमा कर्तव्यपालना गरेर शान्ति सुरक्षामा अब्बल बन्न निर्देशन दिए।

कानून कार्यान्वयनकर्ताका रूपमा छनोट भएर आएका प्रहरीले संगठनको भावनाअनुसार काम गर्ने उहाँले आशा व्यक्त गरे। उनले कार्यक्षेत्रमा पुगेर क्षमतालाई थप परिष्कृत गर्दै राष्ट्रलाई लगानीको उचित प्रतिफल दिने अपेक्षा रहेको बताए।

गृहमन्त्री थापाले नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाई राज्यप्रतिको विश्वासमा कमी हुन नदिन आग्रह गर्दै प्रहरीले परिस्थितिअनुसार काम गर्नु पर्नेमा जोड दिए। अठार महिना लामो प्रक्षिणबाट प्राप्त सैद्धान्तिक र व्यावहारिक ज्ञानले समस्या पहिचान र त्यसको समाधानमा अब्बल भई शान्ति सुरक्षा प्रभावकारी बनाउन उनको आग्रह थियो।

अबको प्रहरी अपराध अनुसन्धान, शान्ति निर्माणका साथै सामाजिक विकासको हरेक गतिविधिमा जोडिएको उल्लेख गर्दै गृहमन्त्री थापाले नैतिक समाजको बृहत्तर हितमा विचलित नहुन र निर्धक्क भएर जिम्मेवारी पूरा गर्न प्रहरीलाई निर्देशन दिए। आपराधिक समुहहरुले सामाजिक खलल पुर्याउने सम्भावनाप्रति प्रहरी सदैव सचेत हुनुपर्नेमा उनको जोड थियो।

त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित पोष्ट ग्र्याजुएट डिप्लोमा इन पुलिस साइन्स समावेश भएको उक्त तालिमबाट नौ महिलासहित ९१ जना प्रहरी निरीक्षक दीक्षित भएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad