राजनीति


राजावादी चलखेल पहिलेको भन्दा खतरनाक : सिंह

राजावादी चलखेल पहिलेको भन्दा खतरनाक : सिंह

नेपालखबर
असोज ४, २०७९ मंगलबार २१:४०, अर्घाखाँची

नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले अहिले खतरनाक रुपमा राजावादीहरुको चलखेल बढेको बताएका छन्। 

प्रगतिशील पत्रकार संघले मंगलबार अर्घाखाँचीमा गरेको पत्रकार सम्मेलनमा सिंहले देशमा गणतन्त्र स्थापना भएदेखि नै राजावादी शक्तिहरुको चलखेल बढ्दै गएको तर त्यो चलखेल एमाले अध्यक्ष केपी ओलीको सहयोगमा अहिले झन् सक्रिय भएको बताए । 

उनले २०१७ र ५९ सालको भन्दा प्रतिगमनको खतरा अहिले बढी भएको दाबी गरे।

एमाले राजावादी शक्तिसँग मिलेर व्यवस्था खतम पार्न लागिपरेको सिंहको आरोप छ। 

‘कुन पार्टीको सरकार बन्छ भन्ने कुरा हाम्रो लागि गौण हो। मुख्य उदेश्य प्रतिगमन पराजित गर्नु रहेको छ’ सिंहले भने, ‘कथम कदाचित प्रतिमागीहरु विजय भए भने व्यवस्थामाथि नै आक्रमण हुने अवस्था छ।’ 

सिंहले नेकपा एमाले र ओली धर्म निरपेक्षताको बाटो छोडेर हिन्दु राष्ट्र र राजतन्त्रको बाटोमा लागेको आरोप लगाए। त्यसले प्रतिगमनलाई बल पुगेको उनको भनाई छ।

‘उतिबेला राजा एक्लै प्रतिगमन गर्थे भने अहिले देशी विदेशी सबै एकजुट भएर प्रतिगमन गर्न उद्दत हुँदै छन्। त्यसको नेतृत्व एमालेले गरिरहेको छ’ सिंहले भन्नुभयो ।

सिंहले नेतृत्व गरेको नेकपा (मसाल) को वैधानिक संगठन राष्ट्रिय जनमोर्चा पाँचदलीय गठबन्धनमा छ।

स्थानीय चुनावमा गठबन्धनको तालमेल नीति पूर्ण सफल हुन नसकेको तर अहिले त्यो अवस्था आउन दिन नहुने उनले बताए। 

कुनै कारणबश तालमेल भत्किएमा एमालेको पोल्टामा सत्ता गएमा त्यो देश र जनताको लागि खतरा हुने र देश बर्वादीतर्फ धकेलिने पनि सिंहको दाबी थियो। 

पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै नेता सिंहले एमसीसी र नागरिकता विधेयकको आफूहरुले निरन्तर विरोध गरेको स्पष्ट पारे।

उनले संसदमा मात्र नभएर संसद बाहिर पनि सशक्त रुपमा विरोध जनाएको स्मरण गराए। नागरिकता विधेयक र एमसीसीको विषयमा एमालेको भित्रैदेखि समर्थन रहेको तर बाहिर जनमत बटुल्न मौन भएको आरोप पनि सिंहले लगाए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .