ad ad

राजनीति


बेइजिङमा राष्ट्रपति भण्डारीको भिडिओ सन्देश– नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुँदैन

बेइजिङमा राष्ट्रपति भण्डारीको भिडिओ सन्देश– नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुँदैन

नेपालखबर
असोज ५, २०७९ बुधबार २०:३२, काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको परराष्ट्र नीति असंग्लनता, पञ्चशीलको सिद्धान्त र पारस्परिक लाभमा आधारित रहेको बताएकी छन्। 

चीन सरकार मातहतको चाइनिज पिपुल्स एसोसियसन फर पिस एन्ड डिसआर्मामेन्टले विश्व शान्ति दिवसका अवसरमा बुधबार आयोजना गरेको सम्मेलनमा भिडियो सन्देश दिँदै राष्ट्रपतिले त्यस्तो बताएकी हुन्। 

‘नेपाल सबै देशसँग मित्रता राख्न चाहन्छ। हामी असंलग्नता, पञ्चशीलको सिद्दान्त र पारस्परिक लाभमा आधारित विदेश नीतिमा विश्वास राख्छौँ,’ उनले भनिन्, ‘कुनै पनि सैन्य गठबन्धनमा भाग लिँदैनाैँ।’

नेपालले सदैव निशस्त्रिकरणमा जोड दिँदै आएको बताउँदै आणविक तथा आम विनाशकारी हतियारको होडबाजी रोकिनुपर्ने उनले बताइन्। 

भण्डारीले विश्व शान्ति स्थापनाका लागि आर्थिक रुपमा कमजोर र गरिबीको चपेटामा परेका पिछडिएका देशलाई अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्नुपर्ने बताइन्। उनले गरिबी र पछौटेपन नहटेसम्म विकास र समृद्धि सम्भव नरहेको उल्लेख गरिन्। 

भिडिओ सन्देशमा राष्ट्रपति भण्डारीले भगवान् गौतम बुद्धको जन्मस्थल नेपालबाट अन्तर्राष्ट्रिय सम्मेलनलाई शान्ति दिवसका दिन सम्बोधन गर्न पाउँदा खुशी लागेको बताइन्।

‘विश्व शान्ति तथा निशस्त्रीकरणको कामनासहित आयोजित यस कार्यक्रमले विश्व प्रबर्द्धनका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएकी छु’ उनले सम्बोधनमा भनिन्। 

सम्मेलनलाई चिनियाँ राष्ट्रपति सी चिनफिङ लगायत विभिन्न देशका नेताले शुभकामना दिएका थिए।

भण्डारीले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा चीनले हासिल गरेको विकास र समृद्धिका लागि बधाई दिइन्। उनले चीनको विकासका अनुभवबाट नेपालले सिक्नुपर्ने बताइन्। 

राष्ट्रपति कार्यालयका अनुसार चाइनिज पिपुल्स एसोसियसन फर पिस एन्ड डिसआर्मामेन्टले आयोजना गरेको सम्मलेनमा भण्डारीले ‘प्रि रेकडेर्ड’ भिडिओ सन्देश दिएकी हुन्। 

काठमाडौंस्थित चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयमार्फत राष्ट्रपतिलाई उक्त सम्मेलनका लागि निमन्त्रणा पठाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .