ad ad

राजनीति


चुनावको मुखमा विदेशिन थाल्यो नेपालको पैसा (बिलसहित)

फेसबुकको खर्च उम्मेदवारलाई बोकाउने निर्वाचन आयोगको तयारी
चुनावको मुखमा विदेशिन थाल्यो नेपालको पैसा (बिलसहित)

नेपालखबर
असोज ६, २०७९ बिहिबार १०:२४, काठमाडौँ

निर्वाचनका बेला सामाजिक सञ्जाललाई डलर तिरेर सशुल्क चुनाव प्रचार गर्ने प्रचलन नेपालमा अघिल्लो निर्वाचनदेखि नै सुरु भएको हो । गत वैशाखको स्थानीय चुनावमा फेसबुकलगायतका सामाजिक सञ्जाललाई नेताहरूले ठूलो धनराशि बुुझाएका थिए।

आगामी मंसिर ४ को निर्वाचनमा पनि सामाजिक सञ्जालमा पैसाको खोलो बगाउने र ठूलो धनराशि विदेश पठाउने क्रम सुरु भइसकेको छ। चुनावी प्रचारलाई लक्ष्य गरी समाजिक सञ्जालमा सशुल्क गरिएका केही विज्ञापनको बिल नेपालखबरले फेला पारेको छ।

सामाजिक अभियन्ता पुकार बमले काठमाडौं १ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। कांग्रेस नेता प्रकाशमान सिंहसँग चुनावमा भिड्न लागेका पुकारले भदौ २० देखि २२ गतेसम्म तीन दिनका लागि फेसबुकलाई सय अमेरिकी डलर बुझाएर आफ्नो चुनावी प्रचार गरेका छन्।

सय डलर भनेको झन्डै १२ हजार ७ सय रुपैयाँ हो।

पुकारले १२ हजार ७ सय रुपैयाँ फेसबुकलाई तिरेर गरेको प्रचारमा भनिएको छ, ‘धन्यवाद हजुरहरूको माया साथ र समर्थनका लागि। यहाँ सिन्डिकेट तोड्न सजिलो पक्कै छैन, तर भावी पुस्ताको लागि, आवाजविहीनहरूका लागि, दूरदराजको नेपालीको लागि लड्नु मेरो जिम्मेवारी ठानेको छु। अबको पालो सक्षम युवा। युवा अघि सर्छ देश अघि बढ्छ। हामी तयार छौं हामी सक्छौं।’

पुकार र शैलेन्द्रले रकम बुुझाएको विवरण

एमाले नेता ईश्वर पोखरेलसँग काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने घोषणा गरेका अर्का स्वतन्त्र उम्मेदवार शैलेन्द्र बस्नेतले भदौमा मात्रै ३ सय डलर तिरिसकेका छन्। आफैंले निर्माण गरेको भिडिओ दुईचोटि ‘स्पोन्सर्ड’ गर्दा उनले २ सय डलर तिरेका छन्।

बस्नेतले ‘स्वतन्त्रलाई किन जिताउने’ भन्ने २४ बुँदे घोषणाका लागि फेसबुकलाई थप सय डलर तिरेका छन्। यसका लागि सुजन शर्माले सय डलर तिरिदिएका छन्।

स्वतन्त्रले जित्यो र स्वतन्त्रले सरकार बनायो भने के हुन्छ भन्दै शैलेन्द्रले फेसबुकमा सशुल्क विज्ञापन गराएका २४ बुँदा यस्ता छन्–

१. स्वतन्त्रले जित्यो भने बालेन्द्र शाह र हर्क साम्पाङले गरेजस्तै जस्तै राम्रो काम हुन्छ।

२. हामीले जित्यौं भने देशलाई वर्वाद पार्ने भ्रष्ट र खराब मान्छेहरू रोकिन्छन्।

३. संसदमा पार्टीका सांसदले भन्दा सशक्त र तटस्थ रूपमा आफ्नो स्पष्ट विचार निडरतापूर्वक राख्छौं।

४. विदेशीको आदेशमा हैन, आफ्नै विवेकले देश र जनतालाई हित हुने मात्रै नीति निर्माण र कानुन बनाउन सशक्त भूमिका निर्वाह गर्छाैं।

५. देशैभरिबाट स्वतन्त्रलाई जिताएर पठाउनूस् हामी आफ्नै सरकार बनाउँछौं।

हामीले सरकार बनायौं भने के गर्छौं ?

६. दुईतिहाइ दिएर पठाउनुस् हामी संविधान नै परिवर्तन गर्छौं।

७. संविधान परिवर्तन गरी बालेन्द्र शाह र सुनिता डंगोलजस्तै क्षमतावान् युवाहरूलाई सीधै तपाईंहरूले मत दिएर प्रधानमन्त्री या राष्ट्रपति छान्ने व्यवस्था गर्छौं।

८. प्रदेशसभाजस्ता राज्यलाई बाेझ र राष्ट्रियसभाजस्ता पार्टीका बेरोजगारहरूलाई जागिर दिने निकायहरू खारेज गर्छौं।

९. विदेशमा रहेका सबै नागरिकले मतदान गर्ने व्यवस्था गर्छौं।

१०. आफ्नो सम्पूर्ण ध्यान उद्योग खोलेर रोजगारी सिर्जना गर्नमा मात्रै लगाउँछौं।

११. सरकारी विद्यालयहरू बाेर्डिङभन्दा राम्रो बनाउछौं।

१२. धनी होस् या गरिब सबैभन्दा पहिले सरकारी अस्पताल नै रोज्ने अवस्था सिर्जना गर्छौं।

१३. लोकल रक्सीलाई ब्रान्डिङ गरी महँगा विदेशी रक्सीको आयातलाई नियन्त्रण गर्छौं।

१४. गाँजालाई उद्योग र व्यवसायमा रूपान्तरण गरी आयआर्जन र रोजगारीको सबैभन्दा बलियो आधार बनाउँछौं।

१५. जडीबुटी खेतीलाई प्रवर्द्धन गरी प्रशोधन केन्द्रहरूको स्थापना गर्छौं।

१६. आफ्नै देशमा कृषिलाई प्राथमिकता दिई विदेशबाट आउने कृषिजन्य वस्तुलाई नियन्त्रण गर्छौं।

१७. कृषकले उत्पादन गरेका वस्तु सीधै राज्यले किनिदिने व्यवस्था गर्छौं।

१८. विद्युतीय सवारीसाधनलाई प्रवर्द्धन गरी पेट्रोलियम पदार्थको आयात घटाउँछौं र प्रदूषणलाई नियन्त्रण गर्छौं।

१९. सबैखाले करहरू घरमै बसेर मोबाइलबाटै तिर्न सक्ने व्यवस्था गर्छाैं। कुनै पनि कर तिर्न कार्यालयसम्म जानुपर्ने अवस्थाको अन्त्य गर्छौं।

२०. लाइसेन्स, ब्लुबुक नवीकरणजस्ता कार्य घरबाटै गर्न सक्ने व्यवस्था गर्छौं।

२१. इन्टरनेटको शुल्क घटाउने र कम्प्युटरजस्ता युवाहरूका लागि आवश्यक सामग्रीको कर घटाउँछौं।

२२. पाठ्यक्रम संशाेधन गरी विद्यार्थीलाई सानैदेखि व्यवसायमा लाग्न सघाउने पाठ्यक्रम निर्माण गर्छौं।

२३. विपन्न नागरिकका लागि देशका विभिन्न भागमा पूर्ण रूपमा निःशुल्क विद्यालय र निःशुल्क अस्पतालहरूको स्थापना गर्छौं।

२४. ज्येष्ठ नागरिकहरूका लागि घरमै गएर स्वास्थ्य परीक्षण र उपचार गर्ने व्यवस्था गर्छौं।

यदि हामीले जित्यौं भने जनतालाई लाभ हुने यस्ता दर्जनौं कामहरू हामी गर्न सक्छौं। तसर्थ मंसिर ४ गते हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गरी सहयोग गरिदिनुहुन हामी सबैमा हार्दिक अनुरोध गर्दछौं।

बहालवाला मन्त्रीको विज्ञापन
नेपाल सरकारका बहालवाला मन्त्री एवं जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ मंसिर ४ को चुनावमा कुन निर्वाचन क्षेत्रबाट लड्ने भन्ने टुंगो लागिसकेको छैन। तर, उनले फेसबुकमा पैसा तिरेर आफ्नो विज्ञापन गर्ने गराउने कार्य भने नियमित रूपमा गरिरहेका छन् ।

मन्त्री श्रेष्ठले फेसबुकमा ‘माननीय राजेन्द्रप्रसाद श्रेष्ठको पहलमा भएका कार्य’को विज्ञापनका लागि सुरज महर्जनमार्फत बेग्लाबेग्लै आईडीबाट ३ सय डलर खर्च गरेका छन्।

त्यसैगरी मन्त्री श्रेष्ठले मन्त्री हुँदा ठूलो, मन्त्री नहुँदा सानो हुन्न भन्ने भिडिओका लागि सय डलर खर्च गरेका छन्। नेपाल बोकेको पार्टी जसपा मात्र हो भन्ने अर्को भिडिओ, संसदमा  ०७६ सालमा गरेको सम्बाेधनलगायतका भिडिओ पनि अहिले सय डलरका दरले विज्ञापन गराएका छन्।  यसो गर्दा श्रेष्ठका लागि मात्रै फेसबुकमा झन्डै हजार डलर खर्च भइसकेको देखिन्छ।

जापानी येनमा ओलीको प्रचार
फेसबुकमा एउटा केपी ‘ओली सपोर्टर’ आईडी छ। यो समूहले पनि बेलाबखत केपी ओलीका लागि पैसा तिरेर फेसबुकमा विज्ञापन गर्ने गरेको देखिन्छ। गत भदौमा केपी ओली सपोर्टरबाट करिब ४ सय जापानी येनमा तीनवटा सामग्रीको विज्ञापन गरिएको थियो।

सन् २०२२ जुन २२ मा स्पोन्सर्ड गरिएका सामग्रीमा ‘केपी शर्मा ओली प्राइमिनिस्टर अफ नेपाल’ उल्लेख छ (हेर्नुहोस् माथिको स्क्रिनसट)

निर्वाचनको तिथि नजिकिँदै जाँदा नेताहरूले बिस्तारै फेसबुकलाई पैसा तिरेर आफ्नो प्रचारप्रसार एवं विज्ञापन गर्न थालेका हुन्। नेताहरूले स्वदेशबाटै डलर तिरेर स्पोन्सर्ड गर्नेदेखि लिएर विदेशमा रहेका आफ्ना सहयोगीमार्फत पनि फेसबुकलाई पैसा तिर्ने गरेको बुझिएको छ।

त्यसो त आफ्नो समर्थनमा मात्र होइन, विरोधमा पनि फेसबुकलाई पैसा तिरेर विज्ञापन गर्ने गरेको पाइएको छ। गत जुलाईमा पूर्वराजदूत नीलाम्बर आचार्यले बोलेको विषयमा ‘द मर्निङ शो नेपाल’ले एउटा सामग्री विज्ञापन गरेको छ।

‘नरेन्द्र मोदीले प्रचण्डसँग भेट्न चाहेनन्, कूटनीतिक भिन्नता हुन सक्छ : नीलाम्बर आचार्य’ शीर्षकको उक्त सामग्री सय अस्ट्रेलियन डलर तिरेर विज्ञापन गरेको देखिन्छ।

फेसबुकको खर्च उम्मेदवारलाई बोकाउने निर्वाचन आयोगको तयारी
अहिलेसम्म नेपालका कुनै पनि उम्मेदवारले फेसबुकमा डलर तिरेर गरिएको विज्ञापनको खर्च निर्वाचन आयोगमा बुझाउन पर्दैनथ्यो। चुनाव सकिएपछि आयोगमा अनिवार्य रूपमा निर्वाचन खर्च बुझाउनुपर्ने कानुनी व्यवस्था रहे तापनि फेसबुकलाई तिरिने रकम निर्वाचन खर्चमा पर्दैनथ्यो। तर, मंसिर ४ को चुनावमा उम्मेदवार वा उनका सहयोगीले फेसबुकलाई तिरेको डलरसमेत निर्वाचन खर्चमा गाभिने आयोगले जनाएको छ।

निर्वाचन आयोगका एक अधिकारीले नेपालखबरसँग भने, ‘फेसबुकमा विज्ञापन गर्नका लागि तिरिएको रकम पनि पारदर्शी हुनुपर्छ। आयोगमा निर्वाचन खर्चको विवरण बुझाउँदा सामाजिक सञ्जाललाई कति पैसा तिरिएको छ भन्ने पनि अब हामी हेर्छौं।’

सामाजिक सञ्जालबाट पैसा तिरेर चुनाव प्रचार गर्न पाउनु उम्मेदवारको अधिकारभित्रै पर्ने विषय भए तापनि यसमा गरिने खर्च पारदर्शी हुनुपर्ने र निर्वाचन खर्चको सीमाबाहिर जान नपाइने आयोगको भनाइ छ। साथै विदेशबाट त्यसरी उम्मेदवारका लागि विज्ञापन गर्न नपाइने आयोगले जनाएको छ।

यसरी डलर तिरेर चुनाव प्रचार गर्दा राष्ट्रको धन विदेशिने र देशलाई घाटा लाग्ने कतिपय राष्ट्रवादी नेताको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .