ad ad

राजनीति


न्युयोर्कमा परराष्ट्र सचिव पौड्यालले भने : असंलग्न आन्दोलनप्रति नेपाल प्रतिबद्ध छ

न्युयोर्कमा परराष्ट्र सचिव पौड्यालले भने : असंलग्न आन्दोलनप्रति नेपाल प्रतिबद्ध छ

नेपालखबर
असोज ६, २०७९ बिहिबार १९:१०, काठमाडौँ

परराष्ट्र सचिव भरतराज पौड्याल असंलग्न आन्दोलन (नन अलाइन्ड मुभमेन्ट) मा आबद्ध देशका मन्त्रीहरुको बैठकमा सहभागी भएका छन्। 

अमेरिकाको न्युयोर्कमा आयोजित असंलग्न आन्दोलनमा आबद्ध देशका मन्त्रीहरुको बैठकमा नेपालका तर्फबाट सचिव पौड्यालले भाग लिएका हुन्। उनले असंलग्न आन्दोलनको एक संस्थापक मुलुक हुनुका नाताले नेपालको अटुट प्रतिबद्धता दोहोर्याए। 

‘शान्ति र समृद्धि हासिल गर्ने असंलग्न आन्दोलनका साझा आकांक्षा पुरा गर्न नेपाल प्रतिबद्ध छ’ पौड्यालले भने। 

बैठकलाई सम्बोधन गर्दै सचिव पौड्यालले कोरोना महामारी र जलवायु परिवर्तनले विकासशील र न्यून आय भएका मुलुकलाई पारेको नकारात्मक असरबारे चर्चा गरे। महामारी र जलवायु परिवर्तनका चुनौति पार गर्न असंलग्न आन्दोलनको भूमिका हुनुपर्नेमा उनले जोड दिए।  

‘महामारीपछिका चुनौति सामनाका लागि असंलग्न आन्दोलनले रेखाचित्र कोर्नुपर्छ’ उनले भने।

सचिव पौड्यालले आम जनताको जीवनस्तर उकास्न र सबैलाई बराबरी अवसर हुनेगरी असंलग्न आन्दोलनले योगदान दिनुपर्ने उल्लेख गरे। अर्को प्रसंगमा उनले विश्वब्यापी वित्तिय सुशासन प्रणालीमा सुधार ल्याउनुपर्ने बताए। 

‘अन्तर्राष्ट्रिय वित्तिय संस्थाहरु अझ बढी लोकतान्त्रिक, समावेशी र प्रभावकारी बनाइनुपर्छ’ उनले भने। 

सचिव पौड्यालले असंलग्न आन्दोलनले सदस्य देशका सार्वभौम समानता र राजनीतिक स्वतन्त्रताको सवाल प्रवर्द्धनमा काम गर्नुपर्ने बताए।

‘न्यायिक र समतामुलक विश्व निर्माणका लागि असंलग्न आन्दोलनले आफूलाई उभ्याउनुपर्छ, जहाँ जनताको सम्मानजक जीवको सुनिश्चिता होस्’ उनले भने। 

सचिव पौड्याल राष्ट्रसंघ मुख्यालयमा जारी ७७ औं राष्ट्रसंघीय महासभामा नेपालका तर्फबाट प्रतिनिधित्व गरिरहेका छन्। 

विगतमा प्रधानमन्त्री, वरिष्ठ मन्त्री वा परराष्ट्रमन्त्रीका तहबाट नेपालले राष्ट्रसंघीय महासभामा सहभागिता जनाउने गरेपनि यसपटक सचिव पौड्यालको नेतृत्वमा सरकारी टोली न्युयोर्क गएको छ। 

सचिव पौड्याल संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी विदेश प्रतिनिधिका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको रिसेप्सनमा पनि सहभागी भएको न्युयोर्कस्थित नेपाली स्थायी नियोगले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .