ad ad

राजनीति


पुरानै एजेन्डामा सहमति जुटाउँदै सकियो नेपाल-भारत जलस्रोत बैठक

पुरानै एजेन्डामा सहमति जुटाउँदै सकियो नेपाल-भारत जलस्रोत बैठक

नेपालखबर
असोज ८, २०७९ शनिबार १८:४६, काठमाडौँ

भारत–नेपाल सचिवस्तरीय संयुक्त जलस्रोत समितिको नवौँ बैठक विभिन्न सात बुँदे समझारी गर्दै काठमाडौंमा सकिएको छ। 

भारत–नेपाल सचिवस्तरीय संयुक्त जलस्रोत समितिको नवौँ बैठक भारत सरकार जलशक्ति मन्त्रालय अन्तर्गतको जलस्रोत, नदी विकास एवम् गंगा संरक्षण विभागका सचिव पंकज कुमार र नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव श्री सागर राईको सह–अध्यक्षतामा सकिएको हो। 

दुई देशको जलस्रोत सचिवस्तरीय संयन्त्र जेसीडब्लूआरले महाकाली सन्धि, गण्डक तथा कोसी सम्झौता कार्यान्वयन र अन्य  नदीको पानी व्यवस्थापनलाई मुख्य मुद्दा बनाएर छलफल गर्दै आएको छ।

यो पटक पनि दुई देशले पुरानै एजेन्डामा छलफल गरेर लिखित सहमति गरेका हुन्। दुवै पक्षबाट नयाँ एजेन्डा नआएको अवस्थामा पुरानै मुद्दालाई कार्यान्यवयन गर्ने गरी अर्को सहमति भएको हो। 

बैठकमा भारत र नेपालबीच जलस्रोतका क्षेत्रका सहकार्यबारे बृहत छलफल हुनुका साथै महाकाली सन्धिको कार्यान्वयन, सप्तकोशी परियोजना र बाढी तथा डुबान नियन्त्रणमा भएका सहकार्यबारे कुरा भएको छ। 

डुबान तथा बाढी व्यवस्थापन संयुक्त समिति, कोशी तथा गण्डकी संयुक्त समितिलगायतका द्विपक्षीय समितिले गरेका प्रगतिबारे पनि बैठकमा छलफल भएको दुवै पक्षले जनाएका छन्। 

त्यस्तै माथिल्लो तटीय परियोजना, परियोजनाको जलमग्न क्षेत्र साथै सामाजिक, वातावरणीय तथा प्राविधिक पक्षलाई समेत ध्यानमा राखेर सप्तकोशी उच्च बाँध परियोजनालाई थप अध्ययन गरी अगाडि बढाउने सहमति भएको बताइएको छ। विज्ञहरूको संयुक्त टोलीको बैठक चाँडै हुने बताइएको छ।

यो बैठकमा सन् २०२२ अप्रिलमा नेपालका प्रधानमन्त्री रबहादुर देउवाको भारत भ्रमणको क्रममा जारी गरिएको ऊर्जा क्षेत्र सहकार्यसम्बन्धी भारत–नेपाल संयुक्त भिजन विज्ञप्तिबारे पनि कुरा भएको  थियो। 

जलस्रोत सम्बन्धी संयुक्त समितिले पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रुप दिन विज्ञ टोलीको समयावधि सन् २०२३ मार्चसम्म थप्नुका साथै विज्ञ टोलीको चौथौं बैठक सकेसम्म चाँडै गर्ने कुरामा सहमति भएको दुवै पक्षले जनाएका छन्। 

देउवाको भारत भ्रमणका बेला दुवै देशका प्रधानमन्त्रीले आ–आफ्ना देशका सम्बन्धित अधिकारीलाई परियोजनाको प्रतिवेदन यथासक्य चाँडै तयार पार्न निर्देशन दिएका थिए।

बैठकमा नेपाललाई सिंचाइ, बाढी व्यवस्थापन, डुबान नियन्त्रण, नदीको बाँध निर्माण लगायतका क्षेत्रमा सहयोग गरेकोमा नेपाली पक्षले भारतको सराहना गरेको बताइएको छ। 

भारतीय पक्षले दुई देशबीचको अद्वितीय सम्बन्ध र आपसी हितका लागि जलस्रोतको उचित व्यवस्थापन र उपयोगको महत्वबारे प्रकाश पारेको थियो। 

बैठकपछि जलस्रोत सचिव पंकज कुमारले ऊर्जा तथा सिंचाइमन्त्री श्री पम्फा भुसालसँग शिष्टाचार भेट गरे। 

जलस्रोत सचिव कुमारले नेपालका प्रधानमन्त्री देउवासँग आइतवार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। 

यस बैठकअघि ०७९ आश्विन ५–६ गते गंगा बाढी नियन्त्रण आयोग, पटनाका अध्यक्ष एमके श्रीनिवास र नेपाल जलस्रोत मन्त्रालयका सह–सचिव शिशिर कोइरालाको सह–अध्यक्षतामा भारत–नेपाल संयुक्त स्थायी प्राविधिक समितिको सातौँ बैठक भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .