प्रतिनिधि सभा र प्रदेश सभाको सिट बाँडफाँटका लागि निर्णायक भन्दै बुधबार बिहानदेखि बसेको गठबन्धनका शीर्ष नेता र कार्यदलको बैठक अझै जारी छ।
पाँच दलका शीर्ष नेता, गठबन्धन र कार्यदल बैठकका लागि बिहानैदेखि प्रधानमन्त्री निवास बालुवाटारमा छन्।
बिहान चिया खाएर सुरु भएको बैठक सहमति गराउन साइड वार्तामा बढी केन्द्रित छ। नेताहरु सामूहिक बैठकमा भन्दा साइड टकमा केन्द्रित छन्।
प्रतिनिधि सभाका १६५ सिटको बाँडफाँट सहमति नजिक पुगेको भन्दै बुधबारलाई निर्णायक छलफल राखेको नेताहरुले दाबी गरेका थिए।
सिट बाँडफाँटबारे सहमति गराउने भने पनि बैठक बढी नेताहरुबीच व्यक्ति व्यक्तिको कुरा मिलाउन केन्द्रित रहेको स्रोतले जनाएको छ।
बैठक सुरु भएको १० घण्टा भइसकेको छ। तर, अहिलेसम्म निर्णय गराउने विषयमा प्रवेश नै नभएको स्रोतले उल्लेख गरेको छ।
‘गठबन्धनको बैठक यहाँ चिया खाँदै साइड टक गर्दै बसिरहेको छ,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘बिहान एक चरण चार दलका नेताहरुले द्विपक्षीय र त्रिपक्षीय छलफल गर्नुभएएको थियो। फेरि खाना खाएर छलफल गर्नुभयो।’
खाना खाएर बसेको बैठक पनि विषयवस्तुमा प्रवेश नै नगरी गठबन्धनका नेताबीच एकल र बहुपक्षीय छलफल भएको थियो।
‘अहिलेसम्म पनि छलफल जारी छ, ठोस प्रस्ताव नै पेश भएको छैन,’ स्रोतले थप्यो, ‘बाहिर सिटका लागि मारामार छ जस्तो परेको होला तर, अहिलेसम्म बैठकमा ठोस प्रस्ताव नै पेश भएको छैन।’
बैठकमा चिया खाने, कोही कुर्ने, मोबाइल चलाउने, समाचार हेर्ने गर्दै केही नेताहरु बसिरहेका छन्।
गठबन्धनले सिट बाँडफाँटबारे सहमतिको मस्यौदा बनाउन ११ सदस्यीय कार्यदल बनाएका थिए। कार्यदल संयोजक कांग्रेसका नेता कृष्ण सिटौला छन्।
'अहिले यहाँ केही भएको छैन भनौ भने नेताहरु र हामी बालुवाटार भित्रै छौँ। तर ठोस् रुपमा विषयबस्तुमा प्रवेश नै भएको छैन, चिया खाने, खाना खाने फेरि खाजा र अहिले चिया खाइरहेका छौँ,’ एक नेताले भने।
प्रतिक्रिया