राजनीति


कुलमान काठमाडौं ३ मा साझा उम्मेदवार बन्ने सम्भावना

कुलमान काठमाडौं ३ मा साझा उम्मेदवार बन्ने सम्भावना

नेपालखबर
असोज १४, २०७९ शुक्रबार १६:२५, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ काठमाडौं क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बन्ने सम्भावना बढेको  छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव र प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समर्थनमा घिसिङ गठबन्धनको साझा उम्मेदवार बन्न लागेको बुझिएको छ।

घिसिङ काठमाडौं क्षेत्र नम्बर ३ अन्तर्गत बौद्धका बासिन्दा हुन्। यो क्षेत्रमा घिसिङको गृहजिल्ला रामेछाप र काभ्रेबाट आएका मानिसको बाक्लो बसोबास छ।

प्रचण्डले सुरुमा पार्टीकै उम्मेदवारका रुपमा घिसिङलाई अघि सार्ने संकेत दिएका भए पनि घिसिङ काठमाडौं ३ मा गठबन्धनको साझा उम्मेदवारका रुपमा स्वतन्त्र चुनाव चिह्न लिएर चुनावमा जान चाहेको माओवादीका एक नेताले बताए।

‘काठमाडौं ३ कांग्रेसले दाबी गरेको भए पनि कुलमान घिसिङलाई साझा उम्मेदवार बनाउन सकिने अवस्था छ’, ती नेताले भने।

अहिले काठमाडौं ३ कांग्रेस र काठमाडौं २ माओवादीले लिनेगरी गठबन्धनको बैठकमा छलफल भए पनि घिसिङले स्वतन्त्र रुपमा ३ मा जान चाहेको अवस्थामा सहमति बन्न सक्ने ती नेताको भनाइ छ।

घिसिङले भने प्राधिकरण छाडेर उम्मेदवार बन्ने कि नबन्ने भन्ने निर्णय सार्वजनिक गरिसकेका छैनन्। काठमाडौं ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने चर्चाबारे पनि उनी अहिले नै खुल्न चाहेनन्।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको हैसियतमा लोडसेडिङ अन्त्य गर्न खेलेको निर्णायक भूमिकाका कारण कुलमान घिसिङको छवि लोकप्रिय छ।

केपी ओली प्रधानमन्त्री छँदै प्राधिकरणको कार्यकारी निर्देशकको पहिलो कार्यकाल सकिएपछि घिसिङलाई दोस्रो कार्यकालका लागि नियुक्ति दिन व्यापक जनदबाब थियो। तर ओलीले उनलाई दोस्रो कार्यकालका लागि ल्याउन चाहेनन्।

देउवा प्रधानमन्त्री बनेपछि दोस्रोपटक कार्यकारी निर्देशक बनेका घिसिङले भारत र बंगलादेशसँग विद्युत् व्यापारमा जोड दिएका छन् भने देशभरका महानगर र नगरहरूसँग सहकार्य गर्दै सहरहरूमा ट्राफिक लाइट जडान गराइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad