राजनीति


चीनका प्रधानमन्त्री लीले देउवालाई पठाए राजदूतमार्फत यस्तो सन्देश

चीनका प्रधानमन्त्री लीले देउवालाई पठाए राजदूतमार्फत यस्तो सन्देश

फाइल फाेटाे : चीनका प्रधानमन्त्री ली खछ्याङ


नेपालखबर
असोज १९, २०७९ बुधबार १६:१४, काठमाडौँ

चीनका प्रधानमन्त्री ली खछ्याङले आफ्नो मुलुकले नेपालसँगको सम्बन्ध थप प्रगाढ बनाउन चाहेको बताएका छन्। 

बेइजिङस्थित नेपाली राजदूत विष्णु पुकार श्रेष्ठसँग हालै भएको भेटमा चिनियाँ प्रधानमन्त्री लीले आफ्नो देश र नेपालबीचको सम्बन्धबारे कुरा गरेका हुन्। 

चीन सरकारले हरेक वर्ष अक्टोबर १ मा जनवादी गणतन्त्र चीन स्थापनाका अवसरमा सेप्टेम्बर ३० का दिन विशेष कार्यक्रम आयोजना गरेको थियो। त्यही अवसरमा नेपाललगायत विभिन्न मुलुकका राजदूतहरूलाई डाकिएको थियो। चिनियाँ प्रधानमन्त्री लीले सबै राजदूतसँग एक्लाएक्लै भेटेर छोटो कुराकानी गरेका थिए। 

‘चिनियाँ प्रधानमन्त्रीसँग एक्लै छोटो कुराकानी गर्ने मौका मिल्यो। उहाँले नेपालसँग चीनको सम्बन्ध सुमधुर रहेको र अबका दिनमा त्यसलाई अझ प्रगाढ बनाउन चाहेको बताउनुभयो’, राजदूत श्रेष्ठले नेपालखबरसँग टेलिफोनमा भने। चिनियाँ प्रधानमन्त्री लीले नेपाललाई सबै खालका सहयोग गर्न चीन तयार रहेको पनि बताएका थिए। 

भेटमा राजदूत श्रेष्ठले चीनसँग असल र मित्रवत् सम्बन्ध रहेको र त्यसलाई नेपालले अझ बलियो बनाउन चाहेको कुरा चिनियाँ प्रधानमन्त्रीलाई बताएका थिए। ‘हाम्रो सम्बन्ध राम्रो छ। यसमा निरन्तरता छ। यसलाई थप राम्रो बनाऔं’, श्रेष्ठले भेटमा भने। 

श्रेष्ठले चिनियाँ प्रधानमन्त्रीलाई प्रधानमन्त्री देउवाले चिनियाँ कम्युनिस्ट पार्टी र जनताका लागि आसन्न चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनको सफलताको कामना गर्दै पठाएको सन्देश पनि सुनाए। 

राजदूत श्रेष्ठका अनुसार प्रत्युत्तरमा चिनियाँ प्रधानमन्त्री लीले भने, ‘तपाईंका प्रधानमन्त्रीलाई पनि मेरो सन्देश सुनाइदिनुहोला। नेपाल सरकार र जनताप्रति हाम्रो पूरापूर शुभेच्छा छ। सबै खालको सहयोग गर्न चीन तयार छ भन्ने मेरो सन्देश सुनाइदिनुहोला।’ 

निर्वाचन नजिकिँदै गर्दा नेपालको राजनीतिक परिस्थितिलाई चीनले नजिकबाट नियालिरहेको बताइएको छ। नेपालमा अमेरिकाको भूराजनीतिक सक्रियताबीच छिमेकी चीनका तर्फबाट एकपछि अर्को उच्चस्तरीय भ्रमण भइरहेका छन्। 

गत फेब्रुअरीमा नेपालको संसदले अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौता अनुमोदन गरेको एक महिनापछि नै चीनबाट परराष्ट्रमन्त्री वाङ यी नेपाल आएका थिए। त्यसैगरी गत जुन दोस्रो साता चिनियाँ विदेश विभागका नवनियुक्त प्रमुख लिउ छियान्छाओले नेपाल भ्रमण गरेका थिए। 

सेप्टेम्बर दोस्रो साता चीनका प्रभावशाली नेता ली चान्सु नेपाल भ्रमणमा आएका थिए। ठीक यही बेला चीनले नेपालमा नयाँ राजदूत पठाउने तयारी गरेको छ। काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छी कार्यकाल पूरा गरी चाँडै फर्किने सुरसारमा छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad