राजनीति


गठबन्धनले कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्न सकेन

गठबन्धनले कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्न सकेन

फाइल फोटो


नेपालखबर
असोज २०, २०७९ बिहिबार २०:३, काठमाडौँ

बिहीबार बिहान ८ बजेदेखि सत्तारुढ गठबन्धन दलको बैठक बसिरहेपछि नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्न सकेन।

बिहानैदेखि शीर्ष नेताहरु मंसिर ४ मा हुने निर्वाचनका लागि सिट बाँडफाँटको हिसाब मिलाउन व्यस्त रहेपछि कांग्रेसको बैठक बस्न नसकेको हो।

आगामी असोज २३ गते प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फ मनोनयन दिनुपर्ने भएकाले उम्मेदवारको टुंगो गर्नका लागि कांग्रेसको बैठक बिहीबार बस्ने तालिका थियो।

तर सिट बाँडफाँट विवाद मिलाउन नसकेर गम्भीर समस्यामा परेको सत्ता गठबन्धनको बैठकले कांग्रेसको बैठक नै रोकिएको हो। 

यसैबीच प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पाँच दलीय गठबन्धनमा निर्वाचन क्षेत्र बाँडफाँट गर्नका लागि बालुवाटारमा निर्णायक वार्ता जारी छ।

पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिम रूप दिन बिहानदेखि निर्णायक वार्ता जारी छ। 

निर्वाचन क्षेत्र बाँडफाँटका लागि केही दिनदेखि दैनिक बसिरहेको बैठकलाई निरन्तरता दिँदै बिहीबारै अन्तिम रूप दिन निर्णायक वार्ता भइरहेको कार्यदलका सदस्य सचिव केशवराज जोशीले बताए।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही असोज २३ गते आइतबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका तोकिएको छ। त्यसअघि गठबन्धनले क्षेत्र बाँडफाँट गरी दलले उम्मेदवार तोक्नुपर्छ। यसका लागि अब दुई दिनमात्र बाँकी छ। 

सत्ता गठन्धनको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेता सहभागी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad