ad ad

राजनीति


एकल सिफारिस हुँदा पनि खिमलालले टिकट पाएनन्

तालमेल भन्दै एमालेले रुपन्देही ५ खाली छाड्यो
एकल सिफारिस हुँदा पनि खिमलालले टिकट पाएनन्

फाइल तस्बिर


सुदीप भण्डारी
असोज २२, २०७९ शनिबार १५:२०, बुटवल

नेकपा एमालेका पोलिट्व्युरो सदस्य खिमलाल भट्टराई २०७४ सालको चुनावमै प्रतिनिधि सभा सदस्यको उम्मेद्वार बन्ने चर्चा थियो। 

त्यसबेला वाम गठबन्धन हुँदा उनको क्षेत्र रुपन्देही ५ माओवादी केन्द्रको भागमा पर्यो। त्यसबेला माओवादीका डिलाराम आचार्य कांग्रेसका भरतकुमार शाहसँग १२ हजार भन्दा बढीको मतान्तरले पराजित भएका थिए। 

त्यसबेला टिकट नपाए पनि अनेरास्वियुका पूर्वकेन्द्रीय अध्यक्ष खिमलाल खाली बस्नुपरेको थिएन। उनी ६ वर्षका लागि राष्ट्रिय सभा सदस्यमा निर्वाचित भए। माथिल्लो सदनमा दलको प्रमुख सचेतक छन्। 

राष्ट्रिय सभामा उनको अझै १६ महिना बाँकी छ। राष्ट्रिय सभाभन्दा खिमलालको रुचि आफ्नो क्षेत्रबाट रुपन्देही ५ बाट चुनाव लड्ने नै हो। 

त्यसका लागि ०७४ को चुनाव सकिएलगत्तै उनले तयारी थालेका थिए। रुपन्देही पश्चिमका कार्यक्रममा बाक्लै सहभागी हुन्थे। 

गत स्थानीय चुनावमा एमालेले रुपन्देही ५ मै पर्ने गैडहवा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जित्यो। एमालेको कमजोर ठाउँ मानिएको लुम्बिनी साँस्कृतिक नगरपालिकामा उपप्रमुखसहित ५ वटा वडा जितेको थियो। यसको जस खिमलाल भटराईलाई नै जाने गरेको छ। 

वडाध्यक्षहरुको मतको आधारमा यो क्षेत्रमा एमाले बलियो देखिएको छ। सत्तापक्षका दल एक भएमा भने गठबन्धन अघि छ। 

रुपन्देही ५ मा एमालेको उम्मेदवारको लागि खिमलाल निर्विकल्प जस्तै मानिन्थे। एमालेको क्षेत्रिय कमिटीले यो क्षेत्रबाट उम्मेद्वारका रुपमा उनको मात्र नाम सिफारिस गरेर पठाएका थिए। 

तर शुक्रबार प्रकाशित एमालेको प्रतिनिधि सभाको उम्मेद्वारको सूचीमा भटराईको नाम छैन। रुपन्देही ५ तालमेलका लागि भन्दै खाली छोडिएको छ। 

यसले उनको क्षेत्रका एमाले कार्यकर्तामा निराशा छाएको छ। सामाजिक सञ्जालमा भट्राईले नै टिकट पाउनुपर्ने भन्दै दबाब दिएका छन्। 

भटराईकै क्षेत्रका एमाले जिल्ला सदस्य सन्जीव गुप्ताले टिकट नपाउँदा निराशा छाएको बताए। 

‘उहाँले टिकट पाउनुभएन भने एकखालको निराशा हुन्छ। कार्यकर्ताहरु अहिले पनि निराश छन्,’ उनले भने ‘बारम्बार नेताहरुलाई झकझकाइरहनुभएको फेसबुकमा लेखिरहनुभएको छ। टिकट पाउनुहुन्छ भन्ने थोरै आशा छ।’ 

खिमलाल २०६२/६३ सालको आन्दोलन ताका अनेरास्वियुको केन्द्रीय अध्यक्ष थिए। पार्टीमा उनी पहिलेबाटै केपी ओलीनिकट हुन्। 
प्रतिनिधि सभाको चुनावी प्रतिस्पर्धामा भाग लिन नपाए पनि उनी अहिले राष्ट्रिय सभामा दलको प्रमुख सचेतक छन्। 

राष्ट्रिय सभामा एमालेको एउटा सिट खाली हुने भएकाले खिमलाललाई प्रतिनिधि सभामा नपठाइएको हुन सक्ने एक जिल्ला नेताले बताए। 

‘राष्ट्रिय  सभामा अझै १६ महिना बाँकी छ। प्रतिनिधि सभामा लड्न तुरुन्तै राजिनामा दिन पर्यो। त्यसको ३० दिन भित्र चुनाव गराउनुपर्छ,’ उनले भने ‘गठबन्धनका कारण राष्ट्रिय सभाको चुनाव हार्न सकिन्छ। चुनाव अघि हारेको नराम्रो म्यासेज जाला भनेर पार्टीले सोचेको होला।’ 

एमालेले रुपन्देहीको ४ र ५ तालमेलको लागि भन्दै उम्मेद्वारको टुंगो लगाएको छैन। क्षेत्र नम्बर ४ जसपाको भागमा जाने निश्चित छ। ५ जसपा वा एमालेकै अरु कसैले पाउन सक्ने छन्।  

रुपन्देही ५ कांग्रेसका भरतकुमार शाहले ३ पटक जितेको क्षेत्र हो। उनले २०५६, २०७० र २०७४ को चुनाव जितेका छन्। यो पटक पनि शाह उम्मेद्वार बन्दै छन्। खिमलालले टिकट नपाएमा शाहको लागि थप सहज हुने विश्लेषण गरिएको छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .