ad ad

राजनीति


रुपन्देही २ : विष्णुसँग भिड्दै उनकै सहयोगी, राजुले गर्लान् चमत्कार?

समाजवादीलाई कांग्रेस र माओवादीकै भर
रुपन्देही २ : विष्णुसँग भिड्दै उनकै सहयोगी, राजुले गर्लान् चमत्कार?

एमाले उपाध्यक्ष विष्णु पौडेल र उनकै सहयोगी राजु गुरुङबीच रुपन्देही २ मा प्रतिस्पर्धा हुँदैछ। तस्बिर : नेपालखबर


सुदीप भण्डारी
असोज २४, २०७९ सोमबार १४:३८, रुपन्देही

बुटवल र आसपास समेटिएको अहिलेको रुपन्देही क्षेत्र नम्बर २ मा २३ वर्षअघि विष्णु पौडेलको प्रवेश भएको हो। 

त्यसबेला उनका पहिलो प्रतिस्पर्धी कांग्रेसका सूर्यप्रसाद प्रधान थिए। २०५६ सालको संसदीय चुनावमा पौडेल प्रधानसँग पराजित भए।

यससँगै पौडेलले प्रधानसँग लगातार तीन पटक प्रतिस्पर्धा गरे। 

२०६४ र २०७० सालको संविधानसभाको चुनावमा प्रधानलाई पौडेलले पराजित गरे। 

पहिलो संविधानसभामा तत्कालीन नेकपा माओवादीका भक्ति पाण्डेलाई झिनो मतले हराएका पौडेलले प्रधानलाई तेस्रो स्थानमा धकेलिदिए।

०७० सालमा पौडेलसँग प्रतिस्पर्धा गर्न तत्कालीन माओवादीका बाबुराम भटराई आए। भट्राईलाई तेस्रो स्थानमा घचेटेर पौडेलले प्रधानलाई फेरि पराजित गरे।  

सूर्यप्रसाद प्रधानको निधनपछि २०७४ सालको संसदीय चुनावमा विष्णु पौडेलले कांग्रेसका नयाँ प्रतिस्प्रर्धी युवराज गिरीलाई पाए।

उक्त चुनावमा माओवादी केन्द्रको समेत समर्थन पाएका पौडेलले गिरीलाई २२ हजार भन्दा बढी मतले पराजित गरे। 

तर यो पटकको चुनावमा पौडेलसँग नयाँ प्रतिस्पर्धीसँग नयाँ चुनौती पनि छन्। 

अघिल्लो चुनावमा साथ दिएको माओवादी केन्द्र आँफूसँग छैन। आफ्नै पार्टी पनि विभाजन भएको अवस्था छ।

अर्कोतर्फ एमालेबाटै विभाजित पार्टीका उम्मेदवारसँग आफूले प्रतिस्पर्धा गर्नुपरेको छ। जसलाई अरु चार पार्टीको पनि समर्थन छ। 

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका राजु गुरुङ सत्ता गठबन्धनबाट उम्मेदवार छन्। जसले विगतका ४ वटा चुनावमा विष्णु पौडेललाई सघाएका थिए। 

एमालेमा रहँदा गुरुङ माधव नेपालनिकट थिए। २०७७ पुसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि माधव–प्रचण्ड समूहसँग उनी पनि आन्दोलनमा लागेका थिए। 

त्यतिबेला नै आफ्नो भाषणका क्रममा अब विष्णु पौडेलसँग प्रतिस्पर्धा गर्ने उद्घोष गरेका थिए। एमाले फुटेदेखि नै गुरुङले रुपन्देही २ बाट उठ्ने तयारी थालेका थिए। 

सत्ता गठबन्धनको भागबण्डामा यो क्षेत्र कसले लिने टुंगो नभइसक्दै उनले सामाजिक सञ्जालमा प्रचार प्रसार गरेका थिए। 

अन्य ठाउँमा एकीकृत समाजबादीले आफ्ना निवर्तमान सांसद र शीर्ष नेताका ठाउँ सुरक्षित गरेको थियो। तर, रुपन्देही २ बाट टिकट पाउने राजु गुरुङ निवर्तमान सांसद र केन्द्रीय पदाधिकारी दुवै होइनन्। 

पुराना सारथि
तर पनि रुपन्देहीका ५ क्षेत्र भएकाले एकीकृत समाजवादीलाई भागबण्डामा एउटा क्षेत्र पाउन सहज भयो।   

राजु गुरुङ विगतमा विष्णु पौडेललाई साथ दिएका कार्यकर्ता हुन्। हाल एमाले उपाध्यक्ष रहेका पौडेलसँग लड्न रुपन्देही क्षेत्र नम्बर २ बाट सत्ता गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका छन्। 

लगातार चुनाव जितिरहेका ‘हाइ प्रोफाइल’सँग चुनाव लड्न राजुलाई त्यति सहज छैन। बुटवलमा एमालेको संगठन बलियो छ। 

एकीकृत समाजवादी निकै कमजोर देखिन्छ। गठबन्धनको मुख्य घटक कांग्रेसको सबै मत पनि राजुको पक्षमा जाला भन्ने अवस्था छैन।

आइतवार उम्मेदवारी दर्ताका क्रममा गुरुङ आशावादी नै देखिएका थिए। उनले आफ्नो उम्मेदवारी पुस्तान्तरणको लागि भएको बताए। 

‘बुटवल र रुपन्देहीलाई बदल्न मेरो उम्मेदवारी हो’, उनले भने, ‘एउटै मान्छे निरन्तर र स्थायी नेता बन्ने प्रक्रियामा क्रमभंग गर्न र पुस्तान्तरणका लागि उठेको छु।’ 

गत स्थानीय चुनावमा बुटवल उपमहानगरपालिकामा कांग्रेस र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो। 

कांग्रेसले मेयर जिते पनि एकीकृत समाजवादीबाट उपमेयरका उम्मेदवार पराजित भएका थिए। तर उनले गत वैशाखमा भएको स्थानीय चुनावमा गठबन्धन सफल भएको बताए। 

आफ्नो पार्टीका उपमेयरका उम्मेदवार प्राविधिक रुपमा मात्रै पराजित भएकाले यस पटक पनि गठबन्धनले जित्ने दाबी गुरुङले गरे। 

पौडेलका चुनौती 
हालको रुपन्देही २ मा पाँचौँ पटक प्रतिस्प्रधा गर्न लागेका विष्णु पौडेलको लोकप्रियता पहिले जस्तो छैन। उनले सफाइ पाइसकेको काठमाडौंको बालुवाटारस्थित ललिता निवासको जग्गाकाण्ड र बुटवलमा प्रदेश राजधानी राख्न नसकेको विषयलाई विपक्षीले उनीविरुद्ध चुनावी एजेण्डा बनाउन सक्छन्।  

उनको क्षेत्रमा पर्ने बुटवल उपमहानगरपालिकामा कांग्रेसले मेयरसहित अधिकांश वडा जितेको छ। 

रुपन्देही २ मा कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरुले कुल ३४ हजार ९५९ मत पाउँदा एमालेका वडाध्यक्षका उम्मेदवारले ३३ हजार १८७ मत पाएका थिए। 

माओवादी केन्द्रको ३ हजार १८८ र एकीकृत समाजवादीको १ हजार ३८२ मत छ। गठबन्धन दल एक हुँदा पौडेललाई झन् कठिन देखिन्छ। 

तर पार्टीको व्यवस्थित संगठन र व्यक्तिगत प्रभावले पुन पौडेल विजयी हुने एमालेको दाबी छ।

मनोनयनका क्रममा एमाले उम्मेदवार विष्णु पौडेलले स्थानीयको नतिजाले अहिले फरक नपार्ने तर्क गरे।एमालेका बलिया उम्मेदवामध्येका एक पौडेलले आफूले गरेको विकासका कामका आधारमा यस क्षेत्रका जनताले विश्वास गर्ने र विजयी बनाउने दाबी गरे। 

‘स्थानीय चुनावपछि तिनाउ नदीमा धेरै पानी बगिसक्यो भन्ने कुरा तपाईंहरूलाई बढी थाहा छ’, मनोनयनका क्रममा पौडेलले पत्रकारसँग भने, ‘हामीले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्दै आएका छौँ। भोलि पनि पूरा गर्नेछौँ। यो कुरा यहाँका जनतालाई विश्वास छ। त्यसआधारमा आफ्नो मत दिनुहुने छ।’

एमालेबाट प्रदेश सभातर्फ रुपन्देही २ ‘क’ मा लीला गिरि र २ ‘ख’ मा भोजप्रसाद श्रेष्ठ दोहोरिएका छन्। 

उनीहरु निवर्तमान प्रदेश सांसदसमेत हुन्। गठबन्धनबाट २ ‘क’ मा माओवादी केन्द्रका वामदेव क्षेत्री र २ ‘ख’ मा कांग्रेसका दीर्घबहादुर केशी ‘कुमार’ मैदानमा छन्। 

वामदेव हालै प्रदेश योजना आयोगको उपाध्यक्ष थिए। केसी एन्फाका केन्द्रीय उपाध्यक्ष हुन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .