राजनीति


विजय गच्छदारको उम्मेदवारी खारेजी माग गर्दै आयोगमा उजुरी

विजय गच्छदारको उम्मेदवारी खारेजी माग गर्दै आयोगमा उजुरी

फाइल तस्बिर


नेपालखबर
असोज २४, २०७९ सोमबार १५:६, काठमाडौँ

ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपित नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको उम्मेदवारीविरुद्ध उजुरी परेको छ। 

सोमबार एक युवाले सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका गच्छदारविरुद्ध निर्वाचन कार्यालयमा उजुरी दर्ता गरेका हुन्। 

काठमाडौं ७ बस्ने युवा विवेक अधिकारीले भ्रष्टाचारको मुद्दा खेपिरहेका गच्छदारसँग चुनाव लड्ने नैतिकता नभएको भन्दै उम्मेदवारी खारेजी माग गर्दै आयोगमा उजुरी दिएका हुन्। 

गच्छदारविरुद्ध उजुरी आएको जानकारी आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताए। उनले उक्त उजुरी निर्वाचन क्षेत्रमा पठाउन निर्देशन दिएका छन्। 

आयोगले आइतबार उम्मेदवारी दर्ता गराएकाविरुद्ध सोमबार उजुरी आब्हान गरेको थियो। 

त्यहीअनुसार ललिता निवास सरकारी जग्गा प्रकरणमा विशेष अदालतमा १० लाख धरौटी बुझाएर रिहा भएका गच्छदारसँग चुनाव लड्ने नैतिकता नभएको भन्दै उजुरी परेको हो। 

‘भ्रष्टाचार, फौजदारी अभियोग लागेकाहरुले चुनाव लड्न मिल्दैन', उनले भने, 'उनीहरुले चुनाव जिते पनि फैसला नहुन्जेल सांसदसमेत हुन नपाउने भएकोले किन चुनाव लड्नु पर्यो?’

२०७६ साल माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको ठहर गर्दै गच्छदारसहित १७५ जनालाई भ्रष्टाचारको मुद्दा दायर थियो।  

त्यस प्रकरणमा एकजना मुख्य आरोपी गच्छदार १० लाख धरौटीमा रिहा भएका थिए। 

गच्छदारलाई वि.सं.२०६७ सालमा भौतिक, योजना तथा निर्माणमन्त्री भएको बेला सरकारी जग्गा व्यक्तिलाई नामसारी गराएको आरोप छ।

‘गच्छदार पुनः निर्वाचन लड्नु भनेको जनमतको अपमान हो', उजुरीमा भनिएको छ, 'कानुनतः गच्छदारले चुनाव लड्न पाएता पनि निष्कलंक, स्वच्छ र नैतिकवान उम्मेदवार पाउनु जनताको पनि अधिकार हो।’

प्राप्त उजुरी अध्ययन गरी छानबिन गरिने जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .