राजनीति


स्वतन्त्रको इतिहास : सूर्यबहादुर थापादेखि घनश्याम भुसालसम्म

स्वतन्त्रको इतिहास : सूर्यबहादुर थापादेखि घनश्याम भुसालसम्म

केशव सावद
असोज २७, २०७९ बिहिबार १२:११, काठमाडौँ

गत बैशाखको स्थानीय निर्वाचनमा काठमाडौं, धरान र धनगढीको मेयर पद स्वतन्त्रले जितेपछि आसन्न आम निर्वाचनमा पनि स्वतन्त्रको माहौल खडा हुने धेरैको अनुमान थियो । तर, एमाले नेताहरुको घनश्याम भुसाल, प्रभु साह र माओवादीका हेमराज भण्डारीजस्ता नेताहरु नै ‘स्वतन्त्र’ उम्मेदवार बन्न आइपुग्लान् भन्ने धेरैले अनुमान गरेका थिएनन् ।    

चुनावी प्रतिस्पर्धामा पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापाको ‘इन्ट्री’ स्वतन्त्र उम्मेदवारकै रुपमा भएको थियो । विसं २०१५ को चुनावमा निर्वाचन क्षेत्र नम्बर २२ धनकुटा (दक्षिण–पश्चिम) बाट थापाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । सो चुनावमा नेपाली कांग्रेसका उम्मेदवार लीलानाथ पाध्या ३२०९ मतका साथ विजयी बने भने स्वतन्त्र उम्मेदवार सूर्यबहादुर थापा निकटतम प्रतिद्वन्द्वीका रुपमा २००३ मत पाएर दोस्रो बने । धनकुटामा नेकपाका उम्मेदवार भरतराज जोशीले १८७९ मत पाए भने नेपाल प्रजातान्त्रिक महासभाका उम्मेदवार रामकृष्ण प्रधान १३७० पाएउकबा थिए । अर्का स्वतन्त्र उम्मेदवार लोकराज राईले ११२४ ल्याएका थिए ।

स्वतन्त्रबाट पहिलोपटक चुनाव लडेका थापाको राजनीतिक यात्रा भने नेपाली राष्ट्रिय कांग्रेसको केन्द्रीय सदस्यका रुपमा भएको हो। नेपाली राष्ट्रिय कांग्रेसमा लाग्नुका पछाडि ऋषिकेश शाहसँगको मित्रताले ठूलो भूमिका खेलेको हालै प्रकाशित उनको पुस्तक ‘सूर्यबहादुर थापा’ मा उल्लेख छ।

‘सूर्यप्रसाद उपाध्यासँग स्कुल जीवनदेखि नै मेरो चिनजान थियो। म नेपाल फर्किँदा उनी मन्त्री भइसकेका थिए। पुरानो सामीप्यका कारण उनीसँग भेटघाट भइरहन्थ्यो। सुवर्ण शमशेरसँग पनि एक खालको सामीप्य थियो। दुवैले मलाई नेपाली कांग्रेसको सदस्य बन्न जोड गरेका थिए’ सूर्यत्रबहादुरको पुस्तकमा लेखिएको छ, ‘सुवर्णले रातो बेन्जो कार मलाई लिन पठाएका थिए। उनले बाउबाजेदेखिको सम्बन्ध जोड्दै नेपाली कांग्रेसको सदस्यता लिन सम्झाएका थिए। उनले फाइदाको सूची पनि देखाए। मैले धेरै सोचविचार गरेर ऋषिकेश शाहलाई धोका दिन नहुने टुंगोमा पुगें ।’

तर, शाहबाट धोका पाएपछि उक्त पार्टी परित्याग गरेको र पछि सुवर्ण र सूर्यप्रसादको आग्रहमा नेपाली कांग्रेसको सदस्यता लिएको पनि उनको पुस्तकमा उल्लेख छ। ‘नेपाली राष्ट्रिय कांग्रेस परित्याग गरेपछि म धनकुटामै थिएँ। फेरि सुवर्ण शमशेर र सूर्यप्रसाद उपाध्यायहरुले कांग्रेसमा संलग्न हुन आग्रह गरे। दाइहरुले पनि कुनै न कुनै पार्टीमा लागेर राजनीतिमा स्थान बनाउनुपर्छ भनी सल्लाह दिए। त्यसैले म नेपाली कांग्रेसको सदस्य भएँ। घरव्यवहार र राजनीति गर्दै जाँदा म धनकुटा कांग्रेसको जिल्ला सभापतिसम्म भएँ ।’  

संसदमा पुगे चार स्वतन्त्र

पहिलो संसदीय निर्वाचन (२०१५) मा देशभरबाट २६८ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए। जसमध्ये ४ जना मात्र निर्वाचित भएका थिए।

निर्वाचन क्षेत्र नम्बर ३७ सप्तरी (पश्चिम)बाट स्वतन्त्र उम्मेदवार हरिहरलाल चौधरी विजयी भएका थिए। उनले ६ हजार १३२ मत प्राप्त गरेका थिए। दोस्रो भएका नेकपाका उम्मेदवार कृष्णराज बर्माले ६ हजार २५ र तेस्रो भएका रामेश्वर सिंहले ४ हजार ९७० मत ल्याएका थिए।

निर्वाचन क्षेत्र नम्बर ४६ मा रामदुलार हरपूर्वा स्वतन्त्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। ५ हजार ४५० मतका साथ उनी निर्वाचित हुँदा निकटतम् प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार भोजराज उपाध्यायले ३ हजार ९९३ मत प्राप्त गरेका थिए। तेस्रो भएका नेपाल राष्ट्रिय गोरखा परिषद्का उम्मेदवार अनुचितराम चौधरीले ३ हजार ७८९ मत ल्याएका थिए।

पहिलो संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका तेस्रो नेता हुन् भीमप्रसाद श्रेष्ठ। उनी निर्वाचन क्षेत्र नम्बर ७३ जुम्ला (उत्तर)बाट २ हजार ८६४ मतसहित विजयी भएका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी नीरविक्रम शाह (स्वतन्त्र)ले १ हजार ९७६ मत पाएका थिए। यो क्षेत्रमा श्रेष्ठसँगै अन्य ६ जना स्वतन्त्र उम्मेदवार थिए।

निर्वाचन क्षेत्र नम्बर ७४ जुम्ला (दक्षिण)बाट जयबहादुर महत क्षेत्री विजयी भएका थिए। ३ हजार १ मतका साथ महत प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा नेपाल राष्ट्रिय गोरखा परिषद्का उम्मेदवार गोरखबहादुरले २ हजार ७८५ मत ल्याएका थिए। 

प्रजातन्त्र पुनर्स्थापनापछिको पहिलो संसदीय निर्वाचन (२०४८) मा २१९ जना स्वतन्त्र उम्मेदवार थिए। ती मध्ये मात्र ३ जना प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। उक्त निर्वाचनमा विजयी हुने स्वतन्त्र उम्मेदवारहरु हुन्– राजदेव गोइत, गोविन्द चौधरी र ओमकारप्रसाद गौचन।  

गोइतले सिराह–४ बाट संयुक्त जनमोर्चा नेपाल (सजमोने)का उम्मेदवार रामकुमार यादवलाई हराउँदै प्रतिनिधिसभाको यात्रा तय गरेका थिए। गोइतले ११ हजार ९१९ मत पाउँदा यादवले ८ हजार ८७२ मत ल्याएका थिए। तेस्रो भएकी कांग्रेस उम्मेदवार बुना रेग्मीले ७ हजार ५९६ मत प्राप्त गरेकी थिइन्।

रौतहट–३ बाट कांग्रेस उम्मेदवार हरिहरप्रसाद यादवलाई हराउँदै चौधरी प्रतिनिधिसभा सदस्य बनेका थिए। उनी १३ हजार ९८७ मतसहित निर्वाचित हुँदा चौधरीले ११ हजार ८३९ मत ल्याएका थिए। तेस्रो भएका नेकपा एमाले उम्मेदवार महादेव साह कलवारको पक्षमा ९ हजार २८७ मत खसेको थियो।

यस्तै बाग्लुङ–३ बाट निर्वाचित स्वतन्त्र उम्मेदवार गोचनले अर्का स्वतन्त्र उम्मेदवार देवीप्रकाश भट्टचनलाई हराएका थिए। गौचन ८ हजार ५८१ मतले प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा भट्टचनले ४ हजार ६९१ मत प्राप्त गरेका थिए। तेस्रो भएका एमाले उम्मेदवार मोहनलाल शर्माको ४ हजार २४४ मत आएको थियो।

नेपालको संसदीय इतिहासमा स्वतन्त्र उम्मेदवार सबैभन्दा बढी २०५१ को निर्वाचनमा विजयी भएका छन्। उक्त निर्वाचनमा देशभरबाट उठेका ३५८ मध्ये ७ जना प्रतिनिधिसभा सदस्य बन्न सफल भएका थिए।

२०५१ को निर्वाचनमा महोत्तरी–४ बाट शरदसिंह भण्डारी, मनाङबाट पाल्देन गुरुङ, रुपन्देही–४ बाट ज्योतेन्द्र मोहन चौधरी, बाग्लुङ–३ बाट परि थापा, डोल्पाबाट जीतबहादुर कुँवर, प्युठान–२ बाट नवराज सुवेदी र बझाङ–२ बाट नरेशबहादुर सिंह विजयी भएका थिए।

महोत्तरी–४ मा भण्डारी कांग्रेस उम्मेदवार बसन्तकुमार गुरुङलाई परााजित गर्दै प्रतिनिधिसभा सदस्य बनेका थिए। निर्वाचन आयोगका अनुसार विजयी भण्डरीले ११ हजार ३९५ र गुरुङले १० हजार ५८५ मत प्राप्त गरेका थिए। तेस्रो भएका अर्का स्वतन्त्र सीताराम भण्डारीले ६ हजार ५३१ मत ल्याएका थिए।   

मनाङबाट विजयी गुरुङले २ हजार ३१५ मत पाएका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कोमलबहादुर घलेले ७२१ र सजमोनेका कपिल लामाले ३७३ मत प्राप्त गरेको निर्वाचन आयोगको निर्वाचन परिणााम तथ्यांकमा देखिन्छ।

रुपन्देही–४ बाट निर्वाचित स्वतन्त्र चौधरीले नेपाल सद्भावना पार्टीका मो. अजीज मियालाई पराजित गरेका थिए। विजयी चौधरीले ११ हजार ५५९ र मियाले ११ हजार १५ मत प्राप्त गरेका थिए। तेस्रो भएका कांग्रेसका लक्ष्मी उपाध्यायको पक्षमा १० हजार ८२२ मत खसेको थियो।  

बाग्लुङ–३ मा स्वतन्त्र उम्मेदवार तुलासिंह घर्तीलाई हराएर परि थापा प्रतिनिधिसभा सदस्य बनेका थिए। १२ हजार ४७७ मतसहित थापा प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा घर्तीले ६ हजार २५० मत प्राप्त गरेका थिए।

डोल्पामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उम्मेदवार कर्णबहादुर बुढालाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार जीतबहादुर कुँवर विजयी भएका थिए। उनले ६ हजार ४२४ र बुढाले ६ हजार १२३ मत ल्याएका थिए। तेस्रो भएका एमाले उम्मेदवार दत्तबहादुर रोकायको ९७० मत आएको थियो।

प्युठान–२ मा स्वतन्त्र उम्मेदवार नवराज सुवेदीले कांग्रेस उम्मेदवार मुक्तिप्रसाद शर्मालाई हराएका थिए। सुवेदी ९ हजार ७४० मतले प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा शर्माले ९ हजार ६७६ मत पाएका थिए। तेस्रो भएका राप्रपा उम्मेदवार खेमराज पण्डितको पक्षमा ७ हजार ८८७ मत खसेको थियो।

परि थापा र नवराज सुवेदी स्वतन्त्र उम्मेदवार बने पनि उनीहरु राष्ट्रिय जनमोर्चाका नेता थिए । पार्टी दर्ता नभएका कारण चित्रहादुर केसीले समेत त्यसबेला स्वतन्त्र उम्मेदवारकै रुपमा बाग्लुङबाट जितेका थिए ।  

बझाङ–२ बाट स्वतन्त्र उम्मेदवार नरेशबहादुर सिंह विजयी भएका थिए। ५ हजार ६५८ मतसहित विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमाले उम्मेदवार भैरवबहादुर सिंहले ५ हजार ५२७ मत ल्याएका थिए। तेस्रो भएका कांग्रेस उम्मेदवार लोकराज जोशीले ३ हजार ६७२ मत प्राप्त गरेका थिए।

२०५६ मा सम्पन्न संसदीय निर्वाचनमा पनि देशभरबाट ६३३ जनाको स्वतन्त्र उम्मेदवारी परेको थियो। तर, उक्त निर्वाचनमा कोही पनि स्वतन्त्र उम्मेदवार प्रतिनिधिसभा सदस्य बन्न सफल भएका थिएनन्।

तत्कालीन विद्राही नेकपा माओवादी शान्ति प्रक्रियामा आइसकेपछि २०६४ मा संविधानसभाको निर्वाचन सम्पन्न भएकाो थियो। उक्त निर्वाचनमा देशभरबाट ८१६ जना स्वतन्त्र उम्मेदवार थिए।

यद्यपि, दुई जनामात्र संविधानसभा सदस्यमा विजयी हुन सफल भएका थिए। उनीहरु दुवै जना हालको मधेस प्रदेशबाट संविधानसभा सदस्यमा विजयी भएका हुन्। ती हुन्– सदरुल मिया हक (सप्तरी–५) र बबन सिंह (रौतहट–१)।

सदरुल सप्तरी–५ बाट १० हजार ६०३ मतका साथ विजयी हुँदा उनका निकटम् प्रतिद्वन्द्वी एमाले उम्मेदवार दानालाल चौधरीले ६ हजार ४७९ मत प्राप्त गरेका थिए। यस्तै माओवादी उम्मेदवार सरस्वतीकुमारी चौधरीले ६ हजार १२० र कांग्रेस उम्मेदवार मुक्तिनाथ चौधरीले ४ हजार १०६ मत पाएका थिए।

बबन रौतहट–१ बट ९ हजार २०१ मतका साथ संविधानसभा सदस्यमा निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी सद्भावना पार्टीका अजय गुप्ता बनियाले ६ हजार ५८८ र तेस्रो भएका मधेसी जनअधिकार फोरमका अमरप्रसाद यादवले ६ हजार ४३४ मत पाएका थिए।

नेपालको संसदीय निर्वाचनको इतिहासमा सबैभन्दा बढी स्वतन्त्र उम्मेदवारी दोस्रो संविधानसभा निर्वाचनमा परेको छ। २०७० मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा देशभर १ हजार ११५ जना स्वतन्त्र उम्मेदवार थिए।

जसमध्ये मात्र दुई जना निर्वाचित भएका थिए। निर्वाचित हुनेमा चन्देश्वर यादव (महोत्तरी–४) र अहतर कमाल मुसलमान (कपिलवस्तु–२) रहेका छन्।

झा ३ हजार ६२ मतले महोत्तरी–४ बाट निर्वाचित हुँदा सद्भावनाका सरिताकुमारी साहले २ हजार ९२७ र तेस्रो भएका तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का हरिनारायण मण्डलले २ हजार ७६५ मत प्राप्त गरेका थिए।

मुसलमान ४ हजार ६७४ मतले कपिलवस्तु–२ बाट संविधानसभा सदस्य बन्दा निकटतम् प्रतिद्वन्द्वी मधेसी जनअधिकार फोरमका सहसराय यादवको पक्षमा ३ हजार ६९३ र तेस्रो भएका एमालेका अजिजुर रहमान शेषको पक्षमा ३ हजार ३२० मत खसेको थियो।

२०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भने दोस्रो संविधानसभा निर्वाचनमा जस्तो स्वतन्त्र उम्मेदवारको ‘क्रेज’ ह्वात्तै घटेको थियो। उक्त निर्वाचनमा मात्र ४९२ जनाको उम्मेदवारी परेका थियो। जसमध्ये एक जनामात्र विजयी भएका थिए।

स्वतन्त्रतर्फ हुम्ला–१ बाट उम्मेदवारी दिएका छक्कबहादुर लामा मात्र ४७ मतको अन्तरले प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। लामा ८ हजार ४९१ मतले विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका मंगलबहादुर शाहीले ८ हजार ४४४ मतमा चित्त बुझाउनु परेको थियो। तेस्रो भएका नेकपा माओवादी केन्द्रका छिमी दोर्ची लामाले २ हजार ८५६ मत पाएक थिए।

स्वतन्त्रको ‘क्रेज’

नेपालको पहिलो संसदीय निर्वाचनमा देशभर स्वतन्त्रको पक्षमा २ लाख ९१ हजार २४७ मत खसेको थियो। २०५१ को निर्वाचनसम्म आइपुग्दा उक्त संख्या झण्डै दोब्बरले बढेको देखिन्छ। २०५१ को निर्वाचनमा स्वतन्त्रको पक्षमा देशभरबाट ४ लाख ७१ हजार ३२४ मत खसेको थियो।

तर, उक्त निर्वाचनपछिको मतपरिणामलाई आधार मान्दा देशभरी स्वतन्त्र उम्मेदवारको ‘क्रेज’ घट्दो क्रममा देखिन्छ। २०५६ को निर्वाचनमा स्वतन्त्रको पक्षमा खसेको मत २०५१ को तुलनामा झण्डै दोब्बरले कम छ।

२०५६ को संसदीय निर्वाचनमा २ लाख ५१ हजार ९३०, पहिलो संविधानसभा निर्वाचनमा १ लाख २२ हजार ६१९, दोस्रो संविधानसभा निर्वाचनमा १ लाख ७ हजार ७६४ र २०४७ को प्रतिनिधिसभा निर्वाचनमा ७३ हजार २४३ मत खसेको देखिन्छ।

यद्यपि, आगामी मंसिर ४ मा हुन गइरहेको संघीय र प्रादेशिक निर्वाचनमा स्वतन्त्र उम्मेदवारको संख्या बढ्ने निश्चितप्रायः छ। तर, स्वतन्त्रको पक्षमा खस्ने मतका बारेमा भने अहिले नै भन्न सकिने अवस्था भने छैन। स्थानीय तह निर्वाचन २०७९ मा काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको अप्रत्यासित विजयले स्वतन्त्र उम्मेदवारी दिने आकांक्षी बढेका छन्।

आगामी मंसिर ४ को चुनावमा एमाले नेता घनश्याम भुसाल रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवार बनेका छन् । त्यस्तै चितवन ३ मा कांग्रेसका दिनेश कोइराला र जगन्नथ खतिवडा स्वतन्त्र उठेका छन् । एमाले नेता प्रभु साह पनि रौतहटबाट स्वतन्त्र उम्मेदवार बनेका छन् । सूर्यबहादुरकै गृहजिल्ला धनकुटाबाट हेमराज भण्डारी माओवादी परित्याग गरेर स्वतन्त्र उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .