राजनीति


भीम रावलको आरोप : केपी ओली षड्यन्त्रकारी, निरंकुश र स्वेच्छाचारी

भीम रावलको आरोप : केपी ओली षड्यन्त्रकारी, निरंकुश र स्वेच्छाचारी

पत्रकार सम्मेलनमा एमाले नेता भीम रावल। तस्बिर : विशाल कार्की/नेपालखबर


नेपालखबर
असोज २७, २०७९ बिहिबार १३:२३, काठमाडौँ

नेकपा एमालेका नेता डा. भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई निरंकुश र स्वेच्छाचारी भनेका छन्। 

अछाम क्षेत्र नम्बर १ मा स्थानीय कमिटीले सिफारिस गर्दा पनि आफूलाई टिकट नदिएको विषयमा बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। 

'मेरो उम्मेदवारी स्थानीय कमिटीले सर्वसम्मत सिफारिस गर्दा पनि टिकट दिइएन। केपी ओलीले गरेको निर्णय निरंकुश र स्वेच्छाचारी छ', उनले भने, 'षड्यन्त्रपूर्ण र स्वेच्छाचारी निर्णय गरे केपी ओलीले मलाई रोक्न खोजे। घरमा आएका नेताहरुलाई पनि मैले चुनाव लड्न तयार रहेको बताएको थिएँ। प्रतिनिधिसभा क्षेत्र नम्बर १ स्तरीय कार्यकर्ता भेलामा मन्तव्य दिएको थिएँ। पार्टी कार्यक्रममा संलग्न भएकै बेला म सम्पर्कविहीन भनियो। अन्तिममा टिकट पनि रोकियो।'

उनले अछामबाट टिकट सिफारिस भएपछि पार्टी अध्यक्ष ओलीको घरमा भीम रावलको नाम किन एकल सिफारिस गरेको भनेर छलफल भएको पनि उल्लेख गरे। 

'पार्टी अध्यक्ष केपी शर्मा ओलीले मलाई रोक्न अनेक षड्यन्त्र गरे। अछाम क्षेत्र नम्बर २ का उम्मेदवारबारे छलफल गरिएन तर मेरोबारे पटक पटक गुटमा छलफल भयो', उनले भने, 'पार्टीमा गुटगत बैठक गरी मलाई रोक्न षड्यन्त्र रोकियो। मलाई उम्मेदवारी नदिने भन्ने कुरा मैले थाहा पाएँ. अध्यक्ष ओलीनिकट मान्छेहरुबाट मलाई हराउन नसकिने निष्कर्ष पाएपछि मलाई टिकटमै रोकियो।'

आफूलाई टिकट नदिएर रोक्नु कार्यकर्ताका भावना कुल्चने षड्यन्त्रपूर्ण कदम भएको उनले बताए। 'मलाई टिकट नदिएपछि मनोनयन पत्र दाखिला गर्ने दिन नारा जुलुस भयो', उनले भने, 'देश र जनाताको हित स्वाधिनता स्वाभिमान न्याय र सुशासनको पक्षमा मैले उठाएको आवाजको साथ दिनेलाई धन्यवाद।' 

उनले नेकपा एमाले निश्चित सिद्धान्त र विधिका आधारमा चल्दै आएको बताए। 'यही आधारमा उम्मेदवार छनोट गर्नुपर्ने हो। युनिफिकेसन चर्चसँग जोडिएका एकनाथ ढकाललाई टिकट दिने तर राष्ट्रियतको पक्षमा बोल्ने हामीलाई नदिने', उनले भने, 'संविधान दिवसलाई कालो दिवस भन्नेसँग तालमेल गरियो। जसले राजबिराजमा केपी ओलीको हत्या प्रयास गरेका थिए उनैसँग तालमेल गरेर कहाँ पुगिन्छ?'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .