ad ad

राजनीति


लुम्बिनीमा मुख्यमन्त्रीको दौड, कुन दलबाट कसको सम्भावना?

लुम्बिनीमा मुख्यमन्त्रीको दौड, कुन दलबाट कसको सम्भावना?

फाइल तस्बिर


सुदीप भण्डारी
असोज २७, २०७९ बिहिबार १८:५५, रुपन्देही

आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनको उम्मेदवारी मनोनयन प्रक्रियासँगै लुम्बिनी प्रदेशको भावी मुख्यमन्त्रीबारे चर्चा हुन थालेको छ।  
पहिलो ५ वर्षे कार्यकालमा प्रदेश सरकारको नेतृत्व लिएका शंकर पोखरेल र कुलप्रसाद केसी दोहोरिने दौडमा छैनन्। 

झण्डै साढे ३ वर्ष प्रदेश सरकारको नेतृत्व गरेका शंकर पोखरेल प्रदेशसभा छोडेर प्रतिनिधि सभामा लागेका छन्। एमाले महासचिव उनी दाङ क्षेत्र नम्बर २ बाट संघीय संसदका उम्मेदवार हुन्। 

वर्तमान मुख्यमन्त्री कुलप्रसाद केसीले संघ र प्रदेश कतैबाट टिकट पाएनन्। यसअघि चुनाव जितेको रोल्पा १ मा नेकपा माओवादी केन्द्रले

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना पूर्वस्वकीय सचिव जोखबहादुर महरालाई उम्मेदवार बनाएका छन्। 

केसी सकभर प्रतिनिधि सभा नभए मुख्यमन्त्रीको दाबीसहित प्रदेशमा जान खोजे पनि खाली बस्नुपरेको छ। 

एमालेबाट गिरी, न्यौपाने या अरु कोही  
पाँच वर्षअघि पूर्व मुख्यमन्त्री पोखरेल प्रदेश सभा सदस्यको उम्मेदवार बन्दा एमाले स्थायी कमिटी सदस्य थिए। मुख्यमन्त्री बनाउने गरी पार्टीले उनलाई उम्मेदवार बनाएको थियो। 

यसपटक लुम्बिनी प्रदेशसभाका लागि टिकट पाउनेमध्ये कोही पनि एमालेको स्थायी कमिटी सदस्य छैनन्। 

तर दुईजना पोलिट्व्युरो सदस्य उम्मेदवार भएका छन्। लीला गिरि रुपन्देही २ ‘क’ बाट र दधिराम न्यौपाने १ ‘ख’ बाट चुनाव लड्दै छन्।

यसअघि त्यही क्षेत्रबाट चुनाव जितेका दुवैजना एमालेको लुम्बिनी प्रदेशका सहइन्चार्ज पनि हुन्। 

दुईमध्ये लीला वरिष्ठ हुन्। उनी पोखरेल नेतृत्वको सरकारमा साढे ३ वर्ष उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री भएका थिए। 

वरिष्ठ भएकाले गिरी प्रदेशमा एमाले संसदीय दलको नेता बन्न सक्ने अनुमान गरिएको छ। तर शान्त स्वभावका गिरीमा सरकार हाँक्न सक्ने क्षमता कम भएको कतिपयको विश्लेषण छ। 

अर्का पोलिट्व्युरो सदस्य दधीराम न्यौपाने प्रदेश सभामा संसदीय समितिको सभापति थिए। गत चुनावमा माओवादीबाट निर्वाचित उनी नेकपा विभाजनपछि एमालेमै रहँदा सांसद पद गएको थियो। 

माओवादीबाट आएकाले एमालेको आमपंक्तिले सहजै दलको नेता स्वीकार नगर्न पनि सक्छ।  

प्रदेश सांसदको टिकट पाएका भूमिश्वर ढकाल, घनश्याम पाण्डे, हरिप्रसाद रिजाल, चेतनारायण आचार्य र दिनेश पन्थी एमालेका केन्द्रीय सदस्य हुन्। 

केन्द्रीय सदस्यले अवसर पाएमा भूमिश्वर बलियो दाबेदार मानिएका छन्। गत कार्यकालमा उनी प्रदेश सभामा एमालेको प्रमुख सचेतक थिए। आचार्य र रिजाल थोरै समय मन्त्री पनि भए।

२०७४ को संसदीय चुनावपछि बाग्मती प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहितका अरु केन्द्रीय नेतालाई पन्छाउँदै डोरमणि पौडेल मुख्यमन्त्री बनेका थिए। 

एमालेको जुनसुकै तहमा भएपनि मुख्यमन्त्री बन्ने अवसर आए विशेषगरी महासचिव शंकरको रोजाइको व्यक्ति नै दलको नेता बन्ने कतिपयको विश्लेषण छ। 

कांग्रेसबाट केन्द्रीय सदस्य, प्रदेश सभापति कि प्रदेश मन्त्री 
लुम्बिनी प्रदेश सभामा कांग्रसबाट टिकट पाएकामध्ये अब्दुल रज्जाक मात्रै पार्टीको केन्द्रीय सदस्य हुन्। 

रुपन्देही १ ‘ख’ का उम्मेदवार उनी २०७० को संविधान सभा सदस्य हुन्। त्यही कार्यकालमा उनी एकपटक राज्यमन्त्री पनि बने। 

२०७४ सालको चुनावमा प्रतिनिधि सभामा उम्मेदवार बनेर पाराजित रज्जाक यो पटक प्रदेशमा झरेका हुन्। एक मात्रै केन्द्रीय सदस्य भएकाले उनलाई कांग्रेसबाट मुख्यमन्त्रीको मुख्य दाबेदार मानिएको छ।

कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन पनि मुख्यमन्त्री बन्ने योजनासाथ रोल्पा ‘ख’ बाट चुनाव लड्दै छन्। उनी पनि दोस्रो संविधान सभाका सभासद र पूर्वराज्यमन्त्री हुन्। 

पार्टीको प्रदेश सभापति भएकाले पुनले संसदीय दलको पनि नेतृत्व लिने प्रयास गर्ने छन्। आफ्नो क्षेत्रमा माओवादी केन्द्रको बागी उम्मेदवार हुँदा भने चुनाव जित्न चुनौती थपिएको छ। 

लुम्बिनी सरकारका मन्त्री डिल्ली चौधरीलाई पनि मुख्यमन्त्रीको दाबेदारको मानिएको छ। 

उनी पनि पूर्व सभासद तथा राज्यमन्त्री हुन्। गत चुनावमा दाङ ३ ‘ख’ बाट विजयी भएका चौधरी अहिले पनि त्यही क्षेत्रबाट उम्मेदवार छन्। 

अघिल्लो कार्यकालमा प्रदेश सभामा सक्रिय भूमिका खेलेका चौधरीले पनि संसदीय दलको नेतृत्व दाबी गर्न सक्ने सम्भावना छ। 

माओवादीबाट
माओवादीबाट पोलिट्व्युरो सदस्य जोगबहादुर महरा र वामदेव क्षेत्री प्रदेशसभा सदस्यका उम्मेदवार छन्। 

प्रचण्डका स्वकीय सचिव महरा मुख्यमन्त्री केसीको क्षेत्र रोल्पा ‘क’ बाट चुनाव लड्दै छन्। 

प्रचण्डनिकट भएकाले उनै दलको नेता बन्ने सम्भावना छ। प्रदेश योजना आयोग उपाध्यक्ष भइसकेका वामदेव क्षेत्री रुपन्देही २ ‘क’ का उम्मेदवार हुन्। 

उनले पनि मुख्यमन्त्रीको दाबी गर्न गर्न सक्छन्। गत कार्यकालमा लामो समय प्रदेश मन्त्री भएको र माओवादी प्रदेश अध्यक्ष पनि बनेकाले संसदीय दलका लागि बरालले अन्तिमसम्म प्रयास गर्ने छन्। 

२०७४ को चुनावी नतिजा र अहिलेको माहोलका आधारमा कांग्रेस, एमाले र माओवादी बाहिरबाट मुख्यमन्त्री बन्ने सम्भावना न्यून छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .