राजनीति


सर्लाही–१ मा ‘बागी’ उठेका एमाले र माओवादी नेता भन्छन्– हामीले पार्टी छाडिसक्यौं

सर्लाही–१ मा ‘बागी’ उठेका एमाले र माओवादी नेता भन्छन्– हामीले पार्टी छाडिसक्यौं

नेपालखबर
असोज २८, २०७९ शुक्रबार १०:८, काठमाडौँ

सर्लाहीको क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा ‘बागी’ उम्मेदवार बनेका एमाले र माओवादी केन्द्रका दुई नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।

पार्टीले खडा गरेका आधिकारिक उम्मेदवारविरुद्ध सर्लाही १ को प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिने एमालेका मानबहादुर खड्का र क्षेत्र म्बर १ (ख) मा प्रदेश सभा सदस्यमा स्वतन्त्रबाट उम्मेदवारी दिने माओवादी केन्द्रका राजनकुमार श्रेष्ठले पार्टी परित्याग गरिसकेको घोषणा गरेका हुन्।

खड्का र श्रेष्ठले बिहीबार लालबन्दीमा संयुक्त पत्रकार सम्मेलन गर्दै उम्मेदवारी दर्ताको मितिदेखि नै आफूहरु कुनै पनि पार्टीमा नरहेको घोषणा गरेका छन्।

उनीहरुले जारी गरेको अलग अलग विज्ञप्तिमा पनि हाल आफूहरु कुनै पार्टीमा आवद्ध नरहेको दाबी गरिएको छ। 

०७४ मा एमालेको तर्फबाट लालबन्दी नगरपालिकाको मेयरमा विजयी भएका खड्का गएको स्थानीय तह निर्वाचनमा टिकट नपाएपछि पार्टीसँग रुष्ठ थिए। यो निर्वाचनमा पनि पार्टीले उम्मेदवार नबनाएपछि उनी थप रुष्ट बनेका हुन्।

माओवादी केन्द्रका नेता श्रेष्ठ ०४७ को निर्वाचनमा लालबन्दी नगरपालिका ८ मा वडाध्यक्षमा विजयी भएका थिए।

सर्लाही १ को प्रतिनिधि सभामा सत्तारुढ गठवन्धनबाट लोसपाका रामप्रकाश चौधरी उम्मेदवार छन्। त्यसैगरी एमाले–जसपा गठवन्धनबाट यो क्षेत्रमा प्रमोद साहले टिकट पाएका छन्। साह यो क्षेत्रबाट ०७४ मा तत्कालिन राजपाबाट प्रतिनिधिसभामा विजयी भएका थिए।

सर्लाही १ को प्रदेश सभाको (ख) मा सत्तारुढ गठवन्धनबाट बेची लुंगेली र एमाले–जसपा गठवन्धनबाट एमालेकी शान्तिकुमारी लामा उम्मेदवार छन्। एकीकृत समाजवादीकी नेतृ लुंगेली निवर्तमान प्रदेशसभा सदस्यसमेत हुन्।

दुबै गठबन्धनका रुष्ठ नेता कार्यकर्ताको साथ खड्का र श्रेष्ठले पाएका छन्। खड्कालाई प्रतिनिधि सभा सदस्यमा र श्रेष्ठलाई प्रदेश सभामा उठाउन कांग्रेस, एमाले र माओवादीका जिल्ला तहका ठूलै नेताहरुले अघोषित सहमति गरेका स्रोतको दाबी छ। उनीहरुले उम्मेदवारी दिन जाँदा कांग्रेस नेता शम्भुलाल श्रेष्ठ, एमालेका नेता रेबती पन्त लगायतले भेटेरै बधाई दिएका थिए। 

एमालेका एक नेताले भने, ‘माओवादीका साथीहरुले संघमा मानबहादुर खड्कालाई मत हाल्नुहुन्छ। एमालेका साथीहरुले प्रदेशमा श्रेष्ठलाई मत दान गर्नुहुन्छ। स्थानीय नेता कार्यकर्ताको भावनाविपरित केन्द्रले तोकेका उम्मेदवारलाई हामी मतदान गर्दैनौँ।’

खड्का र श्रेष्ठले जारी गरेको एउटै बेहोराको विज्ञप्तीमा भनिएको छ, ‘सबैको साथ र मायाले माथिल्लो कमिटीमा नाम सिफारिस भई गएता पनि स्थानीय जनताको साथ, समर्थन र इच्छा विपरीत माथिल्लो तहबाट केही शिर्ष नेताहरुको आफ्नो निजी स्वार्थका लागि गठबन्धनको नाममा जवरजस्ती गरी स्थानीय मतदाताको भावना विपरीतको उम्मेदवार बनाएको कारण हामीले स्वतन्त्रबाट उम्मेदवारी दिएका हौँ।’

खड्का र श्रेष्ठको पत्रकार सम्मेलनमा नेकपा एमालेका नेता गोविन्द अधिकारी, माओवादी केन्द्रका नेता केदार काफ्लेलगायतको सहभागिता थियो।

निर्वाचन कार्यालयले खड्कालाई ‘पुतली’ र श्रेष्ठलाई ‘जेब्रा’ चुनाव चिन्ह प्रदान गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .