ad ad

राजनीति


एमालेको साथ पाएका हृदयेश त्रिपाठीसँग कस्तो होला अर्बपति विनोद चौधरीको प्रतिस्पर्धा?

एमालेको साथ पाएका हृदयेश त्रिपाठीसँग कस्तो होला अर्बपति विनोद चौधरीको प्रतिस्पर्धा?

फाइल तस्बिर


सुदीप भण्डारी
असोज २९, २०७९ शनिबार ७:१५, रुपन्देही

२०४८ सालयता भएका ६ वटै संसदीय चुनावमा हृदयेश त्रिपाठीले प्रतिस्पर्धा गरेका छन्। जसमध्ये एउटा बाहेक सबैमा विजयी भएका छन्।

२०४८, २०५१ र २०५६ सालमा नेपाल सद्भावना पार्टीबाट चुनाव जितेका त्रिपाठी २०६४ मा तराई मधेश लोकतान्त्रिक पार्टीबाट सभासद भएका थिए। २०७० को चुनावमा सोही पार्टीबाट उम्मेदवार बने पनि कांग्रेसका देवकरण कलावरसँग पराजित भए। 

२०७४ सालमा एमालेको साथ र चुनाव चिन्ह लिएर मैदान उत्रिएका उनी नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ बाट विजयी भएका थिए। संसदमा पुगेर केपी ओली नेतृत्वको सरकारको मन्त्री पनि बने। 

यसपटक जनता प्रगतिशील पार्टी गठन गरेर त्रिपाठी उम्मेदवार बनेका छन्। एमालेले अन्तिम समयमा आएर उनलाई साथ दिने निर्णय गरेको छ।

पार्टीबाट टिकट पाएर मनोनयन दर्ता गरेकी सिन्धु जलेसाको उम्मेद्वारी फिर्ता गराएर एमालेले अन्ततः त्रिपाठीलाई समर्थन गर्ने निर्णय गरेको हो। 

त्रिपाठीले यो पटक नेपालकै एकमात्र डलर अर्बपति विनोद चौधरीसँग प्रतिस्पर्धा गर्दैछन्। चौधरी कांग्रेसबाट उम्मेदवार बनेका हुन्। समानुपातिकतर्फ २०६४ मा एमालेबाट सभासद् बनेका चौधरी २०७४ सालको चुनावमा कांग्रेसबाट समानुपातिक तर्फ सांसद थिए। 

तेस्रोपटक संसद् प्रवेशका लागि उनी जनताबाट अनुमोदन हुन खोज्दै छन्। जसअनुसार नवलपरासी पश्चिम क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका हुन्। 

पाँच पटक सांसद र पटकपटक मन्त्री भएका हृदयेश त्रिपाठीले गत कार्यकालमा सांसद र मन्त्री भएर के कति काम गरे भन्ने प्रश्न पनि छ। त्यसको मूल्यांकन पश्चिम नवलपरासी १ का जनताले गर्ने छन्। 

अघिल्लो पटक एमालेबाट सूर्य चिन्ह लिएर चुनाव जितेका त्रिपाठीलाई यो पटक पनि एमालेले साथ त थियो। तर चुनाव चिन्ह भने पाएनन्। नयाँ चुनाव चिन्ह ‘कोदालो बोकोको मान्छे’ देखाएर उनलाई मतदातासमक्ष जान सजिलो छैन। यसअघि माओवादी केन्द्रको समेत साथ पाएर जितेका थिए त्रिपाठीले, माओवादी अहिले कांग्रेससँग गठबन्धनमा रहेकाले चौधरीको साथमा छ।  

नवलपरासी पश्चिम क्षेत्रमा सफल व्यवसायी विनोद चौधरी परिचित नाम हो। नेपालकै सबैभन्दा धनी व्यक्तिको पहिचान बनाएका उनको व्यक्तित्वले मतदातालाई आकर्षित गर्न सक्छ।

उद्योगपतिलाई जिताउँदा आफ्नो क्षेत्रको विकास हुन्छ भन्ने जनतामा आशा पनि हुन्छ।   

२०७४ मा सूर्य चिह्न लिएर चुनाव लड्दा त्रिपाठीले ३८ हजार ५९२ मत पाएर विजयी भएका थिए। त्यसबेला त्रिपाठीलाई माओवादी केन्द्रको पनि साथ थियो। कांग्रेसका देवकरणप्रसाद कलावरले ३३ हजार ५९१ मत ल्याएका थिए। 

गत वैशाखमा भएको स्थानीय तहको चुनावको नतिजाका आधारमा यो क्षेत्रमा कांग्रेस अगाडि छ। कांग्रेसका वडाध्यक्षका उम्मेद्वारहरुले कुल ३० हजार ३४२ मत पाएका छन्। एमालेको २६ हजार ७७९ मत आएको छ। 

राप्रपाका वडाध्यक्षको ६ हजार ६८७, माओवादी केन्द्रको ५ हजार ३४७, जसपाको ३ हजार ५५९, एकीकृत समाजवादीको १ हजार १४१ र लोसपाका वडाध्यक्षका उम्मेद्वारको १०० मत छ।

यो क्षेत्रमा राप्रपाबाट भोजराज ढकाल उम्मेदवार भएकाले राप्रपाको सढे ६ हजार भोट त्रिपाठीले पाउने छैनन्।  

एकातिर एमालेको साथ पाएपनि त्रिपाठीले सूर्य चिन्ह लिएका छैनन् भने यसपाली उनलाई २०७४ मा जस्तो माओवादी केन्द्रको पनि साथ छैन। 

क्षेत्र नम्बर १ मा जनता प्रगतिशिल पार्टीका हृदयेश त्रिपाठीलाई समर्थन गरेको एमालेले पश्चिम नवलपरासीमा जसपासँग पनि गठबन्धन गरेको छ। प्रदेश सभाको क्षेत्र नम्बर २ (ख) जसपाले लिएको छ।

बाँकी १ प्रतिनिधि सभा र ३ प्रदेश सभामा एमालेका उम्मेदवार छन्। 

राप्रपाको भने दुबै क्षेत्रमा आ–आफ्नै उम्मेदवार छन्। क्षेत्र नम्बर १ बाट भोजराज ढकाल राप्रपाका उम्मेद्वार बनेका हुन्।

यता नवलपरासी पश्चिममा सत्तागठबन्धनसँग लोसपा भने छैन। प्रतिनिधि सभामा उसको उम्मेदवार नभएपनि क्षेत्र नम्बर १ को दुवै प्रदेश सभामा उम्मेदवार छन्।

उद्योगी विनोद चौधरीलाई गठबन्धनमा रहेका माओवादी केन्द्र, एकीकृत समाजवादीको पनि साथ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .