ad ad

राजनीति


उदयपुर : खड्कालाई रोक्न सजिलो छैन, जगन्नाथलाई कांग्रेसका बागी घाँडो

उदयपुर : खड्कालाई रोक्न सजिलो छैन, जगन्नाथलाई कांग्रेसका बागी घाँडो

फाइल तस्बिर


उजिर कार्की
असोज ३१, २०७९ सोमबार ९:३२, काठमाडौँ

उदयपुरमा लगातार चुनाव जितेर स्थापित नेता हुन् डा. नारायण खड्का। जसका हरेक चुनावमा प्रतिस्पर्धी फेरिए, नयाँ नयाँ समीकरण बने तर उनलाई रोक्न सकेनन्। 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् परराष्ट्र मन्त्री खड्का चौथो पटक उदयपुर क्षेत्र नं. १ बाट उम्मेदवार बनेका छन्।

यसअघिका तीन चुनाव उनले लगातार जिते। यसपटक एमालेबाट मञ्जुकुमारी चौधरी खड्कासँग प्रतिस्पर्धामा छिन्। 

चौधरी र खड्का २०७४ को चुनावमा पनि प्रतिस्पर्धी थिए। त्यतिबेला झिनो मतले वामगठबन्धनलाई हराएका खड्का यसपटक नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको साथले बलियो छन्। 

उदयपुर क्षेत्र नं. १ मा एउटै उम्मेदवारले जित्दा उदयपुर २ मा दोहोर्‍याएर कसैले जितेका छैनन्। २०७० सम्म तीनवटा निर्वाचन क्षेत्र रहेको उदयपुर २०७४ देखि दुईवटामा समेटिएको छ। 

२०७४ का विजेता र उपविजेता दुवै यसपटक प्रतिस्पर्धामा छैनन्। पूर्व सहकर्मीबीच नै यहाँ प्रतिस्पर्धा हुँदैछ।

सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा उठेका छन्। उनीसँग प्रतिस्पर्धाका लागि एमालेले अम्बरबहादुर रायमाझीलाई उतारेको छ। 

अघिल्ला निर्वाचनमा खतिवडालाई जिताउन रायमाझी खटिएका थिए। तर खतिवडा पराजित भए। यसपटक उनै खतिवडालाई हराउन एमालेले अघि सारेको छ।

नारायण खड्कासहित गठबन्धनका उम्मेदवार

मञ्जुलाई दोश्रो मौका
प्रदेश १ मा कांग्रेसले निरन्तर जित्दै आएको क्षेत्र हो उदयपुर १। तिरन्तर टिकट पाउँदै आएका खड्का यहाँबाट पछिल्ला तीनै निर्वाचनमा विजयी हुँदै आएका छन्। 

२०७४ मा वामगठबन्धन बन्दा वा २०६४ मा माओवादीको लहर चल्दा उनलाई हराउन सकेनन्। यो क्षेत्रमा उनले विकासवादी नेताको छवि बनाएका छन्। 

२०७४ मा एमालेकी मञ्जुले उनलाई कडा टक्कर दिइन्। खड्काले ३३ हजार १४२ मत प्राप्त गरेर निर्वाचित हुँदा चौधरीले ३२ हजार ५९४ मत ल्याएकी थिइन्। 

अन्ततः दोश्रो पटक संसद छिर्न मन्जुलाई ५४८ मत कम भयो। उनले ३२ हजार ५९४ मत ल्याएर पराजित भइन्। एमालेले उनलाई यस क्षेत्रमा अघि सारेको छ। 

उदयपुरमा ३ वटा निर्वाचन क्षेत्र हुँदा मञ्जुले २०७० सालमा विजय हात पारेकी थिइन्। तत्कालीन क्षेत्र न.ं २ बाट उनले कांग्रेसकी प्रमिला राईलाई झिनो मतले हराएकी थिइन्। 

मञ्जुले ७ हजार ५३४ मत पाउँदा प्रमिलाले ७ हजार ५११ मत ल्याइन्। त्यतिबेला २३ मतले जितेकी मञ्जुलाई एमालेले तेश्रो पटक टिकट दिएको हो। 

यो निर्वाचनमा खड्कालाई माओवादीको साथ मिले पनि यसअघिको हारको बदला लिने मौका मञ्जुलाई छ। 

खड्काले भने २०७० सालमा १५ हजार ३८१ मत ल्याएर एमालेका मणिराज उपाध्याय पौडेललाई पराजित गरेका थिए। 

पौडेलले आधाभन्दा कम मत पाएका थिए। उनले ७ हजार २९८ मत पाउँदा माओवादीका राजन किरातीले ६ हजार ६४८ मत ल्याए।

त्यसअघि पनि खड्का यही क्षेत्रबाट निर्वाचित भएका थिए। देशभर लहर चल्दा पनि यहाँ भने माओवादीका राजन किराती एक हजार बढी मतान्तरले पराजित भए। 

२०६४ मा नारायण खड्काले १४ हजार ४६८ मत पाएका थिए। माओवादीका किरातीले १३ हजार २३६ मत र एमालेका तत्कालीन उपाध्यक्ष अशोक कुमार राईले ९ हजार ८१० मत पाए। 

त्यतिबेला तेश्रो भएका एमालेका अशोक राईले एमाले र यो निर्वाचन क्षेत्र दुवै छाडेपछि खड्काको प्रतिस्पर्धी मञ्जु बनेकी हुन्। 

जगन्नाथलाई कांग्रेसको डर
समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा उदयपुरबाट तेश्रो पटक चुनाव लड्दैछन्। यसअघि दुईवटा निर्वाचनमा उठेका उनी एउटामा विजयी भए भने अर्को पटक टिकट पाउँदा पराजित भए। 

त्यसपछिका दुई निर्वाचनमा एमालेबाट टिकट नपाएका उनी यसपटक एमालेसँगै भिड्दैछन्। उनीविरुद्ध एमालेले अम्मरबहादुर रायमाझीलाई अघि सारेको छ। 

९ वर्ष अघि खतिवडा यही क्षेत्रबाट पराजित भएका थिए। रायमाझी पहिलो पटक संसदीय चुनावमा उठ्दैछन्। २०७० सालको निर्वाचनमा तत्कालीन उदयपुर ३ बाट कांग्रेसका नारायणबहादुर कार्की निर्वाचित भए। 

त्यसपछि २०७४ मा माओवादीका सुरेश राई ‘हिमाल’ले जिते। २०६४ मा माओवादीका मोहनबहादुर खत्री निर्वाचीत भएका थिए। 

त्यसअघि २०५६ मा भने खतिवडा आफैँ एमालेबाट उम्मेदवार बनेर जिते। पछिल्ला तीनै चुनाव जितेका उम्मेदवार यस पटक खतिवडाको साथमा छन्। 

२०७० मा कांग्रेसका कार्कीले १२ हजार ५५० ल्याएर चुनिँदा खतिवडाले ९ हजार ४२२ मत पाए। माओवादीका मोहनबहादुर खत्रीको ५ हजार ४७० मत मात्रै आयो।

२०५६ सालमा भने खतिवडा यही क्षेत्रबाट निर्वाचित भएका थिए। त्यसपछि २०६४ सालको निर्वाचनमा उनले टिकट नै पाएनन्। त्यतिबेला माओवादीका मोहनबहादुर खत्री निर्वाचित भए।

खत्रीले १४ हजार ७७५ मत पाएर विजय हुँदा एमालेका शम्भु थापा ९ हजार २९८ मत र कांग्रेसका नारायणबहादुर कार्की ९ हजार १०४ मत ल्याएर पराजित भएका थिए। 

२०७४ सालमा बामगठबन्धन हुँदा यो क्षेत्र माओवादीको भागमा पर्यो। २०७० मा उदयपुर क्षेत्र नं. २ मा चौथो मत पाएका सुरेश राई यहाँबाट उठे। कांग्रेसका उम्मेदवार कार्कीलाई ७ हजार बढी मतान्तरले पराजित गरे। 

त्यतिबेला चुनावी कार्यक्रमकै क्रममा कांग्रेस उम्मेदवार कार्कीसहितको टोली एम्बुसमा परेका थिए। कांग्रेस उम्मेदवारसहित केही कार्यकर्ता गम्भीर घाइते भएर अस्पताल भर्ना भए। कांग्रेस उम्मेदवार कार्की र अर्की एक कार्यकर्ताको खुट्टा नै गुमाए।

त्यसबेला यहाँबाट सुरेश राईले २२ हजार ५५१ मत पाउँदा कार्कीको १५ हजार ४५५ मत आयो। अघिल्लो पटक यही क्षेत्रमा जितेका माओवादी उम्मेदवार खतिवडाको साथमा छन्। अहिलेका एकीकृत समाजवादी पनि त्यतिबेला त्यही समूहमा थियो। 

जगन्नाथ खतिवडा

एकमत छैन गठबन्धन
यसपटक देशका अरु क्षेत्रमा जस्तै पुरानो पार्टी र साथी खतिवडाको साथमा छैनन्। अघिल्लो पटक उनले चुनाव जित्दाका साथी प्रतिस्पर्धी बनेका छन्। यता गठबन्धनभित्र पनि एक मत छैन। 

यो क्षेत्र छाडेपछि नेपाली कांग्रेसमा भाँडभैलो छ। कांग्रेसका क्षेत्रीय सभापति रामकुमार राईले स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनले उम्मेदवारी फिर्ता नलिएपछि कांग्रेसले पार्टीबाट निस्कासन गरिसकेको छ। 

‘गठबन्धनलाई चुनौती भनेको त्यही बागी उम्मेदवारी परेर मात्रै हो’, कटारीका मेयर राजेशचन्द्र श्रेष्ठ भन्छन्, ‘नभए जगन्नाथ दाइले सहजै चुनाव जित्नुहुन्छ, तर पनि माहोल राम्रो छ।’

यो क्षेत्रमा एउटा नगरपालिका र ४ वटा गाउँपालिका छन्। वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा ५ वटै स्थानीय तहमा गठबन्धनका उम्मेदवार प्रमुखमा निर्वाचित भएका थिए। 

माओवादीले तीन वटा गाउँपालिकामा प्रमुख जित्यो, एकीकृत समाजवादीले एउटा गाउँपालिका र कांग्रेस एउटा नगरपालिकामा विजयी भएका थिए। यो नतिजाले पनि गठबन्धन ढुक्क जस्तै रहेको श्रेष्ठ बताउँछन्। 

गठबन्धनसँग मत धेरै भए पनि कांग्रेसको कलहले फेरि हार्ने डर खतिवडालाई छ। रायमाझी भने एमालेसँगै गठबन्धनका असन्तुष्ट मत तानेर संसदको ढोका खोल्ने योजनामा हुनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .