राजनीति


सत्तारुढ तीन नेताको अपिल : अझै प्रतिगमनको खतरा छ, गठबन्धनलाई बहुमत दिएर जिताउनू

सत्तारुढ तीन नेताको अपिल : अझै प्रतिगमनको खतरा छ, गठबन्धनलाई बहुमत दिएर जिताउनू

फाइल तस्बिर


नेपालखबर
कात्तिक १, २०७९ मंगलबार १६:५, काठमाडौँ

सत्तारुढ पाँच दलीय गठबन्धनका मुख्य तीन दलले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा बहुमतसहित जिताउन अपिल गरेका छन्। 

गठबन्धनको तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंगलबार संयुक्त विज्ञप्ति निकालेर यस्तो अपिल गरेका हुन्। 

उनीहरुले अझै पनि प्रतिगमनको खतरा रहेको पनि जिकिर गरेका छन्। तीन नेताले गठबन्धन दलहरुले लिएको उद्देश्य र लक्ष्यप्रति आमनेपाली जनताको समर्थन र सहयोग रहदै आएको पनि जिकिर गरेका छन्। 

'राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई सुदृढ र संस्थागत गर्ने गहन राष्ट्रिय आवश्यकतालाई आत्मसात गर्दै जनताको संघर्ष र बलिदानको परिणामस्वरुप स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मूल दस्तावेजमाथि अधिनायकवादी आक्रमणको खतरा जीवितै रहेको परिस्थितिमा संविधानमाथि प्रतिगमनको खतरा रहेसम्म गठबन्धनको औचित्य कायमै रहने छ', उनीहरुले भनेका छन्। 

तीन नेताले आफूहरुका साझा प्रतिवद्धता, नीति र योजनाहरुको विस्तारित रुप पार्टीगत घोषणापत्रहरुमा आउने पनि बताएका छन्। 

'केही विषयहरुमा फरक विचार र दृष्टिकोणहरुका कारण नै अलग-अलग पार्टीहरुको अस्तित्व रहेको हो। यो लोकतन्त्रको सुन्दर पक्ष पनि हो', उनीहरुले भनेका छन्, 'आ-आफ्नो वैचारिक पहिचानसहित बृहत् राष्ट्रिय स्वार्थ र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गरी हाम्रा साझा दृष्टिकोण आएका छन्। त्यसकै आधारमा यो चुनावी गठबन्धन बनेको कुरा आम मतदाताले बुझ्नु भएकै छ।'

गठबन्धनका तीन नेताले देशलाई समृद्धितिर लैजान पनि मत दिन आग्रह गरेका छन्। 'यी सबै राष्ट्रिय यथार्थहरुको प्रकाशमा लोकतन्त्र, संविधान र विधिको शासनमार्फत् सुशासन र समृद्धिको राष्ट्रिय अभिलाषा परिपूर्ति गर्नका लागि गठबन्धनको आवश्यकतालाई मनन् गर्न र आगामी निर्वाचनमा यो गठबन्धनलाई अत्याधिक बहुमतकासाथ विजयी गराउन हार्दिक अपील गर्दछौँ', उनीहरुले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .