ad ad

राजनीति


कार्की, शिवाकोटी र खड्कामध्ये कसलाई सिंहदरबार पठाउलान् डेढ लाख दोलखाली मतदाताले?

९ मध्ये ७ स्थानीय तह जितेपछि गठबन्धन उत्साहित, एमालेको बलियो संगठन
कार्की, शिवाकोटी र खड्कामध्ये कसलाई सिंहदरबार पठाउलान् डेढ लाख दोलखाली मतदाताले?

सागर न्यौपाने
कात्तिक १, २०७९ मंगलबार १८:५६, काठमाडौँ

निर्वाचन आयोगको तथ्यांकअनुसार दोलखा जिल्लामा १ लाख ६० हजार ४ सय मतदाता छन्। मंसिर ४ गते हुने आम चुनावमा प्रतिनिधि सभाका उम्मेदवार भने गंगा कार्की, बालकृष्ण शिवाकोटी, विजय खड्का, जगदीश खरेल लगायतका २१ जना छन्। तीमध्ये कसलाई सिंहदरबारभित्र पठाउने, त्यसको चाबी भने तिनै डेढ लाखभन्दा ज्यादा मतदाताको हातमा छ।

उम्मेदवार २१ जना भए पनि ‘कम्युनिस्ट गढ’ मानिने दोलखामा यसपटक मुख्यगरी दुई कम्युनिस्टबीच नै प्रतिस्पर्धा हुँदैछ।  किनकि पाँच वर्षअघि एकै ठाउँमा रहेका ‘वाम मित्र’ माओवादी केन्द्र र नेकपा एमालेका उम्मेदवार आमनेसामने छन्।

२०७४ को चुनावमा माओवादी–एमाले मिलेर कांग्रेसलाई हराएका थिए। ४ मंसिरलाई तोकिएको प्रतिनिधि सभाको चुनावमा कांग्रेससहित गठबन्धनको साथ माओवादीका उम्मेदवार कार्कीले पाएका छन्। 

एमालेको विगतदेखिकै बलियो मत र संगठनलाई आधार मानेर शिवाकोटी उठेका छन्। बलियो यस अर्थमा कि २०७४ को चुनावमा एमालेका पार्वत गुरुङ ५५ हजार ९५४ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका रुद्रबहादुर खड्काले २५ हजार आठ मत मात्र ल्याएका थिए।

नेताहरुका अनुसार अहिले पनि एमाले एक्लैको ४० हजार हाराहारी मत छ। राप्रपा लगायतका केही स्वतन्त्र दल पनि प्रतिस्पर्धामै छन्।

रोचक संयोग : तीनै जना पहिलो पटक भिड्दै
माओवादीका कार्की र एमालेका शिवाकोटी दुवै पहिलो पटक संसदीय यात्रा तय गर्न चाहन्छन्। राप्रपाका सहायक महामन्त्री विजय खड्का पनि पहिलो पटक संसदीय चुनावमा सहभागी हुँदैछन्।

लामो समयदेखि वामपन्थी राजनीति गरेर जनयुद्धमा सहभागी भएका कार्की दोलखामा नेकपा माओवादी स्थापना गर्ने संस्थापक नेता हुन्।  

पार्टीले शान्तिप्रक्रियादेखि अहिलेसम्म ३ वटा चुनावमा भाग लिएर संसदीय अभ्यासमा पोख्त भइसक्दा पनि कार्कीले संसदमा पाइला टेक्न पाएका छैनन्। हाल उनी पार्टीको पोलिट्ब्युरो सदस्य छन्। पार्टीको उपल्लो तहमा पुगेर पनि अवसर नपाउने नेतामा पर्छन् उनी।

यस्तै व्यावसायिक पृष्ठभूमिका शिवाकोटी पनि पार्टीका प्रभावशाली नेताहरु पार्वत गुरुङ र आनन्द पोखरेललाई पछि पार्दै दोलखाको उम्मेदवार बन्न सफल भएका हुन्। एमालेको सबैभन्दा राम्रो जिल्लामा लो प्रोफाइल भएर पनि टिकट पाउने भाग्यमानी नेता हुन् उनी।

२०५६ यता निरन्तर कम्युनिस्टले जितेको दोलखामा दुई कम्युनिस्टको लडाइँबाट फाइदा लिने राप्रपाको योजना छ। २०५१ को मध्यावधि चुनावमा कांग्रेस नेता भीमबहादुर तामाङले दोलखा क्षेत्र–१ मा जितेका थिए। २०५६ मा एमाले, २०६४ मा माओवादी, २०७० मा एमाले र २०७४ मा फेरि एमालेले दोलखा जितेका इतिहास छ।

पहिलो संविधान सभा २०६४ मा माओवादीबाट क्षेत्र नम्बर १ मा देवी खड्का र २ मा हेमबहादुर श्रेष्ठले चुनाव जितेका थिए। दोस्रो संविधान सभा चुनावमा क्षेत्र नम्बर १ मा एमालेका पार्वत गुरुङ र २ मा आनन्द पोखरेलले जित्न सफल भए। २०७४ मा निर्वाचन क्षेत्र एउटामा सीमित भयो। उनै गुरुङले तत्कालीन माओवादी केन्द्रसँगको गठबन्धनबाट चुनाव जिते।

माओवादी रणनीति : मत चुहिन नदिने, एमालेको खोस्ने
नेपाली कांग्रेसले गठबन्धनमा सिट बाँडफाँट हुँदा दोलखा माओवादीलाई छोडेर रामेछाप लिएको थियो। पछिल्लो मतलाई आधार मान्ने हो भने कांग्रेस दोलखामा दोस्रो अवस्थामा छ। ३० हजार हाराहारी मत कांग्रेससँग छ। रामेछापमा माओवादीको संगठन र जनाधार दुवै राम्रो हुँदाहुँदै पनि यसपटक दोलखा रोज्नुको कारण हो– २०६४ को विरासत फर्काउनु।

माओवादीका उच्च तहका नेतामध्ये रीतबहादुर खड्का जनयुद्धकै क्रममा राज्यबाट मारिएका थिए। त्यस्तै, दोलखाका अन्य नेताहरु पनि मारिएपछि सो जिल्लामा माओवादीले बलियो संगठन विस्तार गरेको थियो।

पहिलो संविधान सभामा दुवै क्षेत्र निर्वाचित माओवादी दोस्रो संविधान सभामा दुवै क्षेत्रमा पराजित भयो। २०७४ सालको चुनावमा दोलखा माओवादीको भागमै परेन।

२०७० मा गुमेको साख ब्युँताउन र संगठन बनाउन यसपटक कार्की खटिएका छन्। उनको नेतृत्वमा गत स्थानीय तह निर्वाचनमा माओवादीले शैलुङ, गौरीशङ्कर र बिगु गाउँपालिकामा अध्यक्ष जितेको छ भने कालिञ्चोक गाउँपालिका उपाध्यक्ष जितेको छ। नौ पालिकामध्ये तीन वटाको विजयले माओवादीले यसपटक दोलखा रोजेको देखिन्छ।

गंगा कार्कीको चुनावी कमान्डर बनेका विशाल खड्काले स्थानीय चुनावले माओवादीको पक्षमा व्यापक लहर ल्याएको दाबी गरे।

‘हामी १५ हजार बढी मतअन्तरले चुनाव जित्छौँ,’ खड्काले नेपालखबरसँग भने, ‘गठबन्धनमध्ये कांग्रेसको ३० हजार, हाम्रो २५ हजार र एकीकृत समाजवादीको १० हजार मत छ, जितको लागि बलियो आधार यही हो। स्थानीय तहमा हामीले जितेको तीन वटा पालिका, कांग्रेसले जितेको तीन वटा पालिका र समाजवादीले जितेको एक पालिका पनि निर्णायक छन्।’ 

तर, दोलखामा कमजोरलाई उम्मेदवार बनाइएको भन्दै केही नेताहरु असन्तुष्ट छन्।

बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीका अनुसार दोलखाबाट गंगा कार्की, देवी खड्का र विशाल खड्काको नाम उम्मेदवारीका लागि सिफारिस भएको थियो।

‘बागमती प्रदेशमा एमाले सबैभन्दा बलियो दोलखामा छ। त्यहीँ माओवादी केन्द्रले सबैभन्दा कमजोर उम्मेदवार उठायो,’ असन्तुष्ट एक केन्द्रीय सदस्यले नेपालखबरसँग भने, ‘चुनावमा निकै मतअन्तर हुन्थ्यो, त्यो रोकियो।’

गठबन्धनमा भएकोले कांग्रेसभित्रको असन्तुष्टि सम्बोधन गर्नुपर्ने चुनौती पनि सजिलो नभएको ती नेता बताउँछन्।

‘कांग्रेसमा आन्तरिक गुट छ, सबै मत आउँदैन,’ ती नेताले थपे, ‘एमालेबाट व्यापारीले टिकट पाएका छन्। पैसा भएको व्यापारी प्रतिस्पर्धामा भएपछि मत चुहिने खतरा छ।’

तर, खड्काले मत चुहिन नदिने बताए।

‘गठबन्धन बलियो बनाउने र मत चुहिन नदिन सचेत छौँ,’ खड्काले भने, ‘एमालेमा गैरराजनीतिक व्यक्तिले टिकट पाएकोले त्यहाँभित्रको असन्तुष्टि छ। हाम्रो माहोल बिग्रिँदैन, झन् राम्रो बन्छ।’

एमालेको नजर युवातिर
पहिलो पटक जित निकाल्ने योजनासहित खटिएका शिवाकोटीले युवाको मत तान्ने योजना बनाएका छन्। अहिले देशैभर पार्टीहरुप्रति युवाहरु असन्तुष्ट भए पनि रोजगारीकै मुद्दा अघि सारेर उनले युवाको मन जित्ने योजना बनाएका छन्। 

दोलखाको विकासका लागि आफूले जति काम गर्न अन्य उम्मेदवारले नसक्ने उनको दाबी छ। नेपालखबरलाई सुनाए। 

‘दोलखामा पार्टी संगठन बलियो छ, देशभरको सबैभन्दा इमान्दार पार्टी कार्यकर्ता रहेको जिल्ला हो यो, जितको पहिलो आधार यही हो,’ उनले भने, ‘दोस्रो, विकासको सुरुवात भएको र त्यसलाई पूर्णता दिन पनि एमाले चाहिन्छ। तेस्रो, पार्टीले उठाएको राष्ट्रिय मुद्दाका कारण पनि हामी चुनाव जित्छौँ।’

चुनावी कमान्डरका रुपमा पार्वत गुरुङ र आनन्द पोखरेल दुवैलाई खटाउन सफल भएपछि उनी हौसिएका छन्। उनको विश्लेषण्मा गठबन्धनका उम्मेदवारले विकास निर्माण गर्ने स्रोत ल्याउने हैसियत राख्दैनन्। 

‘विपक्षी गठबन्धनका उम्मेदवारले हिजो स्रोत ल्याउने, विकास निर्माणको अभ्यास गर्नुभएको छैन,’ शिवाकोटीले भने, ‘सधैँभरि एकैखालका मानिसले नयाँ काम गर्न सक्तैनन्।’

उनले २०७४ को जस्तै मतअन्तर कायम राख्न प्रयास गरिरहेको बताए। 

एमालेले जिरी नगरपालिका र मेलुङ गाउँपालिकामा प्रमुख–उपप्रमुख जितेको छ भने भीमेश्वर नगरपालिका, बिगु गाउँपालिका र शैलुङ गाउँपालिकामा उपप्रमुख जितेको छ। स्थानीय तहको परिणामले भने एमाले झस्किएको छ। अन्तर्घातकै कारण सोचेजस्तो परिणाम नआएको उसको विश्लेषण छ।

यसपटक पनि व्यापारिक पृष्ठभूमिका शिवाकोटीको उम्मेदवारीप्रति एमालेका पुराना नेता असन्तुष्ट छन्। उनीहरुले पैसा नभएकैले टिकट नपाएको र व्यापारीलाई पार्टी सुम्पेको भन्दै चर्काे असन्तुष्टि पनि जनाएका छन्।

तर, शिवाकोटी त्यसलाई स्वीकार गर्दैनन्।

‘नेता, कार्यकर्ता नयाँ ढंगले परिचालित हुनुभएको छ, दोलखाको समृद्धि गर्ने नेता पाएको भन्दै युवा, विद्यार्थी साथीहरु खटिनुभएको छ,’ शिवाकोटीले भने।

दोलखाको नौ तहमध्ये गठबन्धनले सात वटाको प्रमुख जितेको छ। नेपाली कांग्रेसले भीमेश्वर नगरपलिका प्रमुख, वैतेश्वर र कालिञ्चोक गाउँपालिका अध्यक्ष अनि तामाकोशी र गौरीशङ्कर गाउँपालिकामा उपप्रमुख जितेको छ। 

एकीकृत समाजवादीले तामाकोशी गाउँपालिकामा प्रमुख जितेको छ।

४८ वटा वडा जितेको गठबन्धनले वडाध्यक्षमा ४८ हजार ७ सय ८२ मत पाएको छ। २४ वडा जितेको एमालेले ३९ हजार ३ सय २० मत पाएको छ। एक वडा स्वतन्त्रले जितेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .