नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच भागवण्डा नमिलेपछि सोमबारको लागि बोलाइएको पार्टीको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित गरिएको छ।
पौडेल समूहका नेतासँग देउवा पक्षका नेताहरुले चरणवद्ध वार्ता गरेपनि भागवण्डामा सहमति नजुटेकाले बैठक नै स्थगित गरिएको केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए ।
१४औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न माग गर्दै कार्यसमिति बैठक बहिस्कार गर्दै आएको भएपनि पौडेल समूहले पार्टीको विभिन्न विभाग र भातृ संस्थामा भागवण्डा खोजेको उनले बताए।
कांग्रेसको १३ वटा भ्रातृसंस्थामध्ये धेरैवटाको कार्यकाल सकिएको छ। सभापति देउवाले ती संस्थाको कार्यकाल ६ महिना थप गर्ने योजना केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेपछि पौडेल समूहले त्यसमा भागवण्डा खोजेको लेखकले दाबी गरे।
बाहिर महाधिवेशन कार्यतालिका सार्वजनिक गर्न माग गरेपनि पौडेल समूहले पार्टीभित्र भागवण्डा खोजेको सभापति देउवानिकट केन्द्रीय सदस्य लेखकले बताए। नेपालखबरसँग कुरा गर्दै उनले भने, ‘बाहिर महाधिवेशनको कार्यतालिकाको माग भने पनि उहाँहरु पार्टीको विभाग, नेविसंघ र तरुणदलमा भागवण्डा खोजिरहनुभएको छ जसले गर्दा कुरा मिलेको छैन।’ उनले भने। ‘महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न कुनै समस्या छैन, एक दुईदिनमा आइहाल्छ तर, उहाँहरु सबैतिर भागवण्डा खोजिरहनुभएको छ ।’
केन्द्रीय कार्यसमिति बैठक पुस २ गतेसम्मलाई स्थगित गरिएको र त्यो बीचमा असन्तुष्ट पौडेल समूहसँग वार्ता गरेर निर्णयमा पुग्ने कोशिस गरिने सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए।
मंसिर २६ गते बसेको कार्यसमिति बैठकमा सभापति देउवाले ९–बुँदे एजेण्डा प्रस्तुत गरेका थिए। तर, पार्टीको विभाग २८ बाट बढाएर ४१ बनाउने, भ्रातृ संस्थाको कार्याअवधि थप गर्ने लगायतका विषयमा आपत्ति जनाएर पौडेल समूहले लगातार त्यसदिनको बैठक बहिस्कार गरेको थियो ।
२६ गतेको बैठकमा पौडेल समूहका केन्द्रीय सदस्य महेश आचार्यमात्रै सहभागी भएर आफ्ना धारणा राखि बाहिरिएका थिए। त्यसपछि आइतबार डाकिएको बैठकमा पौडेल समूह कोही पनि उपस्थित भएनन्।
मंसिर २७ गतेदेखि असन्तुष्ट पौडेल समूहलाई मनाउन सभापति देउवा आँफैले सक्रियता देखाएका थिए।
देउवा र उपसभापति निधिले शनिबार वरिष्ठ नेता पौडेलसँग उनकै निवास बोहराटार पुगेर भेट गरेका थिए। त्यसअघि शुक्रबार पनि उपसभापति निधिले पौडेल समूहका नेता प्रकाशमान सिंहसँग भेट गरेर कार्यसमिति बैठकमा सहभागी हुन आग्रह गरेका थिए।
सोमबार बिहानै पनि उपसभापति निधिले प्रकाशमान सिंहसँग उनकै निवासमा पुगेर फेरि भेट गरेका थिए। दुई नेताबीच जारी गतिरोध हटाएर जाने विषयमा छलफल भएपनि १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक नगरी बैठकमा सहभागी नहुने अडान दोहोर्याएपछि कुनै निर्णयमा पुग्न नसकेको उपसभापति निधिले जानकारी दिए।
सोमबार के के भयो?
केहि दिनयता लगातार बैठक बहिस्कार गरेको पौडेल समूह र देउवा समूहले सोमबार पनि छुट्टाछुट्टै भेला गरेका थिए। दिउँसो सानेपा पार्टी कार्यालयमा बसेको देउवा पक्षको बैठकमा उपसभापति बिमलेन्द्र निधिले पौडेल समूहका प्रकाशमान सिंहसँग भेटवार्ता गरेको र उनीहरुको मागको विषयमा जानकारी गराएका थिए।
उता प्रकाशमान सिंहको निवासमा अपरान्ह पौडेल समूहको भेला बसेको थियो। सिंहले निधिसँगको भेटबारेमा आफ्नो समूहलाई ‘ब्रिफिङ’ गरेका थिए।
त्यसअघि मंसिर २६ र २९ गतेको बैठक बहिष्कार गरेको पौडेल समूहको छुट्टै भेला आइतबार बेलुका महामन्त्री शशांक कोइराला निवासमा बसेको थियो।
सभापति देउवा समूहसँग वार्ता पनि गर्ने र आफ्ना अडान पनि राख्ने रणनीति अन्तर्गत अहिलेका वार्ता तथा भेटघाट भइरहेको पौडेल समूहका केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए।
उनका अनुसार आइतबार बसेको पौडेल समूहको भेलाले ४–बुँदे अडान लिने निर्णय गरेको थियो। जसमा १४औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने, क्रियाशील सदस्यता वितरण र छानबिन गर्न दुवै समूहको टोली बनाउनुपर्ने, नेविसंघ र तरुणदलमा दुबै समूहबाट एक एकजना सभापति बनाउनुपर्ने, अन्य समिति सहमतिका आधारमा तोक्नुपर्ने र पार्टीको
२८ वटा विभागको संख्या बढाउन नपाइने लगायतका विषयमा अडान लिने निर्णय गरेको थियो।

प्रतिक्रिया