ad ad

राजनीति


प्रचण्ड चुनावपछि प्रधानमन्त्री बन्लान् त?

प्रचण्ड चुनावपछि प्रधानमन्त्री बन्लान् त?

सागर न्यौपाने
कात्तिक ४, २०७९ शुक्रबार १९:५९, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको तस्बिरसहितको पोस्टर सेयर गर्दे केन्द्रीय सदस्य रामप्रसाद सापकोटाले लेखे– ‘मंसिर ४, प्रचण्ड सरकार।’

एक हप्ताअगाडि सार्वजनिक सो पोस्टरमा चिनियाँ राष्ट्रपति सी चिनफिङकै स्टाइलमा हात उठाएका प्रचण्डको तस्बिरको दायाँ भागमा लेखिएको छ- ‘मनमनमा प्रचण्ड, मनमनमा माओवादी।’

मंसिर ४ गतेको प्रतिनिधि सभा चुनावमा माओवादीले कति सिट जित्छ, अनुमान गर्न गाह्रो छ। जम्मा ४५ सिटमा उम्मेदवार उठाएको माओवादीले सबै सिट जिते पनि संसदको पहिलो पार्टी हुन सम्भव छैन। त्यसमाथि रुपन्देही १ र रौतहट ३ स्वतन्त्रलाई छोडेको छ। 

यो त प्रत्यक्ष तर्फको कुरा भयो, समानुपातिकतिर माओवादीले कति मत पाउला? 

चुनावको लागि मतदाता आकर्षित गर्ने कुनै नारा तयार गर्न नसकेको माओवादीले यसपटक सामाजिक सञ्जालको माध्यमबाट प्रचण्डका दोस्रो प्रधानमन्त्री कार्यकालको प्रचार गरिरहेको छ। त्यो काम प्रचण्डको सचिवालयबाट भइरहेको छ। 

शान्ति प्रक्रियामा हस्ताक्षर गरेकोदेखि देशको लोडसेडिङ हटाउने काम प्रचण्डले गरेको भन्दै पोस्टर सेयर भइरहेका छन्। ‘व्यवस्था बदल्यौँ, अवस्था बदल्न माओवादीलाई भोट’ जस्ता नारा लेखिएका छन्।

चुनावका लागि पार्टीको नीति, एजेन्डा र सम्भावित प्रधानमन्त्री तय गरेर प्रचार गर्ने पुरानै अभ्यास हो।

यसपटक माओवादी, कांग्रेस, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाबीच प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि गठबन्धन बनेको छ। यस्तै मधेशका केही क्षेत्रमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपासँग तालमेल छ।

गठबन्धनबीच सिट बाँडफाँट हुँदा सबैभन्दा बढी कांग्रेसको भागमा परेको छ। त्यसपछि माओवादी, तेस्रोमा एकीकृत समाजवादी र चौथोमा लोसपा छ। राष्ट्रिय जनमोर्चाले २ सिट पाएको छ। 

गठबन्धनभित्रै बागी उम्मेदवारी पनि परेको छ। बलियो हुँदाहुँदै अर्कैलाई क्षेत्र दिएको भनेर कांग्रेसकै नेताहरु असन्तुष्ट छन्। सुदूरपश्चिमका डडेल्धुरा, कञ्चनपुर २ र ३ लगायत केही जिल्लामा एकीकृत समाजवादीले गठबन्धनबाहिरबाट उम्मेदवारी दिएको छ। 

स्थानीय तहमा कांग्रेसले गठबन्धनका अन्य उम्मेदवारलाई मत नदिएको भनेर गुनासो भएको थियो। यसपटक पनि गठबन्धनका दल एकअर्काप्रति इमान्दार नभए मतपरिणाम आकलन गरेभन्दा निकै फरक आउनसक्छ।

को बन्ला प्रधानमन्त्री?
झण्डै दुई हप्तादेखि सामाजिक सञ्जालमा प्रचण्डको पक्षमा माहौल बनाउन आक्रामक चुनावी प्रचार गरिएको छ। २३ असोजमा उम्मेदवारी मनोनयन भएको दिनदेखि सुरु भएको प्रचार झन् तीव्र रुपमा विस्तार भइरहेको छ। अहिले सामाजिक सञ्जाल चलाउने माओवादीका प्रायः सबै नेताहरुले सचिवालयले दिएको प्रचण्डको पोस्टर पोस्ट र सेयर गर्न थालेका छन्। 

माओवादीका नेताहरु मंसिर ४ पछि प्रचण्ड नै प्रधानमन्त्री हुने दाबी गर्छन्। प्रचण्ड निकट एक केन्द्रीय सदस्यले नेपालखबरसँग भने, ‘चुनावपछिको प्रधानमन्त्री प्रचण्ड नै हो, यसमा कुनै द्विविधा छैन।’

प्रधानमन्त्री बन्ने योजनामा बाधा नहोस् भनेरै प्रचण्ड चितवनबाट गोरखा गएको केही माओवादी नेताहरुको विश्लेषण छ।

‘गठबन्धनको सहयोगले जितेको भनेर बारम्बार बचन सुन्नुभन्दा आफ्नो पार्टीको बलियो संगठन रहेको क्षेत्रबाट चुनाव लड्ने उहाँको योजना थियो, गोरखा २ मा त्यही अवस्था छ,’ एक पदाधिकारीले नेपालखबरसँग भने, ‘आफ्नै पार्टीको बलबुताले जितेपछि सबै चुप लाग्छन्।’

प्रचण्डले पनि प्रधानमन्त्री बन्ने आफ्नो चाहना रहेको र गठबन्धनबाट पनि ग्रिन सिग्नल पाएको बताएका छन्।

२ कात्तिकमा एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै प्रचण्डले अवसर आयो भने देशको नेतृत्व गर्ने बताए।

‘अब त मलाई धेरै अनुभव भइसक्यो। जनताले पनि मलाई भरोसा गरेकै देख्छु,’ प्रचण्डले भने, ‘त्यो भरोसालाई देशको नेतृत्व गरेर आर्थिक विकासमा फड्को हान्ने, केही ठूला परियोजना र केही साना परियोजनाको संयोजनमार्फत फड्को हान्न मन छ मलाई।’

प्रचण्डले प्रधानमन्त्री देउवा समेत यसमा सकारात्मक रहेको दाबी गरे। 

‘मलाई शेरबहादुर देउवाजीले पोजेटिभ्ली नै सोच्नुभएको स्मेल आउँछ,’ प्रचण्डले थपे, ‘अब त जता गए पनि प्रधानमन्त्री तपाईं नै हो भन्छन्। म रेसमा छैन भनिराख्या छु तर, पनि सबैले भन्छन्।’

२०७८ असार २८ गते सर्वाेच्च अदालतको आदेशले प्रधानमन्त्री नियुक्त भएका कांग्रेसका सभापति शेरबहादुर देउवाले ३१ वैशाखको स्थानीय तह र ४ मंसिरको प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव गराउने भएका छन्। दुबै चुनाव देउवाको नेतृत्वमा भएकोले गठबन्धनले बहुमत ल्याएको अवस्थामा प्रचण्ड प्रधानमन्त्री बन्ने निश्चितजस्तै भएको माओवादी नेताहरुको दाबी छ।

माओवादीका नेताहरुले दाबी गरेपनि गठबन्धनले बहुमत ल्याउँछ कि ल्याउँदैन? निश्चित छैन।  गठबन्धनले अहिलेसम्म भावी प्रधानमन्त्रीबारे औपचारिक कुनै निर्णय पनि गरेको छैन।

दैनिक चुनाव प्रचारमा खटिएका नेताहरुले पनि भावी प्रधानमन्त्रीबारे मुख खोल्ने आँट गरेका छैनन्। ३० असोजको काठमाडौंको चुनावी कार्यक्रममा बोल्दै देउवा, प्रचण्ड र नेपालले चुनावपछि पनि गठबन्धनको सरकार बन्ने घोषणा भने गरेका छन्। 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक टेलिभिजनलाई दिँदै चुनावपछिको प्रधानमन्त्रीबारेमा गठबन्धनमा कुनै छलफल नै नचलेको बताएका छन्।

तर, नेताहरु चुनावपछिको परिदृश्य फेरिनसक्ने सम्भावना रहेको पनि बताउँछन्। चुनावमा गठबन्धन बलियो बने यसले निरन्तरता पाउन सक्छ। यदि कांग्रेसका उम्मेदवारले बढी जित्ने र गठबन्धनका अरु दलहरु खुम्चिने स्थितिमा नयाँ समीकरण बन्नसक्ने उनीहरुको विश्लेषण छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .