ad ad

राजनीति


मंसिरपछि गठबन्धन भत्किने ४ आधार, तर देउवा भन्छन्– २० वर्ष जान्छ

मंसिरपछि गठबन्धन भत्किने ४ आधार, तर देउवा भन्छन्– २० वर्ष जान्छ

अरुण बराल
कात्तिक ४, २०७९ शुक्रबार २१:१९, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बुटवलबाट अहिलेको सत्ता गठबन्धन २० वर्षसम्म कायम रहन सक्ने घोषणा गरे। तर, भित्री यथार्थचाहिँ अर्कै छ।

चुनावलगत्तै अहिलेको सत्ता गठबन्धन भत्किएर वाम गठबन्धन बन्न सक्ने ‘अप्सन’ स्वयं सत्तापक्षका नेताहरुले नै खुल्ला राखेका छन्।

बुटवलमा शुक्रबार प्रधानमन्त्री देउवाले भने, ‘अहिलेका लागि गठबन्धन अपरिहार्य छ। आवश्यक छ। भोलिका दिनमा पनि गठबन्धन भएपछि गठबन्धनकै सरकार बन्ने हो। त्यसपछि धेरै ठाउँ हुन सक्छ। धेरै कुराहरु मिल्न सक्छन्। यतिमात्र होइन, साँच्चिकै भन्ने हो भने हामी १०–२० वर्ष गठबन्धनको साथ अघि बढ्न सक्छौं ।’

प्रधानमन्त्री देउवाले अगाडि भने, ‘२० वर्ष स्थायी तरिकाले नेपालमा ल्याएको प्रजातन्त्र, गणतन्त्र, समावेशी लगायतका सबै कुराहरु हामी स्थापित गर्न सक्छौं।’

नेताहरुले गठबन्धन दुई दशक लामो जान सक्छ भन्दैमा पत्याइहाल्ने आधारचाहिँ देखिन्न। हिजो नेकपा हुँदा पनि वाम गठबन्धन २० वर्ष, ५० वर्ष नटुट्ने नेताहरुले बताएकै थिए। वाम गठबन्धन ५० महिना पनि टिकेन।

प्रधानमन्त्री देउवाले गठबन्धनको आयु १०, २० वर्ष तोके पनि मंसिर ४ मा मतदान सकिनेवित्तिकै वाम–कांग्रेस गठबन्धन भत्किएर कम्युनिस्टहरुको बेग्लै गठबन्धन बन्न सक्ने केही आधार अहिले नै देखिइसकेका छन्।

एक– नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र जनमोर्चाको जुन गठबन्धन बनेको छ, विचार र व्यवहार दुबै हिसाबले  यो धेरै कसिलो छैन।

दुई– सत्तापक्षीय दलले चुनावपछिको ‘पावर सेयरिङ’ गरेका छैनन्, केवल चुनावी तालमेल मात्र गरेका छन्। चुनावपछि के गर्ने, सबै स्वतन्त्र छन्।

तीन– चुनावपछिको शक्ति सन्तुलन कस्तो बन्ला भन्ने अहिले नै टुंगो लागेको छैन। चुनावी नतिजाले नै आगामी शक्ति सन्तुलनलाई दिशानिर्देश गर्नेछ। खासगरी नेकपा एमालेले ल्याउने चुनावी परिणामले पनि सत्ता गठबन्धनको आयु निर्धारण गरिदिने छ।

चार– केही देशी र विदेशी ‘प्रेसर ग्रुप’ हरु छन्, जसले अहिलेको वाम–लोकतान्त्रिक गठबन्धनलाई तोडेर एमालेसहितको वाम गठबन्धन बनाउन ‘पुस फ्याक्टर’ को काम गर्नेछन्।

यिनै चारवटा आधारमा अहिलेको सत्ता गठबन्धनको आयु निर्भर रहनेछ। प्रधानमन्त्री शेरबहादुर देउवाको चाहनाले मात्रै गठबन्धन दीर्घकालसम्म जाने देखिन्न।

अब यी चारवटा आधारमाथि व्याख्यात्मक टिप्पणी गरौं।

पहिलो– गठबन्धन कसिलो छैन।

उदाहरणका लागि काठमाडौं १० मा माओवादीले कांग्रेसका उम्मेदवारलाई सघाएको छैन। अञ्जना बिसंखे माओवादीको आधिकारिक उम्मेदवार छिन् र उनले प्रचण्डकै सहमतिमा उम्मेदवारी दिएको बताएकी छिन्। त्यहाँ कांग्रेसले चुनाव हार्यो भने माओवादीलाई दोष जानेछ।

गठबन्धनमा बागीहरुको यस्तै स्थिति देशैभर छ। संघका विभिन्न ८ ठाउँमा माओवादीविरुद्ध कांग्रेसका बागी उठेका छन्। कैलाली ३, बैतडी, रुकुमपश्चिम, बर्दिया २, झापा २, चितवन ३ सिन्धुपाल्चोक १ र कपिलवस्तु १ मा माओवादीविरुद्ध कांग्रेसका बागी छन्।

प्रदेशतर्फ पनि एकीकृत समाजवादीका १७ र कांग्रेसका १६ समेत गरी ३३ जनाले माओवादीविरुद्ध बागी उम्मेदवारी दिएको अवस्था छ।

जतात्यतै बागीहरु उठेका, उठाइएका छन्। एकले अर्कालाई धोका दिने र अन्तरघात गर्ने खतरा बढ्दो छ। यस्तो घात–अन्तरघातकै कारण कतिपय ठूला नेताले हारे भने चुनावपछि गठबन्धनमा दरार आउन सक्छ।

यो तथ्यले अहिलेको सत्ता गठबन्धन खुकुलो रहेको प्रमाणित हुन्छ।

यसबाहेक चुनावमा एकले अर्कोलाई भित्रीरुपमा नसघाउने, धोका दिने र अन्तरघात गर्ने खतरा त छँदैछ।

यदि चुनावमा गठबन्धनको ‘धर्म’ राम्रोसँग पालना भएन भने त्यसको ‘साइड इफेक्ट’ चुनाव लगत्तैको सरकार निर्माणमा देखा पर्न सक्छ।

दोस्रो– पावर सेयरिङको कुरा।

आम निर्वाचन सकिएपछि सत्ताका प्रमुख पदमा पावर सेयरिङ कसरी गर्ने भन्नेबारे शेरबहादुर देउवा, प्रचण्ड र माधव नेपालवीच कुनै पूर्वसहमति भएको देखिँदैन।

खासगरी प्रधानमन्त्री को हुने? राष्ट्रपति र उपराष्ट्रपति कुन दलबाट बनाउने? सभामुख र उपसभामुख कसलाई बनाउने भन्नेबारे सत्ता गठबन्धनबीच छलफलै नभएको नेताहरु बताउँछन्।

माओवादी अध्यक्ष प्रचण्डले आफू जता जाँदा पनि जनताले भावी प्रधानमन्त्री तपाई नै हो भन्न थालेको बताएका छन्। उनले भावी प्रधानमन्त्री देउवा हो भनेका छैनन्। बरु माओवादी कार्यकर्ताले ‘मंसिर ४ प्रचण्ड सरकार’ भन्दै प्रचार गर्न थालिसकेका छन्।

पूर्वप्रधानमन्त्री एवं गठबन्धनका नेता माधवकुमार नेपालले यसैसाता ग्यालेक्सी टेलिभिजनलाई दिएको अन्तरवार्तामा भावी प्रधानमन्त्रीबारे अहिलेसम्म कुरै नभएको बताएका छन्। कांग्रेस नेता सुनीलबहादुर थापाले चाहिँ ऋषि धमलासँगको अन्तरवार्तामा भावी प्रधानमन्त्री शेरबहादुर देउवा नै हो भनेका छन्।

स्वयं नेपाली कांग्रेसको एउटा समूह शेरबहादुर देउवालाई ‘भावी प्रधानमन्त्री’ मानेर चुनावमा जाने पक्षमा छैन। देउवाको अनुहार देखाएर चुनाव नजितिने कतिपय कांग्रेसकै नेताहरुको तर्क छ।

यो अवस्थामा गठबन्धन दलका नेताहरुले जनतालाई भावी प्रधानमन्त्रीको नाम दिन सकेको स्थिति छैन। जबकि ०७४ को चुनावमा प्रचण्डले समेत भावी प्रधानमन्त्री केपी ओली हुन् भनेका थिए। उनीहरुबीच आधा–आधा प्रधानमन्त्री चलाउने गोप्य कागज भएको रहेछ। अँध्यारोमा भएको सहमति उज्यालोमा काम लागेन।

अहिले सत्ता गठन्धनबीच चुनावपछिको पावर सेयरिङ नभएकाले भोलि जुनसुुकै निर्णय लिन देउवा, माधव र प्रचण्ड स्वतन्त्र देखिन्छन्। यो अवस्थामा देउवाले प्रधानमन्त्रीको दाबी छाडेनन् भने प्रचण्ड जोसँग मिलेर भए पनि प्रधानमन्त्री बन्न सक्छन्।

चुनावपछि हुने पावर सेयरिङमा राष्ट्रपति र सभामुखको कार्ड पनि राम्रैसित प्रयोग हुने हुनाले जता बढी पाइन्छ, त्यतै गठबन्धन गर्ने नीतिमा दलहरु जान सक्छन्,, जसले गर्दा अहिलेको गठबन्धन भत्किन सक्छ।

तेस्रो– चुनावपछिको शक्ति सन्तुलन।

नेपाली कांग्रेसले एकल बहुमतको अपेक्षा गरेको छ। एकल बहुमत आएन भने माओवादी बाहेक लोसपा लगायतका दलसँग मिल्दा बहुमत पुगोस् भन्ने उसको लक्ष देखिन्छ। किनभने, माओवादी गठबन्धनका लागि भरपर्दो शक्ति होइन भन्ने कांग्रेसको भित्री विश्लेषण छ। यसर्थ माओवादी विनाकै बहुमत कांग्रेसको अहिलेको लक्ष हो।

माओवादीको लक्षचाहिँ आफ्नो समर्थनविना कांग्रेस या एमाले कसैको पनि बहुमत नपुगोस् भन्ने देखिन्छ। त्यो अवस्थामा कांग्रेस वा एमाले जता मिलेर भए पनि सरकारको ‘किङ मेकर’ बन्न सकिन्छ र प्रधानमन्त्री नै बन्न पनि सकिन्छ भन्ने प्रचण्डको लक्ष देखिन्छ।

आगामी चुनावमा अहिलेकै गठबन्धन मिल्दा बहुमतको सरकार बन्ने स्थिति आयो भने यो गठबन्धन केही परसम्म जान सक्ला। तर, स्वतन्त्र र बागीहरुले केही सिटहरु काटेर नेकपा एमालेको ध्रुव अपेक्षाकृत दह्रो बन्यो भने अहिलेको गठबन्धन फेरिन सक्छ। त्योबेला वाम गठबन्धनको दोस्रो संस्करण सतहमा आउन सक्छ।

त्यसर्थ, अहिलेको सत्ता गठबन्धनको आयु थाहा पाउन मंसिर ४ पछिको शक्ति सन्तुलन हेर्नैपर्छ।

र, चौथो– देशी विदेशी ‘पुस फ्याक्टर’

नेपालमा केही यस्ता नेता छन् जो कांग्रेस–माओवादीको गठबन्धन रुचाउँदैनन्। त्यस्ता व्यक्तिहरु कांग्रेसभित्र पनि छन् र माओवादीभित्र पनि। कांग्रेसका ती नेताहरु माओवादीलाई नबोकी नेपाली कांग्रेस एक्लै हिँड्नुपर्छ भन्ने चाहन्छन्। उता माओवादीका त्यस्ता नेताहरु फेरि वृृहत वाम एकता गर्नुपर्छ भन्छन्। एमालेबाट अलग भएका घनश्याम भुसाल पनि वाम एकताकै पक्षधर हुन्।

चुनावपछि वाम एकता पक्षधरहरुको प्रभाव बढ्ने र फेरि वाम ध्रुवीकरण हुन सक्ने कतिपय माओवादीकै नेताहरुले अनौपचारिक कुराकानीमा बताउने गरेका छन्।

अर्को पुस फ्याक्टर हो– छिमेकी। सबैलाई थाहा भएकै कुरा हो चीनियाँ नेताहरुले नेपाल भ्रमण गरेर वाम एकताको ‘नरम दबाव’ दिइसकेका छन्।

दक्षिणले वाम एकता नै नचाहे पनि कांग्रेसबाट माओवादीलाई अलग गराउने चाहना प्रकट गर्न सक्छ, जसको प्रतिक्रियास्वरुप चुनाव लगत्तै फेरि कम्युनिस्ट पार्टीहरु आपसमा मिल्ने परिस्थिति आउन सक्छ।

यिनै चार कारणले गर्दा अहिलेको सत्ता गठबन्धनको भविष्य अनिश्चित बनेको छ। मंसिर ४ लगत्तै मत परिणामको ‘रुझान’ ले नै यसको आयुरेखा स्पष्ट पार्ने छ। अब यसका लागि अब ३० दिन पर्खौं।

हो, एउटा अवस्थामा यो गठबन्धनको आयु देउवाले भनेजस्तै लामो हुन सक्छ– यसका लागि चुनावपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन  देउवा तयार हुनुपर्छ। यो कति सम्भव छ, बहसकै विषय हो। 

तर, राजनीतिक–वैचारिक हिसाबले हेर्दा चुनावपछि कांग्रेस–कम्युनिस्टबीच ‘प्रतिस्पर्धा प्रधान, सहकार्य गौण’ हुने सम्भावना नै बढी देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .