राजनीति


‘गलबन्दी च्यातियो...’ गीतका सर्जकविरुद्ध जातीय टिप्पणी गर्नेमाथि कारवाही माग

‘गलबन्दी च्यातियो...’ गीतका सर्जकविरुद्ध जातीय टिप्पणी गर्नेमाथि कारवाही माग

नेपालखबर
असार १०, २०७६ मंगलबार ७:३६,

प्रतिनिधिसमाको बैठकमा सांसदहरुले ‘गलबन्दी च्यातियो...’ शीर्षकको गीतका सम्बन्धमा कुनै समुदायमाथि नै आघात हुने गरी सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै दोषीलाई कानूनी कारवाही गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद विमला विकले ‘गलबन्दी च्यातियो...’ शीर्षकको गीतको लय नक्कल भएको भन्दै गीतका सर्जकद्वय प्रकाश सपुत र शान्ति श्री परियारमाथि सामाजिक सञ्जालमा तल्लोस्तरको टिप्पणी हुँदा पनि सरकार मुकदर्शक भएको भनी आपत्ति जनाइन्।

उनले सम्बन्धित व्यक्तिलाई कानूनी कारवाही गर्न माग गरिन्। सांसद महेश्वरजङ्ग गहतराजले पनि ‘गलबन्दी च्यातियो...’ शीर्षकको गीतको लय नक्कल भएको भन्ने सम्बन्धमा सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै जातीय द्वन्द्व फैलाउने गरी टिप्पणी गर्ने व्यक्तिलाई कानूनी कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद विमला नेपालीले गृहमन्त्रालयको कहिले रोक्ने र कहिले दिने भन्ने निर्देशनले नेपाली नागरिकतासम्बन्धी समस्या बल्झिरहेको छ भन्दै ११ महीनादेखि ओझेलमा रहेको सोसम्बन्धी विधेयकलाई तत्काल अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।

सिरिञ्ज आक्रमण घटना रोक्न माग सांसद मीनबहादुर विश्वकर्माले ढुवानीमा मूल्यअभिवृद्धि कर लगाउँदा समस्या भएकाले उक्त कर खारेज गर्न माग गरे। सांसद मीना सुब्बाले केही सातायता काठमाडौँमा सिरिञ्ज आक्रमणका घटना बढेकाले यसलाई नियन्त्रण गर्न र सर्वसाधारणलाई यसको त्रासबाट बचाउन सरकारको ध्यानाकर्षण गराए।

सांसद यज्ञबहादुर बोगटीले अछाममा विप्लव समूहका कार्यकर्ताले एक निजी घरमा आगजनी गरेको घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै पर्याप्त सुरक्षाको व्यवस्था गर्न माग गरे। सांसद यज्ञराज सुनुवारले शिक्षा क्षेत्रलाई सरकारले प्राथमिकतामा राखे पनि सङ्घीय ऐेन समयमै नआएसम्म सरकाको उद्देश्य पूरा नहुने धारणा व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad