राजनीति


धादिङ पुगेर प्रचण्डले भने : गठबन्धन छ, डुबे सबै दल डुब्छौँ, उत्रे सबै उत्रिन्छौँ

धादिङ पुगेर प्रचण्डले भने : गठबन्धन छ, डुबे सबै दल डुब्छौँ, उत्रे सबै उत्रिन्छौँ

नेपालखबर
कात्तिक ११, २०७९ शुक्रबार १७:४४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ पाँच दलीय गठबन्धन चुनावका लागि मात्रे नबनेको बताएका छन्।

धादिङको सल्यानटारमा शुक्रबार गठबन्धनका कार्यकर्तालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

'यो गठबन्धन चुनावका लागि भनेर बनेको होइन। संविधान लोकतन्त्र र राष्ट्रियताका लागि यो गठबन्धन बनेको हो', उनले भने, 'यो सन्देश हामीले प्रदेशमा भेला गरेर पनि भनिसकेका छौँ। गठबन्धन दलका सबै नेता भेला भएर सम्बोधन गरेको हो।'

उनले धादिङमा पनि गठबन्धनका कार्यकर्तालाई एकअर्का दलका चुनाव चिह्नमा भोट हाल्न संकोच नमान्न आग्रह गरे। 

'भोट हाल्नेबारे तपाईंहरुले संकोच नमान्नु होला। कहिलेकाहीँ साथीहरूलाई रुख, हँसिया हथौडा र कलममा भोट हाल्नेबारे अलिक अफ्ठ्यारो मानेर कुरा गरेको सुनिन्छ', उनले भने, 'हामी सबै एकै डुंगामा चढेका छौँ। संविधान र लोकतन्त्रका लागि गठबन्धन हो। एकअर्कालाई भोट हाल्न संकोचन नमानौँ। यहाँ यो त्यो दल भन्ने होइन, गठबन्धन एउटै डुंगामा छ। डुंगा डुबे सबै डुब्छौँ, उत्रिए सबै दल उत्रिने हो।' 

उनले देशमा राजनीतिक परिवर्तन भए पनि आर्थिक विकासले गति लिन नसक्दा समस्या भएको पनि बताए।

'आर्थिक विकास र समृद्धिको नेतृत्व हामीले गर्छौँ। आर्थिक क्रान्ति गर्न सकिएन भने यो राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न हामीलाई गाह्रो पर्छ', उनले भने, 'आज हामीले वक्तव्य जारी गरेका छौँ। अब हामी एक भएका छौँ।  
अब उम्मेदवारहरु सबै साझा भएका छन्। एकजुट भएर जनतालाई पनि परिचालित गर्नुपर्यो। गठबन्धनले बहुमतले जित्नुपर्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad