राजनीति


आयोगले सोध्यो सूर्य थापा र जुली महतोलाई २४ घण्टे स्पष्टीकरण

आयोगले सोध्यो सूर्य थापा र जुली महतोलाई २४ घण्टे स्पष्टीकरण

नेपालखबर
कात्तिक १२, २०७९ शनिबार २०:५६, काठमाडौँ

निर्वाचन आयोगले नेकपा एमालेका दुईजना उम्मेदवारलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।

आयोगले शनिबार प्युठानबाट प्रतिनिधिसभाका उम्मेदवार सूर्यबहादुर थापा क्षेत्री र धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका उम्मेदवार जुलीकुमारी महतोलाई स्पष्टीकरण सोधेको हो। 

आयोगले थापालाई निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको श्रव्यदृश्य सामग्री प्राप्त भएपछि स्पष्टीकरण सोधेको हो।

'निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्नु हुँदैन भन्ने जानकारी हुँदाहुँदै तपाईंले सो कार्य गरेको देखिएकोले निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारवाही किन हुनु नपर्ने हो?', थापालाई आयोगले सोधेको स्पष्टीकरणमा सोधिएको छ।

त्यसैगरी आयोगले धनुषा क्षेत्र नं. ३ बाट एमाले उम्मेदवार जुलीकुमारी महतो (महासेठ) लाई स्पष्टीकरण सोधेको छ। 

उनले आफ्नो तस्बिरसहितको फ्लेक्स अटो रिक्साको पछाडि राखी सूर्य निर्वाचन चिह्नमा मत मागेको फोटो आयोगमा प्राप्त भएकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।

'तपाईं नेकपा (एमाले) को तर्फबाट धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार भई निर्वाचन आचारसंहिताको विपरीत हुनेगरी निर्वाचन प्रचारप्रसार गर्ने कार्य गर्नु भएको देखिएको हुँदा यो पत्र तपाईंलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय धनुषामा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्नु हुन', आयोगले भनेको छ। 

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३, राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरण अन्तर्गत उपदफा (१) को खण्ड (ड) मा ‘उम्मेदवार वा दलले आफ्नो कार्यालयबाहेक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरू प्रदर्शन गर्न नहुने’ व्यवस्था छ।

उक्त दफाको खण्ड (द) मा ‘कुनै किसिमको भित्तेलेखन गर्न वा गराउन, चारपांग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडा लगायत सबै प्रकारका सवारी साधन प्रयोग गरी र्‍याली आयोजना गर्न वा प्रचारप्रसार गराउन नहुने’ व्यवस्था छ रहेको छ। 

महतोको कदम निर्वाचन आचारसंहिताको उल्लेखित दफा १३ को उपदफा (१) को खण्ड (ड) को प्रतिकूल रहेको आयोगले ठहर गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .