ad ad

राजनीति


बागीको चुनौतीबीच छैटौँ जितको खोजीमा भण्डारी, रोक्न सक्लान् एमालेका यादवले?

बागीको चुनौतीबीच छैटौँ जितको खोजीमा भण्डारी, रोक्न सक्लान् एमालेका यादवले?

फाइल तस्बिर


जनार्दन पोखरेल
कात्तिक १८, २०७९ शुक्रबार १०:२४, सर्लाही

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता शरतसिंह भण्डारी महोत्तरीबाट छैटौँपटक चुनाव जित्ने दाउमा छन्।

भण्डारी सत्तारुढ गठबन्धनबाट महोत्तरी २ मा प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार हुन्।

भण्डारीसँग एमाले–जसपा गठबन्धनबाट डा. रामपरीक्षण यादवले प्रतिस्पर्धा गर्दै छन्। जनकपुर अञ्चल अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट यादव चिकित्सा पेसाबाट अवकाशपछि राजनीतिमा आएका व्यक्ति हुन्।

प्रदेशसभातर्फ महोत्तरी २ (क) मा सत्तारुढ गठबन्धनबाट लोसपाका केन्द्रीय सदस्य जयलुन राइन उम्मेदवार छन्। यो क्षेत्रमा विपक्षी गठबन्धनले जसपाका धर्मेन्द्र साहलाई उम्मेदवार बनाएको छ। 

त्यसैगरी  महोत्तरी २ (ख) मा सत्तारुढ गठबन्धनबाट कांग्रेसका महोत्तरी जिल्ला सभापति नागेश्वर यादव उम्मेदवार छन् भने एमालेले लक्ष्मीनारायण भगतलाई उम्मेदवार बनाएको छ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी २ मा भण्डारी र यादवबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। 

तर, गएको ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा विशेश्वरलाल कर्ण नेतृत्वको तमलोपाले यो क्षेत्रमा एउटा पालिकामा जितेका कारण त्यो पार्टीका उम्मेदवार डा. विजयसिंहलाई पनि कमजोर आँक्न नमिल्ने जानकारहरूको तर्क छ।

राजपा र लोसपाको केन्द्रीय कमिटीमा बसेर काम गरिसकेका सिंहलाई पनि यहाँ बलियो उम्मेदवारका रूपमा हेरिएको छ। 

स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा पालिका प्रमुखहरूले पाएको मत हेर्दा सत्तारुढ गठबन्धन विपक्षी (एमाले-जसपा) गठबन्धनभन्दा निकै बलियो देखिन्छ।

यो क्षेत्रका पालिका प्रमुखमा एमाले-जसपाले करिब १८ हजार मत प्राप्त गर्दा सत्ता गठबन्धनका दलले ३४ हजारको हाराहारीमा मत पाएका छन्।

पाँच दलीय गठबन्धनका साझा उम्मेदवार, संसदीय राजनीतिका माहिर खेलाडी र मधेसका चर्चित नेता भएका कारण पनि यो क्षेत्रमा भण्डारीको जित सुनिश्चित रहेको दाबी लोसपाका जिल्ला अध्यक्ष रामबाबु यादव गर्छन्।

०७४ को निर्वाचनमा भण्डारी राष्ट्रिय जनता पार्टीबाट ३० हजार ७२२ मतसहित विजयी भएका थिए। त्यतिबेला उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किरण यादवले १३ हजार ९७४ मत मात्रै प्राप्त गरेकी थिइन्। ०७४ मा लोसपा र राजपाबीच गठबन्धन थियो। 

संसदीय निर्वाचनका माहिर खेलाडी भण्डारी झण्डै पाँच दशकदेखि राजनीतिमा सक्रिय छन्। भण्डारी  पहिलोपटक ०३८ सालमा राष्ट्रिय पञ्चायतमा विजयी भएका थिए।

त्यसयता हरेक संसदीय निर्वाचनमा भाग लिएका भण्डारीले २०७४ सालसम्म आइपुग्दा ३ पटक हारेका छन् भने ५ पटक जितेका छन्। यसपटक उनी छैटौँ जितको खोजीमा छन्।

अहिलेसम्म उपप्रधानमन्त्रीसहित १५ पटक मन्त्री भइसकेका भण्डारी २०५१ सालको निर्वाचनमा स्वतन्त्रबाट समेत विजयी भएका थिए।

महोत्तरी २ मा ३६ वटा वडा छन्। बलबा र लोहारपट्टी नगरपालिका यही क्षेत्रमा पर्छन्।  त्यसैगरी पिपरा र महोत्तरी गाउँपालिका पनि यही क्षेत्रमा पर्छन्। औरही नगरपालिकाका चार र एकडारा गाउँपालिकाको एउटा वडा पनि यही क्षेत्रमा समेटिएको छ। 

स्थानीय तह निर्वाचनमा बलबा नगरपालिकामा भण्डारीको पार्टी लोसपाले जित हात पारेको छ। त्यसैगरी लोहारपट्टी नगरपालिकामा कांग्रेस, पिपरामा जसपा र महोत्तरी गाउँपालिकामा तमलोपाले जित हासिल गरेको छ। 

यो क्षेत्रमा कांग्रेसबाट किरण यादव पनि टिकटको आकांक्षी थिइन्। तर, केन्द्रमा शीर्ष नेताहरूबीच सिटको बाँडफाँड हुँदा यो क्षेत्र लोसपाको भागमा पर्‍यो। भण्डारी सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार भए पनि कांग्रेसको एउटा खेमाले शरतसिंहलाई अझै पनि खुलेर सहयोग गर्न सकेको छैन। 

अर्कातिर गठबन्धनमै रहेर पनि नेकपा एकीकृत समाजवादीले यहाँ शरतसिंहलाई सहयोग गरेको छैन। एकीकृत समाजवादीबाट मञ्जु यादवले उम्मेदवारी दिएकी छन्। 

त्यसैगरी भण्डारीसँगै ०७४ मा प्रदेशसभामा विजयी भएकी लोसपाकी केन्द्रीय सदस्य सुरिता साहले पनि भण्डारीविरुद्ध बागी उम्मेदवारी दिएकी छन्। 

आफ्नै पार्टीबाट बागी उम्मेदवार भएका कारण पनि यो निर्वाचनमा भण्डारीलाई पहिलाजस्तो सहज नहुने तर्क उनका प्रतिस्पर्धी एमाले उम्मेदवार डा. रामपरीक्षण यादवको छ। 

‘महोत्तरीबाट उहाँ धेरैपटक विजयी भइसक्नुभयो,’ यादवले नेपालखबरसँग भने, ‘यसपटक यहाँका जनताले नयाँ अनुहार खोजेका छन्। मैले चिकित्सा पेसामा रहेर गरेको सेवाको कारण पनि यसपटक जनताले मलाई मतदान गर्नुहुन्छ भन्ने विश्वास मलाई छ।’

तर, भण्डारीको निर्वाचन अभियानमा सहभागी लोसपाका महोत्तरी जिल्ला सचिव कौशल झा भने शरतसिंह भण्डारीसँग अन्य उम्मेदवारको प्रतिस्पर्धै नहुने दाबी गर्छन्। 

‘यो क्षेत्रमा लोसपा पनि बलियो शक्ति हो। त्यसमा पनि गठबन्धन दलको साथ हामीलाई छ,’ झाले भने, ‘हामी प्रतिस्पर्धीलाई दोब्बरभन्दा धेरै मतान्तरले पराजित गर्ने छौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .