ad ad

राजनीति


‘ग्रिन जोन’ मा पम्फा, कांग्रेसको गुटबन्दीमा खेल्ने एमालेको दाउ

‘ग्रिन जोन’ मा पम्फा, कांग्रेसको गुटबन्दीमा खेल्ने एमालेको दाउ

सागर न्यौपाने
कात्तिक २१, २०७९ सोमबार १०:५६, काठमाडौँ

‘चुनावजस्तै छैन, घरदैलो पनि खै किन हो कम भएको जस्तो लाग्छ,’ कुपण्डोलमा भेटिएका ललितपुर–३ का एक मतदाताले नेपालखबरसँग भने, ‘स्थानीय तहमा जस्तो चुनावको रौनक छैन। चुनावको मुखमै यस्तो उराठलाग्दो अवस्था अहिलेसम्म देखिएको थिएन।’

स्थानीय तहको चुनावमा उम्मेदवारहरु जुलुस लिएर मत माग्दै घरघर पुगेका हुन्थे। तर, प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आउन १३ दिन बाँकी छँदा पनि त्यस्तो चहलपहल नदेखिएको मतदाताको भनाइ छ।

एमाले ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यले चुनावमा पहिलेजस्तो ठुल्ठूला जुलुस, सभा नगरेको बताए।

‘स्थानीय चुनावले हामीलाई धेरै कुरा सिकायो, टोलटोलमा जाने, घरदैलो बढी गर्नुपर्ने रहेछ,’ आचार्यले भने, ‘ठूला सभा र जुलुुसको भर नगर्ने, त्यसो गर्दा खर्च मात्रै हुने, मतदातालाई आफ्नो कुरा बुझाउन नपाइने रहेछ।’

यो क्षेत्रमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी निवर्तमान सांसद पम्फा भुसाल, नेकपा एमालेबाट अमृत खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. तोसिमा कार्कीसहित २० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

३ नम्बर क्षेत्रमा ललितपुर महानगरपालिकाका वडा नं १, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २० २१, २२, २३, २४, २५, २६, २७, २८, २९ र गोदावरी नगरपालिकाका १२ र १४ गरी २२ वटा वडा पर्छन्। जहाँका ४८ हजार ८१० महिला र ४५ हजार ३०६ पुरुष गरी ९४ हजार ११६ मतदाताले कसलाई सिंहदरबार पठाउने भनेर मंसिर ४ मा फैसला गर्नेछन्।

पम्फा भुसाल अगाडि
नेपालखबरले आइतबार सो क्षेत्रको स्थलगत अवलोकन गर्दा मतदातामाझ कुनै एक उम्मेदवारले ठूलो लहर सिर्जना गर्न सकेको देखिएन। हामीले भेटेका मतदातामध्ये कोही गठबन्धनको पक्षमा, कोही एमालेको पक्षमा र कोही स्वतन्त्रको पक्षमा थिए। 

तर, वडा नम्बर २२ चुनिखेलमा भेटिएका एक स्थानीयले गठबन्धनकी भुसाल सबैभन्दा बलियो उम्मेदवार भएको दाबी गरे।

‘यहाँबाट गठबन्धन उम्मेदवारले निकै मत लैजाने देखिन्छ,’ आइतबार दिउँसो नेपालखबरसँग ती स्थानीयले भने, ‘यो क्षेत्रमा उनको प्रभाव पनि राम्रो छ।’

भुसालले संसद् विकास कोषको बजेट टोल, समूह, आमा समूह, महिला, युवा क्लबलगायतलाई दिएको, पुल निर्माण र पहिरो नियन्त्रणमा बजेट छुट्याएको उनको भनाइ थियो।

सत्ता गठबन्धनकाे साझा उम्मेदवार बनेकी पम्फा भुसाल चुनावी प्रचारकाे क्रममा। तस्बिर : नेपालखबर।

‘पम्फा भुसाललाई हामीले सजिलै भेट्न, कुरा राख्न सक्छौं,’ गोदावरी नगरपालिका वडा नम्बर १४ का एक मतदाताले भने, ‘उहाँलाई हाम्रो संस्कार, संस्कृतिको बारेमा पनि जानकारी छ। उहाँको जत्तिको पहुँच अरु उम्मेदवारको छैन।’

हामीले कुरा गरेका मतदाताहरुको रायका आधारमा २० कात्तिकसम्म भुसाल ‘ग्रिन जोन’ मा देखिन्छिन्।

ललितपुरमा गठबन्धनका दलमध्ये कांग्रेस सबैभन्दा बलियो छ। त्यसपछि माओवादी केन्द्र छ। अनि नेकपा एकीकृत समाजवादी छ। यी तीनै दल एकै ठाउँमा भएकाले पनि भुसाल बलियो अवस्थामा छिन्।

स्थानीय तहमा वडाध्यक्षहरुले पाएको मत हेर्दा तीनै दलको ३३ हजार मत छ। अर्कोतिर, एमालेको झण्डै २० हजार मत छ। राप्रपाको ४ हजार मत छ। यस्तै स्वतन्त्रले ३ हजार पाँच सय मत पाएका थिए।

ललितपुर महानगरको ४, १०, १४, २०, २८ को वडा  कांग्रेसले जितेको छ। यस्तै २१, २६ र २७ वडा माओवादी केन्द्रले र २ र ३ वडा एकीकृत समाजवादीले जितेको थियो। १ र १३ वडा स्वतन्त्रले जित्दा ५, १५, १८, २२, २३, २४, २५, २९ मा एमाले विजयी भएको थियो।

त्यसमाथि एमालेको उम्मेदवार उति चर्चित नभएका कारण पनि भुसाललाई फाइदा हुने मतदाताको राय देखियो।

एमालेका उम्मेदवार ‘नभिजेका’
एमालेका उम्मेदवार अमृत खड्का भैँसेपाटीका बासिन्दा हुन्। तर, उनको उम्मेदवारीलाई लिएर पार्टीभित्रै असन्तुष्टि छ।

एमाले जिल्ला अध्यक्ष आचार्यले मतदाताको मनोविज्ञान बुझेर आफूहरुले मत मागिरहेको बताए। तर, सो पार्टीका एक असन्तुष्ट जिल्ला नेताले खड्काको उम्मेदवारीमाथि प्रश्न उठाए।

‘उम्मेदवार तल ग्राउन्डमा भिजिसकेको, लामो समय राजनीतिमा लागेको नहुँदा हाम्रै सांगठनिक मत पाउने सम्भावना कम भयो,’ ती नेताले भने, ‘उम्मेदवारी चयनमा हाम्रो तयारी कम भयो, प्रस्तुति राम्रो हुन सकेन। गैरराजनीतिक भन्ने साथीहरुलाई परेकोले अलि अन्यौल भयो।’

तर, यही स्थिति गठबन्धनको साझेदार कांग्रेसमा पनि भएकाले एमालेले हार मानिसकेको छैन। गठबन्धनको असन्तुष्ट मत तान्ने दाउमा एमाले छ।

एमाले उम्मेदवार अमृत खड्का घरदैलाे गर्दै। तस्बिर : नेपालखबर।

त्यसका लागि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु फकाउन एमालेका नेताहरु घरघर पुगिरहेका छन्।

‘गठबन्धन टाइट भयो भने सम्भवाना कम छ। स्थानीय तहको चुनावले पनि त्यही देखाउँछ। तर, गठबन्धनको एउटा खेमाले हामीलाई मत दियो भने हामी सजिलै जित्छौँ,’ एमाले ललितपुरका अर्का नेताले भने।

तर, गठबन्धनबाट असन्तुष्ट मत एमाले नभई स्वतन्त्रतिर जाने पिरलो उनीहरुलाई छ।

स्थानीय चुनावको झड्काले सशंकित माओवादी, कांग्रेसमा गुटैगुट 
स्थानीय तहको चुनावमा माओवादी केन्द्रले गठबन्धन गरेका ठाउँमध्ये ललितपुर महानगरको उपप्रमुख, महालक्ष्मी नगरपालिकाको प्रमुख र कोन्ज्योसोम गाउँपालिकाको अध्यक्ष हारेको थियो। ती स्थानमा कांग्रेसले आफूहरुलाई मत नदिएकै कारण हारिएको माओवादी केन्द्रको विश्लेषण छ।

किनभने ललितपुर महानगरमा कांग्रेसका चिरिबाबु महर्जन प्रमुखमा विजयी भएका थिए। यस्तै, महालक्ष्मीमा कांग्रेसकै उपप्रमुख सरस्वती श्रेष्ठले जितेकी थिइन्। तर, दुवै ठाउँमा माओवादी उम्मेदवार पराजित भए।

यस्तै, कोन्ज्योसोममा माओवादीले अध्यक्ष हार्दा उपाध्यक्षमा कांग्रेसबाट राजनप्रसाद घिमिरे विजयी भएका थिए।

यही ‘धोका’का कारण माओवादी कांग्रेसलाई पुरै विश्वास गर्न सकेको छैन।

अहिले पनि ललितपुर कांग्रेसमा चरम गुटबन्दी छ। कांग्रेसका जिल्ला सभापति जितेन्द्र श्रेष्ठसँग एउटा समूह नराम्रोसँग चिढिएको छ। जिल्ला अधिवेशनदेखिको बिग्रेको सम्बन्ध अझै सुमधुर भएको छैन। 

सोहीकारण ललितपुर कांग्रेसका पूर्वसभापति मदन अमात्य चुनाव प्रचारमा हिँडेका छैनन्। यस्तोमा पार्टीकै मत आफ्नो उम्मेदवारले नपाउने हुन् कि भन्ने चिन्ता गठबन्धनलाई छ।

‘कांग्रेसको सिंगो शक्ति चलेको छैन, मदन अमात्य लगायतका केही साथीहरु चुप बस्नुभएको छ,’ ललितपुर कांग्रेसका एक नेताले भने, ‘अझै विरोधी स्वर मत्थर पार्ने समय छ। यसमा उम्मेदवारले पनि केही पहल गर्नुपर्छ।’

नेपाली कांग्रेस ललितपुर सभापति जितेन्द्र श्रेष्ठले भने विवाद मिल्दै गएको दाबी गरे।

‘हाम्रो सबै मत गठबन्धनका उम्मेदवारलाई खस्ने वातावरण बन्दैछ। पहिलाभन्दा अहिले निकै सुध्रिएको छ,’ श्रेष्ठले नेपालखबरसँग भने, ‘गठबन्धनलाई नदिए कहाँ दिने? कसलाई दिने? त्यहाँ चिह्न पनि हुनुपर्यो। कि पार्टी निर्णय मान्नुपर्यो, कि छोड्नुपर्यो। पार्टी निर्णय नमाने त शक्तिमा भएकोले शक्ति प्रयोग गर्छ। कांग्रेस कार्यकर्तालाई एमालेले जित्नु घातक छ, काठमाडौंमा बालेन छानेको जस्तो होइन, गठबन्धन गरेकै एमालेविरुद्ध हो।’

चुनाव आउँदासम्म असन्तुष्ट नेताहरु पनि प्रचारप्रसारमा जोडिने विश्वास उनले व्यक्त गरे।

ललितपुर कांग्रेसमा यस्ता धेरै गुट रहेको असन्तुष्ट पक्षका अर्का एक नेताले बताए। उनले थपे, ‘कांग्रेस डेमोक्रेटिक पार्टी हो, ‘हाम्रो पार्टीमा अलिकति स्वतन्त्रता छ, अरु कम्युनिस्ट पार्टी जस्तो होइन।’

यही असन्तुष्टि र गुटबन्दीको फाइदा उठाउने मौका हेरिरहेका छन् अन्य उम्मेदवार।

निर्वाचन आयोगको ‘स्टन्ट’ले चर्चामा डा. तोसिमा
निर्वाचन आयोगले लाभको पदमा बसेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गरिदियो। जसलाई अदालतले रोकिदियो। त्यसपछि एकाएक चर्चामा आइन् उनी।

उनी सामाजिक सञ्जाल र युवा पुस्तामाझ लोकप्रिय छिन्। उनको प्रचार पनि युवालक्षित नै छ। 

आयोगको निर्णयविरुद्ध पत्रकारदेखि राजनीतिक दलकै नेताहरुले समेत धारणा राखेपछि उनलाई धेरैले चिन्ने मौका पाए। अहिले डा. कार्कीलाई भेट्न खोज्नेहरुको संख्या केही बढेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की घरदैलाे गर्दै। तस्बिर : नेपालखबर।

पुराना दल र नेताहरुबाट वाक्क भएकाहरुको रोजाइ उनी बन्ने देखिन्छ। 

‘दलमा आबद्ध युवाहरु मेरो पक्षमा खुल्नुभएको छ,’ डा. कार्कीले भनिन्, ‘पुराना नेताहरुबाट भन्दा हामी नयाँले फरक रुपमा काम गर्न सक्छौं भन्ने कुरा उहाँहरुले बुझ्नुभएको छ, माहोल देखेर म उत्साहित भएकी छु।’

तर, स्वतन्त्र उठ्ने उम्मेदवारहरुले भन्दा केही बढी मत मात्र उनले पाउने कांग्रेसका जिल्ला नेता जितेन्द्र महर्जनले दाबी गरे। 

‘सबै दलमा आबद्ध युवाहरुले उहाँलाई मत दिने कुरै भएन, पार्टीभित्र राजनीति गरेकाहरुले भोलिको दिन हेरेको हुन्छ,’ महर्जनले भने, ‘भविष्य हेरेको नेता वा कार्यकर्ता पार्टी निर्णयविरुद्ध जाँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .