ad ad

राजनीति


ओनसरीको योजना : कोटेश्वरमा अण्डर पास, पेप्सीकोलादेखि सिनमंगलसम्म सुरुङ

ओनसरीको योजना : कोटेश्वरमा अण्डर पास, पेप्सीकोलादेखि सिनमंगलसम्म सुरुङ

फाइल तस्बिर


नेपालखबर
कात्तिक २२, २०७९ मंगलबार १६:९, काठमाडौँ

सत्तारुढ लोकतान्त्रिक-वाम गठबन्धनले काठमाडौं क्षेत्र नम्बर-२ को घोषणापत्र सार्वजनिक गरेको छ। 

स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइ, रोजगारी, सामाजिक सुरक्षा, खेलकुद लगायत क्षेत्रमा गर्ने कामको प्रतिबद्धता समेटेर गठबन्धनले घोषणापत्र सार्वजनिक गरेको हो। 

घोषणापत्रमा प्राकृतिक एवम् सांस्कृतिक पर्यटन तथा कृषिको प्रचुर सम्भावना बोकेको काठमाडौं २ लाई राजधानीकै पर्यटकीय केन्द्र बनाउने प्रतिबद्धता जनाइएको छ। 

प्राकृतिक पर्यटकीय सर्किट क्षेत्रको पूर्वाधार विकास, सांस्कृतिक सम्पदाको संरक्षण, फलफुल खेती एवम् कृषिमा आधुनिकीकरण र कृषि पकेट क्षेत्रको विकास, साइकल लेनसहितको सडक सञ्जाल, विशेष खेलकुद क्षेत्रको विकास, साना तथा मझौला उद्योगको प्रर्वद्धन गर्ने कार्यक्रम घोषणापत्रमा समेटिएका छन्। 

साँखु-फड्केश्वर सडकलाई पुर्णता दिई मध्यपहाडी लोकमार्ग सडकसँग जोड्ने तथा साँखु-बज्रयोगिनी-घुमारचोक- डाँडाकटेरी-चौही  भञ्ज्याङ-धारापानी-पटाप-कुण्डेश्वर हुँदै सिन्धुपाल्चोक जोड्ने सडक निर्माणलाई पूर्णता दिने प्रतिबद्धता गठबन्धनले गरेको छ। 

चावहिल-साँखु सडकलाई मापदण्ड अनुसार यथाशीघ्र निर्माण सम्पन्न गराउने, शालीनदि-मनोहरा-मुलपानी-हरहर महादेव-पेप्सीकोला-नरेफाँट-बालकुमारी हुँदै मनोहरा करिडोर निर्माण गर्ने र सार्वजनिक यातायातलाई व्यवस्थित गर्न इलेक्ट्रिक ट्राम संचालन गर्ने योजना घोषणा पत्रमा छ। 

गठबन्धनले पेप्सीखोलादेखि सिनामंगलसम्म सुरुङ मार्ग निर्माण गर्ने प्रतिबद्धता पनि गठबन्धनको घोषणापत्रमा गरिएको छ। 

गठबन्धनले अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मुनिबाट सुरुङमार्ग निर्माण गरी पेप्सीकोला-सिनामंगल आवतजावत व्यवस्था मिलाउने बाचा मतदातालाई गरेको हो। 

जडीबुटीदेखि तीन कुनेसम्म अण्डर पास निर्माण गरी कोटेश्वर क्षेत्रमा हुने गरेको ट्राफिक जाम हटाउने घोषणापत्रमा प्रतिबद्धता गरिएको छ। 

यस्तै आवश्यक स्थानमा मेलम्ची खानेपानी आयोजना जडान गर्ने, तीनकुनेको मुआब्जासम्बन्धी समस्या समाधान गरी उक्त स्थानमा अन्तर्राष्ट्रियस्तरको पार्क निर्माण गर्ने फोहोर र ढल व्यवस्थापन गर्ने, क्षेत्रअन्तर्गतका सबै खोलाहरुमा बग्ने प्लाष्टिकजन्य फोहोरलाई ट्रयाकर्‍याक निर्माण गरी संकलन गर्ने पनि उल्लेख छ। 

यस्तै कागेश्वरी मनोहरामा खेलकुद पार्क, खेलकुद एकेडेमी तथा वैकल्पिक राष्ट्रिय रगंशाला निर्माण गरी खेल पर्यटनको प्रवर्द्धन गर्ने प्रतिबद्धता पनि गठबन्धनको छ। कागेश्वरीलाई प्रशस्त खानेपानीयुक्त, पर्यावरण मैत्री शहर बनाउने प्रतिबता गठबन्धनका उम्मेदवारले गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .