ad ad

राजनीति


कञ्चनपुर १ : बिना मगर र तारा लामाबीचको रोचक स्पर्धामा को बलियो?

कञ्चनपुर १ : बिना मगर र तारा लामाबीचको रोचक स्पर्धामा को बलियो?

केशव सावद
कात्तिक २४, २०७९ बिहिबार १९:१९, काठमाडौँ

आसन्न निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा संघ र प्रदेशका दुई पूर्वमन्त्रीबीच रोचक प्रतिस्पर्धा हुने भएको छ। पूर्वखानेपानीमन्त्री बिना मगर र सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री तारा लामा तामाङबीच प्रतिस्पर्धा हुने भएको हो। 

पूर्व संघीय मन्त्री मगरलाई नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनको तर्फबाट र पूर्व प्रदेश मन्त्री तामाङलाई नेकपा एमालेले कञ्चनपुर–१ को प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनाएको छ। 

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी बुहारी मगर र निर्वाचनको संघारमा नेकपा एकीकृत समाजवादी छाडेर एमाले प्रवेश गरेका तामाङबीचको प्रतिस्पर्धा चासोका साथ हेरिएको छ। 

एकीकृत समाजवादीका प्रदेश कमिटी उपसचिव तामाङ गत भदौ १५ गते पार्टी परित्याग गरेर एमालेमा फर्किएका थिए। कञ्चनपुर पुगेर पार्टीमा स्वागत गरेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई प्रतिनिधि सभा सदस्य उम्मेदवार बनाएपछि एमालेमा असन्तुष्टि बढेको छ। 

चुनावको संघारमा आएकालाई टिकट 
पार्टी विभाजन गरेका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई सघाएका तामाङलाई पार्टीमा फिर्ता ल्याएर उम्मेदवार बनाएको विरोधमा एमालेका पुराना नेता खेम सुवेदीले कञ्चनपुर–१ मा विद्रोह गरेका छन्। 

‘माछा’ चुनाव चिह्न लिएर प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका सुवेदी कञ्चनपुर–१ का लागि परिचित नाम हो। एमालेको भ्रातृ संगठन अखिल नेपाल किसान संघमा रही सकेका सुवेदी कञ्चनपुरको दक्षिण क्षेत्रका जनतामाझ भिजेका नेतामा पर्दछन्। 

उनलाई कर्णाली नदी पूर्वका जिल्लाबाट बसाइँसराइ गरेर गएका खसआर्य समुदायका एमालेका मतदाताहरुको राम्रो समर्थन रहने सम्भावना देखिन्छ। जुन एमाले उम्मेदवार तामाङका लागि खतरा हुन सक्ने अनुमान स्थानीय मतदाताको छ। 

तर, एमाले नेता–कार्यकर्ताहरु उक्त अनुमानमा कुनै सत्यता नभएको दाबी गर्छन्। 

‘पूर्वेली समुदायमा एमालेको राम्रो पकड छ। हामी एकढिक्का छौँ,’ बेलौरी घर भएका अनेरास्ववियुको राजनीति गर्दै आएका एक कार्यकर्ताले नेपालखबरसँग भने, ‘उहाँ (सुवेदी) को उम्मेदवारीले खासै फरक पार्दैन। बढीमा ५ सय मत हो उहाँको।’

एमाले कञ्चनपुर सहइन्चार्ज कमला बोहराले पनि सुवेदीका कारण तामाङलाई अप्ठ्यारो नपर्ने प्रतिक्रिया दिइन्। 

‘त्यति असर गर्दैन। जनता सचेत छन्। मत खेर फाल्नुभन्दा जित्नेलाई दिनुपर्छ भन्ने मतदातको मनोविज्ञान पाएका छौँ,’ उनले नेपालखबरसँग टेलिफोनमा भनिन्। 

सुवेदीको ‘बागी’ उम्मेदवारीले हौसिएको गठबन्धन 
यद्यपि, एमाले नेता सुवेदीको बागी उम्मेदवारीले भने सत्ता गठबन्धन हौसिएको छ। उनको उम्मेदवारीले माओवादी नेतृ मगरको जित अझै सहज भएको गठबन्धनमा रहेका दलहरुको बुझाइ छ। 

‘१ नम्बरमा एमाले विभाजित छ। दक्षिणी क्षेत्रमा चिनिएका खेम सुवेदीजी बागी हुनुहुन्छ,’ कांग्रेस कञ्चनपुरका पूर्व जिल्ला सदस्य भन्छन्, ‘स्थानीय चुनावले त्यो क्षेत्रमा कांग्रेस पहिलो देखाइसकेको छ। हामी, माओवादी र नेकपा एस एक हुँदा .जित निश्चित थियो। त्यसमा पनि सुवेदीजीको उम्मेदवारीले गठबन्धनलाई जित्न झनै सहज भएको छ।’

कांग्रेस नेताले एमालेको मत सुवेदीले काट्ने दाबी गरिरहँदा स्थानीय मतदाता भने एमालेसँगै कांग्रेस, माओवादी र एकीकृत समाजवादीको मत पनि सुवेदीको पक्षमा खस्ने दाबी गर्छन्।

‘एमालेको मात्र होइन, खेम सुवेदीले कांग्रेस, माओवादी र एकीकृत समाजवादीका पनि मत काट्छन्,’ पुनर्बासका एक मतदाताले नेपालखबरसँग भने। 

सत्ता गठबन्धनले संघ र प्रदेश कतै पनि भाग नदिएपछि कञ्चनपुरमा एकीकृत समाजवादी असन्तुष्ट छ। उक्त असन्तुष्टि क्षेत्र नम्बर १ मा सुवेदीको पक्षमा पोखिन सक्ने ती मतदाताको दाबी छ। 

बिनाको ५ वर्षे कार्यकाल देखाएर मत माग्दै एमाले
एमालेले कञ्चनपुर–१ मा पूर्वमन्त्री मगरको ५ वर्षीय कार्यकालमा भएका काम देखाएर मतदातासँग मत मागिरहेको छ। उनले मन्त्री हुँदा क्षेत्रका लागि केही काम गर्न नसकेको एमालेको तर्क छ।

मतदाता ‘कन्भिन्स’ गर्दा एमालेले आप्mना उम्मेदवार तामाङ ६ महिना प्रदेश सरकारमा मन्त्री हुँदा गरेका विकास निर्माणका कामहरु देखाइरहेको छ। तामाङले ६ महिना सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय चलाएका थिए। 

उनले ६ महिना मन्त्रालय चलाउँदा गरेका कामहरु नै जितको आधार भएको सहइन्चार्ज बोहराको भनाइ छ। तामाङले निर्वाचन जित्नेमा एमाले ढुक्क रहेको उनले जिकिर गरिन्। 

‘बिनाजी मन्त्री हुँदा पनि यो क्षेत्रका लागि के गर्नुभयो र?’ प्रश्न गर्दै उनले भनिन्, ‘त्यसको मूल्यांकन गर्ने कुरामा मतदाता सचेत छन्। तारा लामा ६ महिना मन्त्री हुँदा पनि राम्रो काम गर्नुभएको छ। जितेपछि उहाँ यहीँ बस्ने, यहीँ काम गर्ने मान्छे पनि त हो।’ 

दुवै प्रदेश सभामा उम्मेदवार भएपछि कांग्रेस सक्रिय
कञ्चनपुर–१ का दुवै प्रदेश सभामा कांग्रेसका उम्मेदवार भएपछि कांग्रेस नेता–कार्यकर्ताहरु सक्रिय भएर प्रचार–प्रसारमा लागेका छन्। त्यसको प्रत्यक्ष फाइदा प्रतिनिधि सभा सदस्य उम्मेदवार मगरलाई पुगेको कांग्रेसकै नेताहरु बताउँछन्। 

‘प्रदेश सभामा दुवैतर्फ हाम्रा उम्मेदवारहरु छन्। उहाँहरुलाई जिताउन हामी प्रचार–प्रसारमा छौँ,’ क्षेत्र नम्बर १ का विभिन्न चुनावी सभामा सहभागी भइसकेका कांग्रेस कञ्चनपुरका युवा नेता चक्र महता भन्छन्, ‘प्रदेशमा कांग्रेसका उम्मेदवारहरु हुनु गठबन्धनका लागि प्लस प्वाइन्ट हो।’

कञ्चनपुर–१ ‘क’ मा कांग्रेसबाट बन्धु राना र ‘ख’ मा दिवानसिंह विष्ट उम्मेदवार छन्। ‘क’ मा पुनर्बास नगरपालिका र लालझाडी गाउँपालिका तथा ‘ख’ मा बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिकाको भूगोल गर्दछ। 

स्थानीय तह निर्वाचनको जोडघटाउ
पुनर्बास नगरपालिका, बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकाको भूगोल समेटेर कञ्चनपुर–१ क्षेत्र निर्धारण गरिएको छ। वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा बैलौरी र पुनर्वास नगर प्रमुखमा क्रमशः माओवादी र कांग्रेस, बेल्डाँडी र लालझाडी गाउँपालिका अध्यक्षमा क्रमशः कांग्रेस र एमाले विजयी भएका थिए। 

उक्त निर्वाचनमा नगर प्रमुख र गाउँपालिका प्रमुखहरुले प्राप्त गरेको मत आधार मान्दा कञ्चनपुर–१ मा कांग्रेसको २२ हजार ८८९, एमालेको १८ हजार २९४, माओवादीको १३ हजार ४०८, नेकपा एकीकृत समाजवादीको ३ हजार ७३४ र राष्ट्रिय जनमोर्चाको २०४ मत छ।      

कञ्चनपुरमा सत्ता गठबन्धनमा रहेका दलहरुमध्ये कांग्रेस एक्लै तथा माओवादी र नेकपा एकीकृत समाजवादी तालमेल गरेर स्थानीय तह निर्वाचनमा होमिएका थिए। उक्त निर्वाचनको मतअनुसार कञ्चनपुर–१ मा सत्ता गठबन्धनको पक्षमा २० हजार २३५ र एमालेको पक्षमा १८ हजार २९४ मत देखिन्छ। 

विगतको हिसाब–किताब
२०७४ को प्रतिनिधि सभा निर्वाचनमा माओवादी नेतृ मगर हाल प्रदेश सभा सदस्य उम्मेदवार रहेका कांग्रेस नेता विष्टलाई पराजित गर्दै निर्वाचित भएकी थिइन्। मगर ३८ हजार ४७६ मतसहित प्रतिनिधि सभा सदस्यमा विजयी हुँदा विष्टले १९ हजार २१९ मत ल्याएका थिए।

२०७० को संविधान सभा निर्वाचनमा भने विष्टले मगरलाई पराजित गरेका थिए। उनी १० हजार २९४ मतसहित संविधानसभा सदस्य निर्वाचित हुँदा मगरले ९ हजार २३६ मत प्राप्त गरेकी थिइन्।   
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .