राजनीति


रवि लामिछानेको उम्मेदवारी खारेज गर्न माग गर्दै आयोगमा उजुरी

रवि लामिछानेको उम्मेदवारी खारेज गर्न माग गर्दै आयोगमा उजुरी

नेपालखबर
कात्तिक २९, २०७९ मंगलबार १९:१०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको छ।

उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको हो। उम्मेदवार लामिछानेको विरुद्धमा राजकुमार पाण्डेले उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए। 

आयोगका उपन्यायाधिवक्ता वाग्लेले उम्मेदवार लामिछानेविरुद्धको उजुरीपछि कानूनी व्यवस्था अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ चितवनको निर्वाचन क्षेत्रलाई पत्राचार गरेको बताए। उनले निर्वाचन अधिकृतले सम्बन्धित व्यक्तिबाट स्पष्टीकरण प्राप्त गरेर आयोगमा पठाइसकेपछि थप प्रक्रिया अघि बढ्ने पनि बताए। 

त्यस्तै उनले गृहमन्त्री बालकृष्ण खाँणविरुद्ध परेको बहुविवाहको उजुरी तथ्यपरक नदेखिएकाले तामेलीमा राख्नेगरी आयोगबाट निर्णय भएको बताए।

निर्वाचन विवाद निरुपण सम्बन्धमा आयोगमा अहिलेसम्म परेका ६ वटा उजुरीमा २ वटा फस्र्यौट भइसकेको आयोगले जनाएको छ।

ललितपुर ३ की उम्मेदवार तोसिमा कार्की, प्रतिनिधि सभा सदस्य दोलखाका उम्मेदवार बालकृष्ण शिवाकोटी, प्रदेश सभा सदस्य उम्मेदवार सन्तोषकुमार मेहता, प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ रेवतराज पुरीविरुद्ध उजुरी परेको आयोगले बताएको छ। 

उपन्यायाधिवक्ता वाग्लेले आचारसंहिता उल्लंघनका उजुरीमा मुलतः मतदातालाई आर्थिक प्रलोभन देखाएको, स्थानीय तहका निर्वाचित कार्यपालिकाका पदाधिकारीहरुले आफ्नो कार्यपालिका भित्र प्रचारप्रसार गरेको उजुरी धेरै आएको बताए।

त्यस्तै, सरकारी कर्मचारीहरु राजनीतिक दलको प्रचारप्रसारमा सहभागी बनेको, आचारसंहिता विपरितका सामग्री प्रयोग गरेर प्रचारप्रसार गरेको उजुरीहरु पनि धेरै आएको बताए।

आचारसंहिता लागू गरेपछि आयोगमा हालसम्म निर्वाचन आचारसंहिता उल्लंघनका १२१ वटा उजुरी परेका छन्। जसमध्ये ११ वटा उजुरी फस्र्यौट भइसकेका छन् भने ११० वटा उजुरी फस्र्यौट गर्न बाँकी रहेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .