अनेरास्ववियू (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक क्याम्पसहरूमा ३ वर्षे एलएलबी कार्यक्रमको नाममा मनपरी शुल्क वृद्धि गरिएको भन्दै यो तत्काल फिर्ता लिन माग गरेको छ।
अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाले मंगलबार बिहान विज्ञप्ति जारी गरी त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा ३ वर्षे एलएलबी कार्यक्रमका लागि भन्दै गरिएको शुल्कवृद्धिप्रति आपत्ति जनाएका हुन्।
‘त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसहरूमा ३ वर्षे एलएलबी कार्यक्रमको नाममा गरिएको मनपरी तथा चर्को शुल्क वृद्धिप्रति अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ। सार्वजनिक शिक्षालाई योजनाबद्ध रूपमा व्यापारीकरण गर्ने, विद्यार्थीमाथि आर्थिक भार थोपर्ने तथा आम विद्यार्थीलाई शिक्षाको पहुँचबाट वञ्चित गर्ने यस विद्यार्थीविरोधी कदमप्रति हाम्रो संगठन घोर भर्त्सना गर्दछ’, उनले विज्ञप्तिमा भनेका छन्, ‘अतः अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रीय समिति त्रिभुवन विश्वविद्यालय प्रशासन तथा सरकारलाई मनपरी शुल्क वृद्धि तत्काल फिर्ता लिन, शिक्षा क्षेत्रमाथिको व्यापारीकरण अन्त्य गर्न र विद्यार्थीमैत्री नीति लागू गर्न कडा चेतावनी दिन चाहन्छ। विद्यार्थीहरूको न्यायोचित आवाजलाई बेवास्ता गरिएमा देशव्यापी चरणबद्ध सशक्त संघर्षका कार्यक्रम अगाडि बढाइनेछन् र त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी सरकार र सम्बन्धित निकायले नै वहन गर्नुपर्नेछ।’

Shares

प्रतिक्रिया