ad ad

राजनीति


गणतन्त्र र राजतन्त्रबीचको रणमैदानमा सिटौलामाथि लिङ्देन हावी

गणतन्त्र र राजतन्त्रबीचको रणमैदानमा सिटौलामाथि लिङ्देन हावी

जेवी पुन मगर
कात्तिक ३०, २०७९ बुधबार २०:४३, दमक, झापा

आफूलाई विष्णुको अवतार मानेर सयौँ वर्ष मुलुकमाथि शासन चलाएको राजतन्त्रलाई निर्मल निवासको अग्ला पर्खालभित्र ‘कैद’ गर्न सूत्रधारको भूमिकामा देखिएका कृष्ण सिटौला र बन्द पर्खालभित्र पुर्याइएको त्यही राजतन्त्रलाई राजगद्दीमा फर्काउन गेरुवा झण्डा शिरमा बाँधेका राजेन्द्र लिङ्देनबीच झापा ३ को अखडामा चुनावी कुस्ती चल्दैछ। 

यो निर्वाचन क्षेत्रका चियापसल र चोकचोकमा हुने बहस निकै गरम छन्। विर्तामोड नगरपालिका वडा नम्बर १० को एक चियापसलमा भेला भई राजनीतिक बहस गरिरहेका आधा दर्जन मतदाताहरुमध्ये कोही लिङ्देनको पैरवी गरिहेका थिए भने केहीले सिटौलाको पक्ष लिइरहेका थिए। 

लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार सिटौलालाई संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न लागेका आधुनिक गणराज्य पक्षधर पात्र ठान्दा एमाले–राप्रपा गठबन्धनका उम्मेदवार लिङ्देनलाई संघीय राज्यको मेरुदण्ड प्रदेश संरचना खारेज गरी राजतन्त्रताम्क एकात्मक हिन्दु अधिराज्य स्थापनार्थ लागिपरेका लडाकु मान्न सकिन्छ। संघीय राजधानीबाट हेर्दा यसपालिको निर्वाचन एजेन्डाविहीनजस्तो देखिएला तर यो क्षेत्र चाहिँ गणतन्त्र र राजतन्त्रबीचको वैचारिक रणमैदानजस्तो बन्न पुगेको छ।

हिन्दु राजतन्त्रात्मक व्यवस्था ब्युँताउने अभिभारा बोकेको कमल थापाको नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले उभार ल्याउन नसकेपछि कमल थापाकै शब्दमा उनलाई ‘निर्मल निवासले हटाएर लिङ्देनलाई नेतृत्वमा ल्याएको छ।’ यदि कमल थापाको भनाइ सत्य हो भने राजपाठ खोसिएका ज्ञानेन्द्रले आफ्ना पुर्खा पृथ्वीनारायण शाहले अपनाएको युद्ध रणनीतिलाई केही परिमार्जन सहित अभ्यास गर्न खोजेको देखिन्छ। 

त्यसबखत पृथ्वीनारायण शाहले गोर्खा राज्य एकीकरणका निम्ति मगर, गुरुङ र क्षेत्रीलाई रणमैदानको कमान सुम्पिएका थिए। ज्ञानेन्द्रले भने आफ्नै पुर्खासँग जोडकातोडसँग लड्ने लिम्बुवानका याक्थुम्बालाई सेनापति बनाएका छन्। राप्रपा आफ्नो कमानमा ल्याएयता सेनापति लिङ्देनले देखाएको रणकौशलले उत्साहित राजतन्त्रका हिमायतीहरु उनको मनोबल गिर्न नदिन पुरै शक्तिसहित झापाका विभिन्न स्थानमा डेरा जमाएर बसेका छन्।

२९ कात्तिकको दिउँसो १२ बजे गोलधाप गाउँपालिकास्थित लिङ्देनको घर पुग्दा उनलाई राजघाटमा आयोजित चुनावी आमसभामा सम्बोधन गर्न जाने चटारो थियो। सभालाई सम्बोधन गर्न कांग्रेसले महामानवको रुपमा सम्मान गर्नै बीपी कोइरालाकी नातिनी सिनेकर्मी मनिषा कोइरालालाई भद्रपुर उतारिएको थियो। साथै, राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक देवेन्द्र दाहाललाई बोल्न आमन्त्रित गरिएको थियो। 

०७४ को निर्वाचनमा आफूहरुको मतले जिताएर काठमाडौं पठाएपछि ‘समन्वय र सहकार्य नगरी एक्लै काम गरेको’ भन्दै एमालेका स्थानीय नेताहरु लिङ्देनसँग रिसाएका थिए। जसले गर्दा सुरुमा उनको चुनावी वातावरण बिग्रिन पुगेको थियो। स्थानीय कार्यकर्तामाझ  उत्पन्न त्यस्तो असन्तुष्टि व्यवस्थापन गर्न अध्यक्ष केपी ओलीका चुनावी कमान्डर दाहाललाई अनुरोध गरिएको थियो। 

सभालाई सम्बोधन गरी फर्किएका दाहाललाई राति दमकस्थित उनकै घरमा भेटी एमालेको असन्तुष्टिबारे सोध्दा उनले भने, ‘एकै ठाउँमा राखेर कुरा गरेपछि अहिले त्यहाँका कार्यकर्ताहरुको गुनासो ठिक ठाउँमा आएको छ। लिङ्देन आरामले निस्कनुहुन्छ।’ 

पञ्चायतकालदेखिको द्वन्द्व
सिटौला र लिङ्देनको प्रतिस्पर्धा अहिलेको होइन। २०४६ सालदेखि नै यी दुईबीच राजनीतिक प्रतिस्पर्धा चल्दै आइरहेको देखिन्छ। पञ्चायतविरुद्ध देशभर चलिरहेको संघर्षमा झापामा नेतृत्व सम्हालेका कांग्रेसका सिटौलाले शक्ति आर्जन गर्दै आइरहेका थिए। त्यसै क्रममा १३ चैत ०४६ सालमा उनकै नेतृत्वमा मेची क्याम्पसमा पञ्चायतको पुत्ला जलाउने कार्यक्रम राखियो। तर, कार्यक्रमअगावै दुई पक्षबीच भीडन्त भयो। लिङ्देनको नेतृत्वमा रहेको पञ्चायतको रक्षक संगठन राष्ट्रवादी विद्यार्थी मण्डलले आयोजकमाथि आक्रमण ग¥यो। जसका कारण राम थापाको मृत्यु भयो भने मोहन महर्जन घाइते भए। कांग्रेसले यो घटनामा लिङ्देनको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाउँदै आइरहेको छ भने लिङ्देनले आरोप पुष्टि गर्न चुनौती दिँदै आइरहेका छन्।

त्यसयता यी दुईबीच चुनावी मैदानमा प्रतिस्पर्धा हुन छाडेको छैन। ०५६ सालको आम निर्वाचनमा सिटौलाविरुद्ध उम्मेदवारी दिएका लिङ्देन तेस्रो भए पनि उनी सिटौलासँग भिड्न छाडेनन्। ०६४ सालको निर्वाचनमा माओवादी उम्मेदवार पूर्णसिंह राजवंशीसँग सिटौला पराजित भए। ०७० को निर्वाचनमा सिटौला विजयी भए र लिङ्देनले दोस्रो स्थान हासिल गरे भने ०७४ मा वाम गठबन्धनको सहयोगमा लिङ्देनले सिटौलालाई दोस्रो स्थानमा झारिदिए। यसले लिङ्देन दलमा मात्र होइन, दलबाहिरको राजनीतिमा पनि बलियो देखिन्छन्।

सांगठनिक र रणनीतिक चतुर्याइँमा आफूलाई कृष्णको आधुनिक स्वरुपमा चिनाउन चाहने नेता सिटौलालाई उनको क्षेत्रमा कमजोर पार्न लिङ्देनले एमाले अध्यक्ष केपी शर्मा ओलीको भरपुर सहयोग लिएका छन्। केन्द्रीय सत्तामा पटक पटक महत्वपूर्ण मन्त्रालय सम्हालेर पनि आफ्नो क्षेत्रमा विकास गर्न नसकेको भन्दै जनस्तरमा हुने सिटौलाको आलोचनालाई लिङ्देनले भरमग्दुर भजाउन खोजेको देखिन्छ।

कुनैबेलाको लालकिल्ला मानिने झापाका कामरेडहरुको वर्ग उत्थान हुँदै गएपछि तिनले गरिब र सीमान्तका आवाज बोक्न छाडे। लिङ्देन अहिले तिनैले छाडेको जनाधारमा राजनीति गरिरहेका छन्। तिनको उनलाई राम्रो साथ र सहयोग छ। पञ्चायतकालमा आफ्ना प्रधानपञ्च बुबाको विरासत र राजा ज्ञानेन्द्रको शासनकालमा जिल्ला सभापति छँदा आफ्नो क्षेत्रमा गरेको भौतिक विकास लिङ्देनका चुनावी अंकगणित सपार्ने चुनावी अस्त्र हुन्।

यसअघि सांसद छँदा एमालेको सरकारबाट केन्द्रीय बजेट ल्याई ‘पूर्वाधार विकास’ गरेर देखाइदिएका लिङ्देनलाई यसले चुनावमा निकै फाइदा दिने विश्लेषण गरिएको छ। त्यसमाथि बलियो अवस्थामा रहेको एमालेको साथ लिन सफल छन्, लिङ्देन। 

यसपालि सिटौलालाई साँधमा उठेका कांग्रेसका महामन्त्री तथा उनका पूर्वसहयोगी विश्वप्रकाश शर्माको असहयोगले पनि कमजोर बनाएको छ। यी सब प्रतिकूलता चिर्दै जित हासिल गर्न सिटौलालाई धेरै अप्ठेरो छ। त्यसैले यसपालि पनि ०७४ को परिणाम दोहोरिने सम्भावना देखिन्छ। 

के गणतन्त्र कमजोर हुँदैछ?
सिटौला र लिङ्देनको चुनावी क्षेत्रमा उभिएर चिन्तन गर्दा नेतृत्वमा हराउँदै गएको गम्भीरता र चरम अवसरवादताका कारण नेपाली राजनीतिले पश्चगमनको बाटो पक्रिन थालेको हो कि भन्ने आशंका हुन्छ। पछिल्लो केही समययता संघीय संरचनाको एउटा अंग प्रदेश सभा विघटन गर्न नियोजित भाष्य निर्माण गरिँदै छ– ‘असाध्यै महंगो यो संरचना थेग्न सकिँदैन, खारेज गरौँ।’

यो मनोविज्ञानलाई लिङ्देन नेतृत्वको राप्रपाले आफ्नो कार्यक्रम नै बनाई लबिइङ सुरु गरिसकेको छ। जातीय स्वायत्तता र आत्मपहिचानको चर्काे वकालत गर्ने लिम्बुवान राजनीति हुने थलोमा जन्मिएको लिम्बुको सन्तानमार्फत ‘एकजातीय सत्ता’ को जोड्दार वकालत गरिँदो छ। 

माओवादीको धार भुत्ते भएको मात्र होइन, लोकतान्त्रिक आन्दोलनपछि यस भेगमा चर्किएको जातीय पहिचानको आन्दोलन पनि यतिबेला संकटमा छ। त्यसैले सयौँ वर्षसम्म बहुसांस्कृतिक समाजलाई असमानता र विभेदमा राख्ने राजतन्त्र र त्यो संस्थालाई नभई नहुने ‘धर्मसापेक्ष’ राज्यको पुनर्स्थापनामा लागेका लिङ्देनहरु बलियो बन्दै गइरहेकाछन्।  

झापा ३ को सम्भावित चुनावी परिणामले माओवादी संघर्ष, ०६२–६३ को आन्दोलन, मधेशी, महिला, दलित र पिछडिएका क्षेत्रहरुले गरेका संघर्ष र त्यसको भावना दुर्बल हुँदै गएको देखाउँछ। यी गणतन्त्रको आधारस्तम्भ कमजोर हुँदैछ भनेर संकेत गर्ने सूचकहरु हुन्। 

यो परिस्थिति नेताहरुको अकर्मण्यताका कारण उत्पन्न भएको यो भेगलाई राम्ररी अध्ययन गरेका राजनीतिकर्मी तथा विश्लेषक डम्बर खतिवडाको बुझाइ छ।

उनी भन्छन्, ‘नेताहरुकै कारण लिङ्देनहरु बलिया भइरहेका छन्। उनीहरु बलिया हुनु भनेको सबै दल निर्बल हुनु हो।’

नेपालखबर स्थलगत :

सर्लाही ४ : कांग्रेसमा ‘आरजु ब्रिगेड’ खडा गरिँदै छः अमरेशकुमार सिंह (अन्तर्वार्ता) 

फेरि धोका नखाने मुसहर समुदायको ‘आइडिया’– पैसा सबैको लिने, भोट काम गर्नेलाई दिने

अर्बपति उम्मेदवार विनोदसँग नवलपरासी १ को देहात चहार्दा​

सर्लाही ४ : बुबा उम्मेदवार बन्न नपाएपछि चुनावी मैदानमा वीर अस्पतालकी नर्स मधुमाला

भक्तपुर २ : दल बदल गरिरहने भक्तपुर २, बस्नेत र थापा दुवै ‘ग्रे जोन’ मा

भक्तपुर १ : नेमकिपाको किल्लामा गठबन्धन र एमालेको ‘शिष्ट’ प्रचार

वामपन्थी ‘रक्तबीज’ जन्माउने म्याग्दीको त्यो दोवा काण्ड, तिनै वामपन्थीबीच यो भिडन्त

महोत्तरी ३ : जलेश्वरमा महन्थ ठाकुरले भने– हामीलाई कागजी रुपमा मात्र नेपाली हुन् भन्ने ठानिन्छ (अन्तर्वार्ता)

सप्तरी २ : ‘रेड जोन’ मा उपेन्द्र यादव, हार टार्न जातीय ‘गुहार’

पुरानो डुंगा लिएर पानीको छाल छल्दै पृथ्वीसुब्बा

बागलुङका यी दुई ‘बागी’, जसले स्थानीय चुनावमा विद्रोह गरे, अहिले एमालेको साथ पाए​

रौतहट १ : गौरमा माधव नेपालले भने— २० सिटमा जित निकाल्न लागिपरेका छौँ (अन्तर्वार्ता)

मधेश ब्रिफिङ : मधेशभर ‘जनकपुर ट्रायल’ को असर : दलभन्दा स्वतन्त्र उम्मेदवार बढी

चितवन १ : विश्वसँगै स्वर्णीम मैदानमा उत्रिए रोकिन सक्छ सुरेन्द्र पाण्डेको ‘ह्याट्रिक’ 

चितवन २ : दलभन्दा बलिया रवि लामिछानेलाई कस्न एउटै रणनीति अपनाउँदै गठबन्धन र एमाले 

चितवन ३ : प्रचण्डलाई हराउने ओली–कोइराला रणनीति कांग्रेसले डेढ वर्षपछि मात्रै थाहा पाएपछि

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .