काठमाडौं–१ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले फेरि अग्रता लिएका छन्।
पछिल्लो मतपरिणामअनुसार उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रवीन्द्र मिश्रलाई २५ मतले पछि पारेका छन्।
निर्वाचन आयोगका अनुसार सिंह ४ हजार ८२१ मतसहित अगाडि जाँदा मिश्रले ४ हजार ७९६ मत प्राप्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले २ हजार ८०३ र नेकपा एमालेका उम्मेदवार किरण पौडेलले २ हजार ६९३ मत प्राप्त गरेका छन्।
२०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता प्रकाशमान सिंहले काठमाडौं– १ मा ‘ह्याट्रिक’ गर्दै चुनाव जितेका थिए। उनले १० हजार ९३६ मतसहित विवेकशील साझाका उम्मेदवार मिश्रलाई हराएका थिए।
मिश्रले १० हजार ११८ मत पाएका थिए। दुई उम्मेदवारबीचको मतान्तर ८१८ मात्र थियो। नेकपा माओवादी केन्द्रले यो क्षेत्रमा अर्थमन्त्री जनार्दन शर्माका भाइ अनिल शर्मालाई टिकट दिएको थियो।
उनी ५ हजार ३३६ मत ल्याएर तेस्रो भएका थिए। एमालेले माओवादीसँग गठबन्धन गरेर अनिललाई सघाएको थियो।
Shares

प्रतिक्रिया