ad ad

राजनीति


नेपालका लागि नयाँ चिनियाँ राजदूतमा छन सोङ

नेपालका लागि नयाँ चिनियाँ राजदूतमा छन सोङ

छन सोङ चीनको विदेश मन्त्रालयको एसिया मामिला विभागका डेपुटी डिरेक्टर जनरल हुन्


सन्तोष घिमिरे
मंसिर ७, २०७९ बुधबार ११:६, काठमाडौँ

नेपालका लागि नयाँ चिनियाँ राजदूतमा छन सोङ आउने भएका छन्।

बेइजिङस्थित उच्च स्रोतका अनुसार केही दिनअघि मात्र छनलाई नेपालका लागि राजदूत नियुक्त गर्ने निर्णय चीन सरकारले गरेको हो।

छन सोङ चीनको विदेश मन्त्रालयको एसिया मामिला विभागका पाँच डेपुटी डिरेक्टर जनरल (डीडीजी) मध्ये एक हुन्। उनको कार्यक्षेत्रभित्र नेपाल, अफगानिस्तान लगायत दक्षिण एसियाली मुलुकहरू पर्छन्।

‘छनलाई नेपालको राजदूत बनाउने निर्णय केही दिनअघि मात्र भएको हो’, उच्च स्रोतले नेपालखबरसँग भन्यो, ‘अब चीनको विदेश मन्त्रालयले उनको नाममा सहमति माग्दै नेपाललाई पत्र लेख्ने तयारी गरेको छ।’

चारवर्षे कार्यकाल सकेर राजदूत होउ यान्छी बेइजिङ् फर्केको एक महिना पछि चिनियाँ विदेश मन्त्रालयले नेपालका लागि नयाँ राजदूतको निधो गरेको हो। 

परराष्ट्र मन्त्रालयका एक अधिकारीले चीनले छनलाई नेपालका लागि राजदूत बनाउन लागेको जानकारी आएपनि औपचारिक पत्र भने आइनपुगेको बताए। 

ती अधिकारीका अनुसार नेपालका लागि राजदूत नियुक्त हुन लागेका छन नेपाल र चीनबीच दुई वर्षयता भइरहेका अधिकांश दुई पक्षीय बैठकहरूमा सहभागि भइरहेका परिचित अधिकारी नै हुन्।

छनले गत जुनमा अफगानिस्तानको तालिवान सत्ताका तर्फबाट बेइजिङस्थित दूतावासमा खटाइएका कार्यवाहक राजदूत सैयद मुहिउद्दिद सदातसँग भेटवार्ता गरेका थिए। सो भेटको तस्बिर चिनियाँ विदेश मन्त्रालयले आफ्नो औपचारिक वेबसाइटमा सार्वजनिक गरेको थियो।

चीनका विदेशमन्त्री वाङ यीले तालिवानी अधिकारीसँग तालिवान सत्तामा आएको केही समयपछि नै भेटिसकेका भएपनि चिनियाँ विदेश मन्त्रालयका एसिया विभागका अधिकारीले तालिवानी कुटनीतिज्ञसँग बेइजिङमा भिन्दै भेटेको जानकारी सार्वजनिक गरिएको यो नै पहिलो घटना रहेको ग्लोबल टाइम्सले लेखेको छ। 
चीनले प्रायः दक्षिण एसियाली मामिलामा भिजेका कुटनितिज्ञलाई यस क्षेत्रमा पठाउने गरेको छ। यसअघि राजदूत रहेकी होउ पनि नेपाल आउनुअघि लामो समय एसिया मामिला विभागमा डीडीजी थिइन्।

होउसँगै फर्केका विदोङ बने चीनको उपविदेशमन्त्री 
संयोगले नेपाल, भारत र बंगलादेशस्थित चिनियाँ राजदूत एकैसमयमा बेइजिङ फर्के। नयाँ दिल्लीस्थित चिनियाँ राजदूत रहेका सन विदोङको बेइजिङ फर्केलगत्तै उपविदेशमन्त्रीमा बढुवा भएको छ। उनी चीन र भारतबीच दुई वर्षयता भएका सीमा वार्ताका साक्षी हुन्। त्यसैगरी बंगलादेशस्थित ली जिमिङ पनि स्वदेश फर्केका छन्।

अब चीनले नेपालपछि भारत र बंगलादेश तिनै देशका लागि एकैसाथ नयाँ राजदूत प्रस्ताव गर्न लागेको बताइन्छ। दुई साता अघि चिनियाँ राष्ट्रपति सी चिनफिङले अफ्रिकी देशहरुमा एकैसाथ राजदूत नियुक्त गरेका थिए।

होउ आसियान जाने तयारीमा 
नेपालबाट फर्केकी होउलाई उत्तरपूर्वी एसियाली मुलुकहरुको संगठन आसियान हेर्नेगरी सरुवा गरिसकिएको छ। उनी त्यसतर्फ जाने तयारीमा छिन्।

चीनले नेपालमा अब पठाउनसक्ने राजदूतका लागि अरु केही नाम पनि चर्चामा आएका थिए। हाल भियतनाममा चिनियाँ राजदूत रहेका सिओङ पो चर्चामा आएका मध्ये एक थिए।

नेपालस्थित चिनियाँ दूतावासमा कार्यवाहक राजदूत रहिसकेका चङ जी लगायतको नाम पनि चर्चामा थियो। कुटनीतिज्ञ चङसँग काठमाडौंस्थित चिनियाँ दूतावासमै काम गरेको र नेपालको नेतृत्वसँग पनि घुलमिल भएको अनुभव भएकाले उनको नियुक्ती हुने चर्चा भएको थियो।

सी चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवमा दुई साताअघि पुनः निर्वाचित भएपछि उनले अब कस्तो छिमेक नीति अख्तियार गर्लान् भन्ने चासो एसियाभर नै छ। चीनसँग आर्थिक हिसाबले निर्भर रहेका भारत, नेपाल र बंगलादेशजस्ता दक्षिण एसियाली मुलुकमा अब कस्ता कुटनीतिज्ञ राजदूत नियुक्त हुन्छन् भन्ने चासो छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .