ad ad

राजनीति


सुर्खेत १ बाट कांग्रेस उपसभापति पूर्णबहादुर खड्का पाँचौ पटक विजयी

सुर्खेत १ बाट कांग्रेस उपसभापति पूर्णबहादुर खड्का पाँचौ पटक विजयी

दिनेश बुढा
मंसिर ८, २०७९ बिहिबार २१:३४, सुर्खेत

नेपाली कांग्रेसका उपसभापति तथा पाँचदलीय गठबन्धनका संयोजक पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ प्रतिनिधीसभाबाट पाँचौ पटक विजयी भएका छन्। 

प्रतिद्वन्द्वी एमालेका ध्रुवकुमार शाहलाई ११ हजार ६१९ मतान्तरले पराजित गर्दै खड्का विजय भएका हुन्। 

प्रतिनिधि सभा निर्वाचनमा खड्काले ४२ हजार ६०७  मत ल्याए भने एमालेका शाहीले ३० हजार ९८८ मत ल्याए। 

यस्तै, अन्तिम मतगणनामा मोहम्मद हसरत अली राष्ट्रिय स्वतन्त्र पार्टी ८९७ मत ल्याएर तेस्रो स्थानमा सिमित रहे। 

को हुन खड्का? 
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका निकट सहयोगीको नाम लिँदा पूर्णबहादुर खड्का सधैँ अग्रपंतिमा आउँछन्। कर्णाली प्रदेशबाटै पहिलोपटक कांग्रेस पदाधिकारीमा पुग्न सफल नेता हुन्। 

कर्णाली कांग्रेसकै एक बलिया खम्बा मानिने नेता खड्का हाल पार्टीको उपसभापति छन्। 

खड्का विगतमा पाँचपटक निर्वाचित सांसद र पाँचौ पटक मन्त्री भइसकेका छन्। उनी संसदको राज्य व्यवस्था समितिको सभापतिसमेत बनेका थिए। 

२०३१ सालबाट राजनीतिक यात्रा शुरु गरेका खड्का २०३४ सालमा सुर्खेत कांग्रेसको सभापति भएका थिए। त्यतिबेला उनी जम्मा २४ वर्षका थिए। 

पञ्चायतकालको प्रतिबन्धित अवस्थामा उनी निरन्तर राजनीतिमा सक्रिय रहे। 

२०३६ सालमा बहुदल र निर्दलबीचको चुनावमा कांग्रेसले भाग लिने निर्णय गर्दा खड्काले वीरेन्द्रनगरमा मेयरको रुपमा चुनाव जितेका थिए। तर,उनलाई पञ्चायतको समर्थन गर्न राजाले दबाब दिए। 

राजाले दिएको दबाब अस्वीकार गर्दा जिल्ला अदालत सुर्खेतले मेयर भएको ६ महिनामै उनलाई अपदस्थ गरिदिएको थियो। 

विभिन्न समयमा गरेर पाँच महिनाभन्दा बढी जेलजीवन बिताएका खड्का सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ बाट पाँचपटक सांसदमा विजयी बने भने एकपटक पराजित भए। 

२०४८, २०५१, २०५६ मा उनी प्रत्यक्ष चुनाव जितेर सांसद भएका थिए। २०६४ सालमा उनी समनुपातिक सांसद बने। २०७० सालमा भएको चुनावमा जितेका खड्का पछिल्लो २०७४ सालको संसदीय चुनावमा भने पराजित भएका थिए। 

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले २०७४ मा सम्पन्न निर्वाचनमा पराजय भोगे। 

२०७४ मा खड्का तत्कालीन वाम गठबन्धन (नेकपा एमाले) का उम्मेदवार ध्रुवकुमार शाहीसँग खड्का पराजित भए। ३६ हजार ७५९ मत ल्याएर शाही विजयी हुँदा खड्काले ३३ हजार ३७७ मत प्राप्त गरेका थिए। पाँच वर्षअघि ३ हजार ३८२ मतले पराजित भएका खड्काले  यसपटकको निर्वाचनमा उनै शाहीलाई हराउँदै आफ्नो शाख फर्काएका छन्। 

खड्का यसअघि दुईपटक गृहमन्त्री भइसकेका छन्। यस्तै, उनीसँग युवा तथा खेलकुद मन्त्री (दुईपटक), सञ्चारमन्त्री र उद्योग वाणिज्य मन्त्रीका रूपमा जिम्मेवारी निभाएको अनुभव छ। सुर्खेत १ का जनतामा उनले आफूलाई ‘विकासप्रेमी नेता’ का रूपमा चिनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .