ad ad

राजनीति


प्रधानमन्त्री देउवालाई भेट्न काठमाडौं आउँदै सीके राउत

नेता साह भन्छन् : सरकारबारे छलफल भइसकेको छैन
प्रधानमन्त्री देउवालाई भेट्न काठमाडौं आउँदै सीके राउत

फाइल तस्बिर


नेपालखबर
मंसिर १३, २०७९ मंगलबार १६:५, काठमाडौँ

जनमत पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभातर्फ सप्तरी २ का सांसद डा. चन्द्रकान्त राउत 'सीके'ले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने भएका छन्।

समानुपातिकतर्फ पनि थ्रेस होल्ड कटाएर राष्ट्रिय दल बनिसकेको राउत नयाँ सरकार गठनका लागि निर्णायक देखिएका छन्। यस्तोमा उनी मंगलबारै मतदातासँग जारी धन्यवाद कार्यक्रम छाडेर काठमाडौं निस्किएका छन्। 

प्रधानमन्त्री देउवाले उनलाई काठमाडौं आउन निम्ता दिँदै टेलिफोन गरेका थिए। उनी देउवालाई भेट्न काठमाडौं हिँडेको राउतनिकट एक नेताले जानकारी दिए। 

प्रधानमन्त्री देउवाको तर्फबाट नयाँ सरकार बनाउने पहल भएको छ। ‘भोलि या पर्सि प्रधानमन्त्री देउवासँग भेट्ने तयारी छ,’ राउतनिकट ती नेताले नेपालखबरसँग भने, ‘उहाँहरुबाट प्रस्ताव आएपछि अध्यक्षज्यू काठमाडौँ हिँड्नु भएको हो।’

अहिलेको चुनावी परिणामलाई हेर्दा जनमत पार्टीले प्रत्यक्ष र समानुपातिक गरेर पाँच सिट पाउने देखिन्छ।

पहिलोपटक चुनाव लडेको जनमतले मधेसमा एक सिट प्रत्यक्ष जितिसकेको छ। अर्कातिर समानुपातिकमा थ्रेसहोल्ड कटाएको छ।

नयाँ सरकारको तयारी गरिरहेका देउवाका लागि आवश्यक सिट राउतको जनमत पार्टीसँग भएकोले भेटवार्ता तयारी भएको हो । 

तर, जनमतले सरकारमा जाने सम्भावना कम रहेको एकजना नेता बीपी साहले बताए।

‘हामी संघीय सरकारमा सहभागी हुने सम्भावना कम छ,’ साहले नेपालखबरसँग भने, ‘जनताले हामीलाई प्रतिपक्षी भूमिकाका लागि मत दिएको हो।’

जनमतले मधेशका केही जिल्लामा एक वर्षदेखि किसानको पक्षमा आन्दोलन गरिरहेको छ। 

‘किसानको पक्षमा लड्ने र माग सुनुवाइ गर्ने नेतृत्व खोजिरहेका छौँ, अहिलेसम्म कुनै नेताले पनि सरकार बनाउन सहयोग मागेको छैन’, साहले भने। 

जनमत पार्टीले संघीयता पक्षधर या अर्को पक्ष कसले सरकार बनाउँछ, त्यही आधारमा धारणा सार्वजनिक गर्ने उनले बताए। 

'अहिलेसम्म यही गर्ने भनेर औपचारिक छलफल भएको छैन, हामीले संघीयता पक्षधर या अर्को पक्ष कसले सरकार बनाउँछ हेर्दैछौँ,’ साहले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .