नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्याङ्जा र बाजुरामा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा सत्ता पक्षले ‘सेटिङ’ मिलाएर धाँधली गरेको आरोप लगाएका छन्।
सत्ता पक्षले गरेको धाँधलीलाई निर्वाचन आयोगले पनि वैधता दिएको आरोप उनले लगाएका छन्।
यही मंसिर ४ गते भएको निर्वाचनमा धाँधली भएको दाबी गर्दै एमालेकी उम्मेदवार पद्मा अर्यालसहित प्रतिनिधि सभा र प्रदेश सभाका १४ उम्मेदवारले छानबिन र पुनः मतदानको व्यवस्था गर्न माग गरेका थिए।
तर, निर्वाचन आयोगले पुनः मतदान नगरी मतगणना गर्न निर्देशन दिएको थियो। सोअनुरूप अहिले त्यहाँ मत गणना भइरहेको छ।
तर बाजुरामा एमालेकै असहमतिका कारण अझै मत गणना सुरु हुन सकेको छैन।
यहीबीच एमाले महासचिव पोखरेलले सत्ता पक्ष र निर्वाचन आयोग मिलेर धाँधलीपूर्ण निर्वाचनलाई नै सदर गरेको आरोप लगाएका हुन्।
महासचिव पोखरेलले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘स्याङ्जा र बाजुरामा सत्ता पक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधलीलाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको छ।’
Shares
प्रतिक्रिया