ad ad

राजनीति


चिकित्सक बन्न छाडेर राजनीतिमा होमिएकी सीता

चिकित्सक बन्न छाडेर राजनीतिमा होमिएकी सीता

सीता गुरुङ


बाला भट्टराई
मंसिर १५, २०७९ बिहिबार ११:५१, म्याङ्लुङ

तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा २०३४ सालमा जन्मिएकी सीता गुरुङका बुबा पदमबहादुरको चाहना फरक थियो। पदमबहादुर आफ्नी जेठी छोरी सीता चिकित्सक बनोस् भन्ने चाहन्थे। त्यही भएर सीतालाई स्टाफ नर्स पढ्न कर गरे। उनले ६ महिनाजति पढिन् पनि। तर एक्कासि सीताको मनमा अरु नै कुरा खेल्न थाल्यो। 

चिकित्सकको सम्बन्ध त बिरामीसँग मात्र हुन्छ, बिरामी भएर आएका जति सबैलाई बचाउन सकिँदैन, यस्ता यस्ता कुरा मनमा खेल्न थालेपछि सीतालाई स्टाफ नर्स पढ्न पटक्कै मन लागेन र उनी घर फर्किन्। 

प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका तर्फबाट तेह्रथुमबाट निर्वाचित सीता गुरुङ इवामा जन्मिए पनि उनको प्रारम्भिक शिक्षा ताप्लेजुङको कञ्चनजङ्गा निमावि याम्फुदिनबाट सुरु भएको हो। बुबा पदमबहादुर पञ्चायतकालदेखि नै राजनीतिमा संलग्न थिए। बुबाको राजनीति देखेर सानैदेखि प्रभावित सीता २०४६ सालको जनआन्दोलनमा प्रत्यक्ष रुपमा सहभागी भइन्। उनी त्यतिबेला खबर ओसारप्रसारमा संलग्न थिइन्। 

विसं २०४६ अघिदेखि नै राजनीतिमा चासो राखेकी सीता त्रिमोहन माध्यमिक विद्यालयमा पढ्दा नेपाल विद्यार्थी सङ्घमा आबद्ध भइन्। उनको औपचारिक राजनीतिक यात्रा यहीँबाट सुरु भएको हो।

‘सानैदेखि समाजमा भएका गतिविधिबाट म प्रभावित भएँ’, प्रतिनिधिसभा सदस्यमा निर्वाचित सीताले भनिन्, ‘महिलामाथिको हिंसा र त्यसको न्याय दिने चलन  पटक्कै मन परेन, त्यसविरुद्ध लाग्ने अठोटका साथ राजनीतिमा उत्रिएँ।’ 

त्यही अठोटका कारण दोस्रोपटक प्रतिनिधिसभामा पाइला राख्न सफल भएको सीताको ठम्याइ छ। उनको राजनीतिक यात्रा लामो छ। विद्यार्थी राजनीतिमा लाग्दा २०४८ सालमा सीता नेपाल विद्यार्थी सङ्घ तेह्रथुमको सचिव बनिन्। विसं २०५४ मा उनी नेपाल तरुण दलको कोषाध्यक्ष तथा २०५७ सालमा नेपाल महिला सङ्घ तेह्रथुमको अध्यक्ष बनिन्। 

विसं २०५८ मा नेपाल महिला सङ्घ केन्द्रीय सदस्य बनेकी सीता २०६० सालमा सचिव बनेकी थिइन्। लगातार पार्टी राजनीतिमा लागेकी उनी २०६२ मा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुँदै २०६४ सालमा कांग्रेसको नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यकारिणी समिति सदस्य बनिन्। 

विसं २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा संविधानसभा सदस्य बनेकी सीताले संविधानसभाअन्तर्गतको २०६५ मा राज्यको शासकीयस्वरुप निर्धारण समिति र अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिको सदस्यका रुपमा भूमिका निर्वाह गरिन्। उनी तेह्रथुमको इतिहासमा फड्को मार्ने महिलामध्येको एक हुन्। दोस्रो संविधासभामासमेत प्रतिनिधित्व गर्ने मौका पाएकी सीता संविधान मस्यौदा समिति र राज्य व्यवस्था समितिको सदस्य बनेकी थिइन्। 

तेह्रथुमको प्रतिनिधित्व गर्दै सीता २०७४ सालमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनिन्। उनी  २०७४ सालको निर्वाचनमा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङसँग दुई हजार २१ मतले हारिन्। दोस्रो प्रयासमा यसपटक नेकपा एमालेका विजय सुब्बालाई एक हजार ७९ मतान्तरले हराउँदै सीता संसद्‌मा प्रवेश गर्दैछिन्। सीताले १९ हजार सात सय दुुई मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी सुब्बाले १८ हजार छ सय २३ मत पाए। 

विसं २०६७ देखि निरन्तर नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहेकी सीतालाई साहसी महिलाका रुपमा हेर्ने गरिएको छ।

‘तेह्रथुमको विकास र समृद्धिका लागि लामो समयदेखि भूमिका निभाएकै कारण मलाई जनताले साथ दिएका हुन्’, उनले भनिन्, ‘अबका दिनमा जनतालाई हरेक समस्या र परिस्थितिमा साथ दिन्छु।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .