ad ad

राजनीति


२८ वर्षअघि शेरबहादुर यसरी बनेका थिए सर्वसम्मत नेता, उनैसँग गगनको यो प्रतिस्पर्धा

२८ वर्षअघि शेरबहादुर यसरी बनेका थिए सर्वसम्मत नेता, उनैसँग गगनको यो प्रतिस्पर्धा

सीताराम बराल
मंसिर १९, २०७९ सोमबार २०:५०, काठमाडौँ

सात प्रतिस्पर्धीहरुलाई उछिन्दै नेपाली कांग्रेस संसदीय दलको नेतामा पहिलो पटक निर्वाचित भएपछि १६ मंसिर (२०५१) मा शेरबहादुर देउवाले भनेका थिए, ‘तपाईंहरुले युवापुस्तालाई मौका दिनुभयो, यसका लागि धन्यवाद ज्ञापन गर्न चाहन्छु।’

देउवाको अभिव्यक्ति नेताद्वय कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालातिर लक्षित थियो। देउवा संसदीय दलको नेता निर्वाचित हुँदा नेपाली कांग्रेसको सभापति भट्टराई थिए भने कोइराला पार्टीको महामन्त्री थिए। मध्यावधि निर्वाचनमा नेपाली कांग्रेसको पराजयका कारण कोइराला तीन दिनअघि मात्र प्रधानमन्त्रीबाट हटेका थिए। 

तिनै देउवा अहिले पार्टी सभापति र प्रधानमन्त्री छन्। जो छैटौँ पटक प्रधानमन्त्री बन्ने गरी नेपाली कांग्रेस संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गर्ने तयारीमा छन्।

२८ वर्षअघि भट्टराई–कोइरालाले देउवालाई नेतृत्व हस्तान्तरण गरेजस्तै कांग्रेसको अहिलेको नेतृत्वले युवापुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने नारासहित महामन्त्री गगन थापाले आफूलाई संसदीय दलको नेताका लागि मैदानमा उतारिसकेका छन्। 

गगनको आक्रामक प्रस्तुति हेर्दा लाग्छ, यसपटक उनी प्रतिस्पर्धाबाट पछि हट्ने मुडमा छैनन्। हुन त निर्वाचनबाट पहिलो पार्टी बनेको कांग्रेसको संसदीय दलको नेतामा चयन भएर प्रधानमन्त्रीको कुर्सीमा पुग्ने आकांक्षा राख्ने नेता अरु पनि छन्। तर, सभापति देउवा र महामन्त्री थापा दुवैको मुड र कांग्रेसभित्रको ध्रुवीकरण हेर्दा संसदीय दलको नेताका लागि मुख्य प्रतिस्पर्धा सभापति देउवा र महामन्त्री थापाबीच नै हुने देखिन्छ। 

२०५१ मा देउवा संसदीय दलको नेता निर्वाचित हुँदा उनका समवयी नेताहरु शैलजा आचार्य, रामचन्द्र पौडेल लगायत प्रतिस्पर्धामा थिए। तर, उनीहरुले अन्तिम समयमा दाबेदारी छाडेपछि देउवा संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भए।   

‘लो प्रोफाइल’ मै रहेर देउवाले त्यो बेला संसदीय दलको नेतामा बाजी मारेका थिए। महामन्त्री थापाले भने संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्नकै लागि काठमाडौँ–४ का मतदाताहरुसँग भोट मागेका थिए। उनको आह्वान बमोजिम मतदाताले प्रतिनिधि सभामा निर्वाचित गरेर पठाएकाले पनि उनलाई त्यो बचन पुरा गर्नुपर्ने बाध्यता छ।  

२०५१ का देउवा 
देउवालाई संसदीय दलको नेता बन्ने अवसर २०५१ को निर्वाचनमा कांग्रेसको पराजयले जुराइदिएको थियो। संसदीय दलको नेता बनेका बेला उनी पार्टीको उच्च तहमा थिएनन्। सिर्फ केन्द्रीय सदस्य थिए। 

सभापति कृष्णप्रसाद भट्टराई प्रतिनिधि सभाका सदस्य थिएनन्। महामन्त्री गिरिजाप्रसाद कोइराला सुनसरी–५ र मोरङ–१ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। भर्खर प्रधानमन्त्रीबाट हटेका उनी पनि संसदीय दलको नेता बन्न इच्छुक थिए। 

तर, दुई कारणले उनले आफ्नो दाबेदारी पेस गर्न सकेनन्।  

एक, नेपाली कांग्रेसको बहुमत रहेको संसद् सम्हाल्न नसकेर विघटन गरी कोइरालाले मध्यावधि निर्वाचन घोषणा गरेका थिए। आफैँले घोषणा गरेको निर्वाचनमा कांग्रेसको पराजय भएको थियो, एमाले सबैभन्दा ठूलो दलको रुपमा उदाएको थियो। 

असमयमै विघटन गरी भएको निर्वाचनमा पराजयका कारण फेरि संसदीय दलको नेताको दाबी गर्ने नैतिक अधिकार कोइरालासँग थिएन। त्यसैले, ‘सर्वसम्मत हुने स्थितिमा मात्र संसदीय दलको नेता बन्छु’ भन्दै उनले उम्मेदवारी दर्ता गरेनन्। 

दुई, संसदीय दलको नेता प्रधानमन्त्री बन्नसक्ने भएकाले यो पदमा झण्डै पौने दर्जन नेताले आकांक्षा राखेर उम्मेदवारी दिएका थिए। प्रधानमन्त्री भइसकेका कोइराला त्यो हुलमुलमा मिसिन चाहेनन्। 

सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको रुपमा एमाले अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री बन्ने पक्का भएपछि १३ मंसिर (०५१) मा कांग्रेस संसदीय दलको नेताका लागि निर्वाचन प्रक्रिया आरम्भ भयो। 

यसका लागि ८ जना नेताले उम्मेदवारी दर्ता गराए। तिनमा देउवा, शैलजा आचार्य, रामचन्द्र पौडेल, ढुण्डीराज शास्त्री, चिरञ्जीवी वाग्ले, अर्जुननरसिंह केसी, खुमबहादुर खड्का र गोविन्दराज जोशी थिए। 

त्यो बेला कांग्रेसमा भट्टराई र कोइराला पक्षबीचको गुटबन्दी तल्लो निकायसम्म पुगेको थियो। आचार्य, पौडेल, केसी, खड्का र जोशी कोइराला पक्षमा थिए भने शास्त्री र वाग्ले भट्टराई पक्षीय नेताका रुपमा चिनिन्थे। देउवालाई तटस्थ नेताको रुपमा लिइन्थ्यो। 

विधान अनुसार संसदीय दलको नेताका लागि ५० प्रतिशत बढी सांसदहरुको समर्थन आवश्यक पथ्र्याे। पहिलो निर्वाचनमा कसैको बहुमत नआएमा दोस्रो चरणमा कोइराला पक्षीय शैलजा आचार्य र भट्टराई पक्षीय ढुण्डीराज आचार्यबीच प्रतिस्पर्धा हुन्छ भन्ने धेरैको अनुमान थियो। 

तर, मध्यावधि निर्वाचनमा एमाले र राप्रपाको उदयका कारण भट्टराई–कोइराला मिलेर जानुपर्ने दबाबमा थिए। मनमोहन अधिकारीको नेतृत्वमा एमालेको अल्पमतको सरकार बनिसकेको र एमालेका नेताहरु फेरि मध्यावधि निर्वाचन गराएर पूर्ण बहुमत हासिल गर्ने ताकमा रहेकाले कांग्रेसभित्र एकताको दबाब सिर्जना भइरहेको थियो।    

यही परिस्थितिका कारण भट्टराई र कोइराला दुवै नेता सहमतिको खोजीमा लागे। सहमतिका लागि दुवैका लागि स्वीकार्य हुने पात्र चाहिन्थ्यो।

त्यस्तो सहमतिको पात्र देउवा बन्न सफल भए। 

२०४८ को निर्वाचनपछि प्रधानमन्त्री कोइरालाबाट गृह मन्त्रालयको जिम्मेवारी पाएका देउवा कांग्रेसभित्रको गुटबन्दीमा कतै खुलेका थिएनन्। कोइरालाले गृहमन्त्री बनाए पनि उनलाई भट्टराईको समेत स्नेह प्राप्त थियो। 

१३ मंसिरमा दर्ता भएको संसदीय दलको नेताको उम्मेदवारी फिर्ता गर्ने अन्तिम समय १६ मंसिर (२०५१) दिउँसो १ बजे तोकिएको थियो। 

‘नेताहरुले सहमतिको प्रयास गरौँ भनेपछि मैले शैलजा आचार्यलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएँ,’ कांग्रेस नेता अर्जुननरसिंह केसीले भने, ‘उम्मेदवारी दर्ता गराएका अन्य साथीहरुले पनि एकपछि अर्काे गर्दै उम्मेदवारी फिर्ता लिएपछि देउवाजी निर्विरोध हुनुभयो।’ 

यसमध्ये चिरञ्जीवी वाग्लेले ढुण्डीराज शास्त्री र गोविन्दराज जोशीले शैलजा आचार्यलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए। कोइरालाको अनुरोधपछि खुमबहादुर खड्काले पनि उम्मेदवारी फिर्ता लिए। 

वाग्लेको उम्मेदवारी फिर्ता लिएर समर्थन जनाएका शास्त्रीले पनि भट्टराईको अनुरोधपछि उम्मेदवारी फिर्ता लिइदिए।  

शास्त्रीको उम्मेदवारी फिर्ता भएपछि केसी, खड्का र जोशीको समर्थन पाएकी शैलजा आचार्यले पनि उम्मेदवारी फिर्ताको घोषणा गरिन्। आचार्यले कोइरालाको अनुरोधमा उम्मेदवारी फिर्ता लिएकी थिइन्। 

कोइराला पक्षीय सशक्त उम्मेदवार शैलजा आचार्य र भट्टराई पक्षीय सशक्त उम्मेदवार ढुण्डीराज शास्त्रीले उम्मेदवारी फिर्ता लिएपछि प्रतिस्पर्धामा देउवा र पौडेल मात्र बाँकी रहे।

तर, १ बज्नुभन्दा २० मिनेट अघि पौडेलले पनि उम्मेदवारी फिर्ताको घोषणा गरे। सभापति भट्टराई र महामन्त्री कोइरालाले जोड गरेपछि पौडेलले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका थिए। 

पौडेलको घोषणासँगै देउवालाई सर्वसम्मत संसदीय दलको नेता बन्ने बाटो खुल्यो। 

त्यतिन्जेलसम्म कांग्रेसको नेतृत्वमा २००७ को सेरोफेरोमा राजनीति सुरु गरेका नेताहरुको नेतृत्व र बाहुल्य थियो। तर, देउवा संसदीय दलको नेता चयन भएसँगै २०१७ पछि राजनीति सुरु गरेका नेताबाट नेतृत्व गर्ने क्रमको सुरुवात भयो। 

त्यसैले, निर्विरोध निर्वाचित भएपछि देउवाले ‘युवा पुस्तालाई यो अवसर जुराइदिएको’ भन्दै नेताद्वय भट्टराई र कोइरालालाई धन्यवाद दिएका थिए। 

देउवा निर्विरोध रुपमा संसदीय दलको नेता चयन भए, त्यसको घोषणा गर्दै भट्टराईले भनेका थिए, ‘चुनावमा पराजित भए पनि हामी धेरै अल्पमतमा पनि छैनौँ। संसदीय परम्परा अनुसार अल्पमतको सरकार असफल भएमा संसदमा सबैभन्दा ठूलो विपक्षी दलका रुपमा सरकार बनाउन हामीलाई बोलाउनै पर्छ। त्यसैले, संसदीय दलको नेता चयन हुनुभएका देउवाजी भविष्यको प्रधानमन्त्री पनि हुनुहुन्छ।’  

नभन्दै ९ महिना बित्दानबित्दै मनमोहन अधिकारीले नेतृत्व गरेको एमालेको अल्पमतको सरकार ढलेपछि दोस्रो ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेताको हैसियतमा बहुमत जुटाएर प्रधानमन्त्री बन्न देउवा सफल भए। 

अहिलेका गगन
यसपटक कांग्रेस संसदीय दलको नेता जो निर्वाचित हुन्छ, त्यसले ढिलोचाँडो प्रधानमन्त्री बन्ने अवसर प्राप्त गर्नेछ। किनकि, कांग्रेस प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल हो। आफैँले बहुमत हासिल नगरे पनि सिटसंख्याका कारण अन्य दललाई भन्दा उसलाई बहुमत जुटाउन सहज छ। 

त्यहीकारण सभापति देउवा र महामन्त्री थापा दुवै जना संसदीय दलको नेताको प्रतिस्पर्धाबाट पछि हट्ने मुडमा छैनन्। तर, देउवालाई पन्छाएर संसदीय दलको नेता बन्न महामन्त्री थापालाई सहज छैन। २०५१ जस्तै सहज स्थितिमा अहिले पनि देउवा देखिन्छन्। 

२०५१ मा शैलजा आचार्य, रामचन्द्र पौडेल, ढुण्डीराज शास्त्री र चिरञ्जीवी वाग्लेजस्ता नेतालाई पछि पार्दै नेताद्वयको छनोटमा देउवा पर्नुका चार कारण थिए। 

एक, दोस्रो पुस्ताका अग्रणी नेताहरुमध्ये देउवा अरुभन्दा पढालेखा मानिन्थे। लण्डन स्कुल अफ इकोनोमिक्समा अध्ययन गरेर फर्केका उनको वैदेशिक सम्बन्ध पनि राम्रो थियो। ०४६ को आन्दोलनमा उनी युरोपमा बसेर आन्दोलनमा समर्थन जुटाउन सक्रिय थिए।

दुई, पञ्चायतविरुद्धको संघर्षको क्रममा धेरै यातना पाउने अग्रणी नेतामा उनी पर्थे। यातनाकै क्रममा उनको जिब्रोमा करेन्ट लगाइएको थियो। नेतृत्वका लागि तयार युवापुस्तामा उनी त्यहीकारण संघर्षका प्रतीक बनेका थिए।  

तीन, कांग्रेस प्रतिबन्धित रहेको अवस्थामा नेपाल विद्यार्थी संघको नेतृत्व गरेर उनले आफ्नो नेतृत्व क्षमता प्रदर्शन गरेका थिए। यहीकारण २०३६ को जनमत संग्रहमा बीपी कोइरालाले समेत उनलाई देशव्यापी प्रचार अभियानमा सामेल गराएका थिए। 

चार, कांग्रेसभित्र भट्टराई र कोइराला गुटबीचको रस्साकसी उत्कर्षमा पुगेको थियो। दोस्रो पुस्ताका सबैजसो अग्रणी नेताहरु यो वा त्यो गुटमा खुलेका थिए। तर, देउवा गुट राजनीतिबाट निरपेक्ष थियो। यहीकारण भट्टराई र कोइराला दुवै पक्षको सर्वसम्मत छनोटमा देउवा पर्न सफल भए।  

शैलजा आचार्य, रामचन्द्र पौडेल, ढुण्डीराज शास्त्रीजस्ता नेताहरुलाई पछि पार्दै संसदीय दलको नेता चयन हुनु देउवाको राजनीतिक जीवनको कोशेढुंगो थियो। त्यो बेला कांग्रेस संसदीय दलको नेता बन्न सकेकैले उनी प्रधानमन्त्री बन्न सफल भए। 

महामन्त्री थापाले पनि प्रधानमन्त्री बन्नकै लागि आफू संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्न लागेको बताएका छन्।

यो स्थितिमा देउवाले नै सहज रुपमा छाडिदिए भने छुट्टै कुरा– छाड्न चाहेनन् भने संसदीय दलको नेताका लागि देउवा र थापाबीच नै प्रतिस्पर्धा हुनेछ। २०५१ मा जस्तो सर्वसम्मत नेतृत्व चयनको वातावरण बनाउन सक्ने प्रभावशाली नेता कांग्रेसमा नरहेकाले निर्वाचन पक्कापक्की रहेको कांग्रेसका नेताहरु बताउँछन्।  

‘२०५१ मा शीर्ष नेतृत्वबीचको सहमति दोस्रो पुस्ताका नेताहरुले मान्ने परिस्थिति थियो, त्यही कारण किसुनजी र गिरिजाबाबुले भनेपछि हामी सबैले उम्मेदवारी फिर्ता लियौँ र देउवाजीलाई निर्विरोध संसदीय दलको नेता चयन गर्यौँ,’ कांग्रेस नेता अर्जुननरसिंह केसीले भने, ‘अहिले कांग्रेसको शीर्ष भनिएका सबै नेताले विश्वास गुमाइसकेका छन्। त्यसैले, कसैले पहल गर्दैमा सर्वसम्मत ढंगले नेतृत्व चयन हुने स्थिति छैन।’ 

२०५१ का देउवा र अहिलेका गगनबीच फरक के देखिन्छ भने देउवा त्यो बेला गुट निरपेक्ष थिए। त्यसका विपरीत अहिलेको गुटबन्दीमा गगन डा. शेखर कोइराला समूहमा खुलेका छन्। 

आफैँले संसद् विघटन गरी घोषणा गरेको चुनावमा कांग्रेस पराजित भएकाले गिरिजाप्रसाद कोइरालालाई संसदीय दलको नेतृत्व गर्न नैतिक संकट थियो। भट्टराईले चुनाव नै लडेका थिएनन्। शीर्ष नेताहरु दाबेदार नरहेकाले देउवालाई संसदीय दलको नेता बन्न सहज भएको थियो। 

यस्तो अनुकूलता गगनलाई छैन। वाम गठबन्धनका कारण २०७४ मा पराजित कांग्रेसलाई देउवाले स्थानीय तह र प्रतिनिधि सभा–प्रदेश सभा दुवै निर्वाचनमा पहिलो दलको हैसियतमा पुर्याएका छन्। यसले प्रधानमन्त्री देउवालाई अनुकूलता थपेको छ।  

डा. शेखर कोइराला समूहमै रहे पनि महामन्त्री थापाले अहिलेसम्म डा. कोइरालाको समर्थन हासिल गर्न सकेका छैनन्। बरु डा. कोइराला आफैँ संसदीय दलको नेताको आकांक्षी छन्।  

१४ औँ महाधिवेशनमा देउवा जसरी सभापति चुनिएका थिए, संसदीय दलको नेता पनि त्यसैगरी चुनिने सम्भावना ज्यादा रहेको जानकारहरु बताउँछन्। सभापतिमा देउवासँग प्रतिस्पर्धा गरेका विमलेन्द्र निधि र प्रकाशमान सिंहले दोस्रो चरणको मतदानमा देउवालाई सघाएका थिए। 

महामन्त्री थापालाई भन्दा देउवालाई नेता स्वीकार गर्न सहज हुने भएकाले डा. कोइरालाले पनि यसैगरी देउवालाई समर्थन गर्न सक्ने कतिपयको आकलन छ।   

कांग्रेस संसदीय दलको नेता निर्वाचनका लागि बाह्य राजनीतिक वातावरणले पनि प्रभाव पार्नेछ। नाम बताउन नचाहने कांग्रेसका एक युवा नेताका भनाइमा बाह्य राजनीतिक परिस्थिति पनि महामन्त्री थापाको हकमा त्यति अनुकूल छैन।    

‘महामन्त्री थापा संसदीय दलको नेता चयन भए भने वर्तमान सत्ता गठबन्धनले निरन्तरता नपाउने र ठूलो दल हुँदाहुँदै कांग्रेस सत्ताबाट बाहिर रहनुपर्ने आशंका रहन्छ,’ ती नेताले भने, ‘ठूलो दल बन्दाबन्दै विपक्षमा बस्नुपर्छ भन्ने मानसिकतामा कांग्रेसका सांसदहरु छैनन्। थापाका कारण वर्तमान सत्ता गठबन्धन टुट्ने सम्भावना बढ्यो भने प्रतिस्पर्धा उनका लागि झन् प्रतिकूल हुन सक्छ।’  

तैपनि काठमाडौँ–४ बाट निर्वाचित भएलगत्तै संसदीय दलमा प्रतिस्पर्धाको तयारी गरेर महामन्त्री थापाले दबाब बढाएका छन् र धेरैको ध्यान आकर्षण पनि गरेका छन्।

यदि कांग्रेसका सांसदहरूको अंक गणितको खेल बदल्न सके र गगन संसदीय दलको नेता चुनिए नै भने चाहिँ २८ वर्षअघि जस्तै कांग्रेसको नेतृत्व फेरि युवाको काँधमा सर्नेछ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .