ad ad

राजनीति


रवीन्द्र मिश्रले विश्वप्रकाशलाई व्यंग्य गरेपछि...

रवीन्द्र मिश्रले विश्वप्रकाशलाई व्यंग्य गरेपछि...

फाइल तस्बिर : विश्वप्रकाश शर्मा र रवीन्द्र मिश्र


नेपालखबर
मंसिर २२, २०७९ बिहिबार ११:१०, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रबीच सामाजिक सञ्जालमा सवालजवाफ भएको छ। 

यही मंसिर ४ को चुनावमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेर पराजित मिश्रले राससबाट साभार गरी एउटा अनलाइनमा प्रकाशित ‘वाद र विचारभन्दा माथि उठ्न जरुरी : महामन्त्री शर्मा’ शीर्षकको समाचार सामाजिक सञ्जालमा सेयर गर्दै शर्मालाई व्यंग्य गरेका थिए। 

जहाँ ‘विचारभन्दा माथि देश’ पुस्तकका लेखक मिश्रले भनेका छन्, ‘वाद/विचारभन्दा माथि पनि विकास/देश हुन सक्छ र भन्या? यत्रो वर्ष राजनीति गरेर राजनीति नै बुझ्नुभएको रहेनछ। तपाईंको राजनीतिक बुझाइ यति सतही होला भनेर मैले सोचेकै थिइनँ। अब तपाईंका ‘अग्रगामी’ साथीहरूले तपाईंको खिल्ली उडाउने भए!’

यो भनाइ सेयर गर्दै शर्माले आफूले त्यस्तो कुरा कहाँ बोलेको भनेर मिश्रलाई प्रश्न गरेका छन्। शर्माले उनलाई आफूले बोलेको पूरै भिडिओ हेर्न सुझाव दिएका छन्।

‘अनि नि आदरणीय रवीन्द्र मिश्रजीजी! विश्वप्रकाशले यस्तो कुरा कहाँ बोलेको रहेछ’, शर्माले लेखेका छन्, ‘हतारिएर ट्विट गर्नुअघि समाचारमा उल्लेख कार्यक्रमको पूरै भिडिओ हेर्न  हेर्नु भएको भए जाति हुन्थ्यो नि! प्रस्ट गर्छु ल– विचारका लागि लडेको विश्वप्रकाश विचारको पक्षमा दृढसँग उभिन्छ।’

शर्माले अगाडि भनेका छन्, ‘त्यही विचारको जगमा, संस्कार भरेर देश बन्छ भनेर दृढतापूर्वक उभिन्छ। अनि भन्छ– आग्रह-पूर्वाग्रहभन्दा माथि, जित र हारको मनोविज्ञानभन्दा माथि उठ्नुपर्छ।’

आफूले बोलेको कुरा राससको रिपोर्टरले गलत बुझेको दाबी गर्दै शर्माले त्यो गल्ती बुझाउन आफूले बोलेको लाइभ भिडिओ राससको कार्यालयमा पठाइदिएको बताएका छन्। र, मिश्रलाई आफूले बोलेको त्यो भिडिओ आफ्नो फेसबुक पेजमा गएर हेर्न सुझाव पनि दिएका छन्।
तर यसमा पनि मिश्रले फेरि व्यंग्य गरेका छन्, आलोचना गरेका छन्। 

‘ला..., मैले त तलको ट्विट तपाईंको समर्थनमै लेखेको हो। अलि अस्पष्ट भए जस्तो छ। जहाँसम्म ‘विचार र विश्वप्रकाश’को कुरा छ, तपाईंप्रति ठूलो सम्मान छ तर ‘बीपीकरण’ हुनुपर्ने तपाईंको पार्टी ‘प्रचण्डीकरण’ हुँदा देशले धेरै दुःख पायो। प्रचण्डीकरणको वेगले विश्वप्रकाशको विचार पनि बगायो कि?’

यसको जवाफ भने विश्वप्रकाशले दिइसकेका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .