नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि आफूहरु निर्णायक राजनीतिक शक्ति रहेको बताएका छन्।
प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकलाई आइतवार ललितपुरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
तर उनले सम्बोधनका क्रममा जनयुद्धमा जस्तो माओवादीमा अहिले ऊर्जा नभएको पनि बताएका छन्।
'माओवादीका नेता कार्यकर्ता सबै नुन खाएका कुखुरा जस्ता भए। साथीहरुसँग विश्वास छैन। जनतासँग विश्वास छैन। जनयुद्धमा जस्तो जुनुन नै छैन अहिले', उनले भने, 'तल र बाहिर जाँदा पार्टीको पक्षमा र पार्टीको लाइनको डिफेन्स गर्ने अवस्था छैन। हामीले त्यसो गर्न सकिन्छ कि सकिँदैन? माओवादी पार्टी पनि अरु जस्तै भएको गुनासो छ।'
उनले अब अर्को चुनावसम्म माओवादी आफ्नै खुट्टामा उभिने पनि बताएका छन्। 'माओवादी अर्को चुनावसम्म एक्लै आफ्नो खुट्टामा उभिएर जान्छ। तालमेलको भर पर्दैन', उनले भने, 'जनयुद्धका बेला पनि हामीलाई ध्वस्तै पार्न खोजिएको हो। ०६४ देखि नै ध्वस्त पार्न खोजियो ७९ सम्म आउँदा हामी ध्वस्त भएका छैनौँ, केही कमजो भयौँ।'
उनले पृष्ठभूमि मुद्दा र जनताको साथले पनि माओवादी एक नम्बरमै रहेको बताए।
'अहिले हामी २५/३० पुग्ने आँकलन थियो थियो तर १८ मा झर्यौँ। बर्बाद भयो, आकाश खस्यो भन्ने केही छैन', उनले भने,
'यसलाई रिभाइभ गर्न सकिन्छ। आक्रमक ढंगले जाने निष्कर्षमा पुग्यौँ भने हामी उठ्न सक्छौँ। देशको राष्ट्रिय राजनीतको चावी माओवादीसँगै छ।'
उनले माओवादीको ३२, एकीकृत समाजवादीको १०, जनता समाजवादीको १२ र स्वतन्त्र २ जोडेर जान सके ६० हाराहारी पुग्ने निष्कर्ष पनि सुनाए।
'हामीले निर्वाचनमा गठबन्धन बचाउनुपर्यो भन्नेतिर म लागेँ। हामीले सल्यान, धादिङ, उदपयुर त्याग गर्यौँ। हामीले गरेको त्यागले निर्वाचन भएको छ', उनले भने, 'जसलाई हामी उदारपूर्वक जोडेका थियौँ। अझै पनि पार्टीलाई एक नम्बर बनाउने ठाउँ छ। हामी कमजोर भएको पक्कै हो। तर हामी खत्तम भयो भन्ने होइन।'
उनले सरकार गठनको कुरा चलिरहेको बताउँदै आलोपालो हुने कुरा प्रष्टै रहेको बताए। 'निर्वाचन आयोगबाट अन्तिम परिणाम गएर दलको नेता चुनिएपछि सरकार बन्ला', उनले भने, 'तर हामी जहाँनिर दह्रोसँग उभियौँ सरकार त्यही बन्छ। त्यो स्थितिबाट हामी खस्किएका छैनौँ। तर आफ्नै खुट्टामा कसरी उनभिने सौचौँ।'
Shares

प्रतिक्रिया